बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

काठमाडौं/ पहिलो पटक सरकारले बालबालिकालाई अभियानकै रुपमा टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म अभियानकै रुपमा खोप लगाइने जानकारी दिएको हो ।

वैशाख १८ गतेपछि भने रुबेला दादुराको खोपजस्तै यो खोपलाई पनि बालबालिकालाई लगाइँदै आएका नियमित खोपमा समेटिने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बताए । ‘पहिलो पटक अभियानको रुपमा एकै पटक देशभरिका ७५ लाख बालबालिकालाई यो खोप लगाउन लागिएको हो, वैशाख १८ गतेपछि भने यो खोप नियमित खोपमा नै समेट्ने छौँ,’ उनले भने ।

एक मात्रा मात्रै लगाए पुग्ने यो खोप अभियानका लागि स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयमा खोप केन्द्र राखिएको र विद्यालय नजाने बालबालिकाहरूका लागि भने आवश्यकताअनुसार वडाहरूमा बाह्य खोप केन्द्र सञ्चालन गरिने दाहालले बताए ।

विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगका लागि सिफारिश गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एशियामै पहिलो राष्ट्र रहेकोसमेत उनले बताए ।

सन् २०१९ मा गरिएको एउटा अनुसन्धानले नेपालमा ८२ हजार ४ सय ४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरेको थियो। जसमध्ये ६० प्रतिशत १५ वर्षभन्दा मुनिको उमेर समूहका रहेको हुँदा जोखिमयुक्त उमेर समूहलाई हेरेर खोप अभियान शुरु गरिएको उनले बताए ।

७५ लाख बालबालिकालाई लगाउन ८० लाख मात्रा खोप गाभीमार्फत अनुदानस्वरूप आएको समेत दाहालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->