पोखरा महागनरको मेयरका प्रत्यासीहरु आ–आफ्नो पार्टीभित्रै टिकटको अन्तिम स्पर्धामा जुटेका छन् । ठूला राजनीतिक दलहरुले पोखरासहितका पालिकाहरुमा वडाध्यक्ष र सदस्यको उम्मेदवार तय गरिरहँदा उनीहरु आफ्नो पक्षमा माहोल खडा गर्न तल्लीन रहेका हुन् ।
पोखरा/ राजनीतिक जमघटमा अक्सर भनिन्छ,‘पोखरा डाँडाघरे वाइन खाएर हिमाल र ताल हेर्दै रमाउने सहर हो ।’फुर्सद हुँदा पोखरा आउले नेताहरुले पर्यटनकर्मी झलक थापाले पोखराकै कोसेलीको रुपमा उत्पादन गरेको ‘डाँडाघरे’ वाइन चाखेका छन् कि छैनन् ? त्यो अर्को विषय हो तर राजनीतिक रुपले यो सहर सुस्त नै छ । राणाहरुले श्री ३ को पगरी गुत्थ्दा रोजिएको अर्को जिल्ला लमजुङले ‘हलो क्रान्ति’को बिगुल फुक्दा कास्की बडाहाकिमकै छत्रछायाँमा रह्यो । २००७ सालको क्रान्तिमा कास्कीको योगदान नै नभएको त हैन तर छिमेकी जिल्लाहरुको तुलनामा कास्कीले कम क्रान्तिकारिता प्रदर्शन ग¥यो ।
पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको संगतमा कम्युनिष्ट बनेकाहरुले पनि कास्कीबाटै ठूला नेता जन्माउन सकेनन् । पश्चिम बंगालमा चारु मजुम्दारले संचालन गरेको नक्सलवादी आन्दोलनको प्रभावमा २०२५ साल जेठ ३० गते स्थापित माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी धौलागिरि) ले पनि राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेता जन्माउन सकेन । नक्सलवादीकै सिकोबाट २०२८ सालमा भएको झापा काण्डबाट उदाएका केपी ओली एमालेको शक्तिशाली नेता रहँदा यो तर्क अस्वभाविक लाग्दैन । भला, सोमनाथ अधिकारी प्यासीजस्ता प्रखर नेता त्यही संगठनका उत्पादन किन नहुन् ! नेपाली कांग्रेसको हकमा पनि त्यही कुरा लागू हुन्छ । सुशील कोइरालाभन्दा अगाडि महामन्त्री बनेका तारानाथ रानाभाट राष्ट्रिय राजनीतिको मियो बन्न सकेनन् । एमालेका उदीयमान नेता रवीन्द्र अधिकारी कुसमयमा भगवानको प्यारो बने । जन्मले कस्केली प्रचण्डलाई आफ्नो भूमिका उत्पादन माने एउटा कुरा,नत्र कास्कीबाट राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेता नै भएनन् । त्यसैले पोखरा हरेक राजनीतिक परिवर्तनको क्रममा औषत प्रदर्शन गर्छ । दृष्यमा नभएका नेता भएकाले चुनावकै बेला पनि यो राष्ट्रिय चर्चाको विषय बन्नबाट वञ्चित हुन्छ । विभिन्न दलमा आफूलाई अब्बल सावित गर्न आकांक्षीहरुले अभियान थालेका छन् । मुख्य पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म पार्टीभित्रै प्रतिस्पर्धा चलिरहेको छ ।
चुनावी नतिजा
बहुदल प्राप्तिपछि २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा पोखरामा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भयो ।सो चुनावमा नेपाली कांग्रेसका तर्फबाट भोला थापा मेयर र नरेशशंकर पालिखे उपमेयर बने । उनीहहरुले एमालेका क्रमशः प्रत्यासी हितकाजी गुरुङ र कृष्ण थापालाई २२ सयजतिको मतले पराजित गरेका थिए । २०५४ सालको चुनावमा भने परिणाम उल्टो भयो । एमालेका कृष्ण थापा र मानबहादुर गुरुङ मेयर र उपमेयरमा विजयी हुँदा कांग्रेसका नरेशशंकर पालिखे र कुलप्रसाद गुरुङ करिब अघिल्लो चुनावकै हाराहारी मतले पराजित भए । राजा ज्ञानेन्द्रले २०६२ सालमा गराएको चुनावमा भने प्रमुख दलले भाग लिएनन् । भिमसेन थापा राप्रपाको तर्फबाट मेयरमा विजयी बने ।
