म्याग्दी/ म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको ७ आँै राष्ट्रिय महाधिवेशन सुरु भएको छ । देशभर छरिएका छन्त्यालबासीको उपस्थितीमा भएको महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताए । नेपालको दुर्गम र विशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको सरक्षणमा सरकार प्रतिबद्ध रहेको जनाए । उनले नेपालका आदीवासीले तराईदेखि हिमालसम्मको सीमानामा आदिवासी जनजातिले सीमा सुरक्षाको रुपमा भूमि निभाएको बताए ।
छन्त्याल समुदायको पुख्र्यौली पेशा खानी उत्खनन् रहेको उल्लेख गर्दै उनले खानी उत्खनन् गर्दा स्थानीयबासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने बताए । उनले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवद्र्धनको लागि सरकार प्रतिबद्ध रहेको समेत बताए ।
आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदीवासीको हकहितको संरक्षणमा ध्यान दिन अनुरोध गरे । बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकीसहित बजार परिक्रममा गरिएको छ ।
महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । ‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन।’ ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ आयोजित महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी संघका अध्यक्ष मोहन छन्त्यालले बताए ।
बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र/इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ। छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गरी थप नयाँ योजना बनाउने समेत संघले जनाएको छ । छन्त्याल जातिमा १२ थरहरू रहेका छन् । खड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन् । छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ।