२०७४ सालको चुनावमा पनि एमालेले नै ३३ वडामा बिस्तार गरिएको महानगरको नेतृत्व प्राप्त ग¥यो । वर्तमान मेयर मानबहादुर जिसीले निकटतम् प्रत्यासी कांग्रेसका रामजी बराललाई १३ हजार ७०२ को भारी मतान्तरले पराजित गरे । उपमेयरमा एमालेकी मञ्जुदेवि गुरुङले १२ हजार ३१० मतले कांग्रेसकी सरस्वती गुरुङलाई पछि पारिन् । कुल मतदाता ः१ लाख ६८ हजार ६८ कुल मतदाता रहेकोमा सो निर्वाचनमा १ लाख २५ हजार ८५३ अर्थात् ७४.८३ प्रतिशत मत खसेको थियो । जसमध्ये मेयरका प्रत्यासी मानबहादुरले ६० हजार ११८, नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६,संघीय समाजवादी फोरमका हुमबहादुर गुरुङले ३ हजार १७० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरुङले २ हजार २७२ मत पाएका थिए । उता,उपप्रमुखमा एमालेकी मञ्जुदेवि गुरुङ ५६ हजार ४४८ मतसहित विजयी हुँदा कांग्रेसकी सरस्वतीले ४४ हजार ३३८, नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६,राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशबहादुर खत्रीले २ हजार ८४० र स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले २ हजार १९९ मत ल्याएका थिए । सो चुनावमा ३३ मध्ये २२ वटा वडामा एमालेको तर्फबाट वडाध्यक्ष विजयी बनेका थिए भने बाँकीमा कांग्रेस । २०७८ सालको जनगणना अनुसार पोखरामा ३९ हजार ६३८ जना मतदाता बढेका छन् र कुल मतदाताको संख्या २ लाख ७ हजार ७०६ पुगेको छ ।
२०७४ सालको चुनावलाई आधार मान्ने हो भने, आउँदो चुनावमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने निश्चित छ । अघिल्लो चुनावमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो भने कांग्रेस र माओवादी केन्द्रबीच चर्चित ‘चितवन मोडल’को गठबन्धन थियो । तर, कास्कीको हकमा सो मोडलले काम गरेन । नेपाली कांग्रेसलेसहमति अनुसार माओवादी केन्द्रलाई उपमेयर छाड्न मानेन । माओवादी केन्द्रको तर्फबाट मेयरका प्रत्यासी रहेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरे पनि उपमेयरमा कांग्रेस सहमतिमा नआउँदा माओवादी केन्द्रकी गोमा ढकाल मैदानमै रहिन् । जसले गर्दा माओवादी केन्द्रले गठबन्धनमै रहे पनि कांग्रेसलाई भोट माग्ने अवस्था आएन । माओवादी केन्द्र उपमेयरको चुनावी अभियानमामात्रै होमियो र आफ्ना कार्यकर्तालाई मेयरको हकमा आफूखुसी निर्णय गर्न छादिदियो । गोमा ढकालले ल्याएको ८ हजार ७९६ लाई माओवादीको आधिकारिक मत मान्ने हो भने र त्यो मत मेयरका कांग्रेसी उम्मेदवारलाई गएको भए पोखराको परिणाम फरक हुनसक्थ्यो ।
‘पोखरामा ‘चितवन मोडल’ले काम नगर्दा उपमेयरमा मत माग्न हिँडेको माओवादीले मेयरलाई मत माग्ने अवस्था रहेन’,चुनावमा चासो राख्ने विश्लेषक विश्व सिग्देल तर्क गर्छन्,‘ कांग्रेस–माओवादी एउटै मञ्चमा रहेर भोट माग्ने अवस्था आएको भए परिणाम फरक हुनसक्थ्यो ।’ त्यसो त माओवादीले वडाध्यक्षमा पनि आफ्नै उम्मेदवार खडा गरेको थिएन । जसले गर्दा वामपन्थी मत मानबहादुर जिसीतिर नै गएको आंकलन गर्नु अन्यथा रहेन ।
आकांक्षीको लर्को
अघिल्लो चुनाव भारी मतले जितेको एमाले यो चुनाव पनि आफ्नो पक्षमा पार्ने दाउमा छ । अघिल्लो चुनावमा एउटा प्रदेश सांसदबाहेक सबै संघीय र प्रदेश सांसद, मेयर,उपमेयरसहित २२ वटा वडाको विजयले पनि एमाले यहाँको वलियो शक्ति हो । त्यसले पनि, बलियो राजनीतिक र सांगठनिक पृष्ठभूमि रहेका एमाले नेताहरुले नै मेयरमा आँखा लगाएका छन् । हालका मेयर मानबहादुर जिसी अस्वस्थ हुँदा उनी प्रतिस्पर्धाबाट अलग्गिइसकेका छन् । उपमेयर मञ्जुदेवि गुरुङ स्वभाविक मेयरको दावेदार हुन् तर उनले मुख खोलेकी छैनन् ।‘पार्टीको निर्णय मान्छु र जहाँ खटाउँछ,त्यहीँ काम गर्छु’ भन्ने अभिव्यक्ति दिँदै आएकी उनी स्वयंले दावेदारी प्रस्तुत गरे पहिलो प्राथमिकतामा पर्ने सम्भावना बढी रहेको छ । मञ्जु एमाले केन्द्रीय सदस्य तथा राष्ट्रपति विद्यादेवि भण्डारीकी मितिनी पनि हुन् । उपमेयरको रुपमा विवादमा नआएकी मञ्जुले मुख खोले सम्भवत ः आउँदो चुनावमा उनी नै एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नेछन् । महिला र जनजाति पृष्ठभूमिलाई आधारमान्दा उनी एक नम्बर दावेदार रहेको एमालेका नेताहरुले नै बताउँदै आएका छन् ।
मञ्जुले टिकट नपाए २ नम्बरमा छन्,–पूर्वमेयर तथा हाल गण्डकी प्रदेशका सांसद कृष्ण थापा । उनको संगत गरकाहरु भन्छन्,‘पार्टीका पूर्व कास्की सभापति तथा हालका केन्द्रीय सदस्य थापा अहिले पनि ‘माननीयज्यू’ भन्दा ‘मेयरसाब’को संवोधन रुचाउँछन् ।’मानबहादुर जिसी मेयर हुँदा पनि उनी आफ्नो पालामा त्यहाँ रहेका र आफैले नियुक्त गरेका कर्मचारीमार्फत् छुट्टै संयन्त्र चलाउँथे । आफूले मेयर हुँदा सुरु गरेका योजना कार्यान्वनय नभएको उनी सार्वजनिक रुपमै दुखेसो गर्छन् । २०५८ सालमा आफूले तयार पारेको पोखरा नगरको गुरुयोजना कार्यान्वयनमा उनको विशेष चासो छ । त्यसो त, सो गुरुयोजना तुलनात्मक रुपले पोखरा नगरको विकासको लागि उपर्युक्त पनि रहेको छ । एमालेमा उनी अध्यक्ष केपी ओली र संगठन विभाग प्रमुख खगराज अधिकारीका निकट हुन् । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री हुने चाहना राखे पनि उनको सपना पूरा भएन । खगराज निकट भएकाले थापालाई मन्त्री नबनाएको पृथ्वीसुब्बामाथि लागिरह्यो । प्रदेश सांसदभन्दा कार्यकारी मेयर बन्ने उनको चाहनामा सांसद पद घाँडो हुने सम्भावना पनि रहेको छ ।
त्यसो त, अर्का प्रदेश सांसद राजीव पहारीले पनि मेयरमै आकांक्षा राखेका छन् । टिकटको लागि केन्द्रीय नेतृत्वको सद्भाव खोजिरहेका छन् । तर, प्रदेश वा संघीय सांसदले मेयर हुन खोज्दा देशैभर त्यही नजीर लागू हुने र पार्टीलाई अप्ठेरो पर्नसक्ने भएकाले दुबैजनाले टिकट पाउन गाह्रो रहेको एमालेका नेताहरुको विश्लेषण छ । एमाले कास्की सचिव तथा सांसद मनबहादुर गुरुङले पनि सार्वजनिक रुपले नै मेयरको दावी गरेका छन् । जिल्ला अध्यक्ष भएपछि भूमिका फेरिए पनि उनले मेयरको दावी छाडेका छैनन् । यद्यपि, जित्नेलाई टिकट दिने पार्टी अध्यक्ष केपी ओलीको उद्घोषका कारण यसै भन्ने अवस्था नभएको पनि ती नेताले बताए । एमालेको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइराला,एमाले केन्द्रीय सदस्य भीम कार्की, होटल व्यवसायी भरत पहारी पुष्पराज अधिकारी,युवा नेताहरु दिलिप न्यौपाने र रस्मी आचार्यसम्मले मेयरमा दावी गरिरहेका छन् । यीमध्ये भीम कार्की एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज हुन् । २०५४ सालतिर एमाले विभाजन हुँदा तत्कालीन वैकल्पिक केन्द्रीय सदस्य पृथ्वीसुब्बासँगै पोखरा बसेर उनले संगठन बिस्तारमा काम गरेका थिए । तत्कालीन समयमा उनलाई संगठन नै नभएको मनाङको इञ्चार्ज बनाएर काम दिइएको थियो । भरत पहारी भने इञ्जिनियर हुन् । पोखरामा स्वीस इन्टरन्यासनल होटल संचालन गर्ने उनी एमाले केन्द्रीय अनुशासन विभागको सचिव छन् । पुष्पराज अधिकारी पोखराको चर्चित रुपाकोट रिसोर्टका संचालक हुन् । दिलिप न्यौपाने एमाले पोखरा नगर कमिटीका अध्यक्ष हुन् भने रस्मी आचार्य अखिलको केन्द्रीय उपाध्यक्षपछि भूगोलको राजनीति गर्न कास्की आएका हुन् । नेपाली कांग्रेसबाट पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा प्रदेश सांसद र मन्त्री भएपछि संघकै पूर्वअध्यक्षसमेत रहेका संजिवलाई निजी क्षेत्रको तर्फबाट मेयरको रुपमा हेरिएको हो । पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति सन्तबहादुर कोइरालाका छोरा र राजनीतिमा निरन्तर सक्रिय रहेकाले पनि उनको चर्चा भएको हो । त्यसका अलावा हाल पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, हाइड्रोपावर व्यवसायी पुष्पज्योति ढुंगाना,पूर्वशिक्षक दीपक पौडेल,एमाले केन्द्रीय सदस्य मीना गुरुङको नाम पनि मेयरको चर्चामा छ । तीमध्ये मीना एमाले उपसचिव पृथ्वीसुब्बाकी सम्धिनी तथा एमाले कास्कीकी सहइञ्चार्ज हुन् । अखिलको राजनीतिबाट आएकी उनी पोखराको अघिल्लो पुस्ताकी जुझारु नेतामध्ये गनिन्छिन् । हाल चर्चामा रहेका यी नाममध्ये केही मेयर नपाए उपमेयरमा चित्त बुझाउन तयार छन् । पहिला मेयर भए पुरुष र पुरुष मेयर भए महिला उपमेयर बनाउनुपर्ने प्रावधान अनुसार पनि उपमेयरमा मुखै खोलेर कसैले आकांक्षा देखाएका छैनन् ।
यता, नेपाली कांग्रेसको तर्फबाट कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी, वर्तमान गण्डकीका कानूनमन्त्री विन्दुकुमार थापा,संचार उद्यमी विश्वशंकर पालिखे,पत्रकारिताबाट राजनीतिमा होमिएका गंगाधर पराजुली,पूर्वसचिव बाबुराम आचार्य,नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी,अघिल्लो चुनावमा उपमेयरमा पराजित सरस्वती गुरुङ,महाधिवेशन प्रतिनिधि,नगर कमिटीका पूर्वसभापति तथा पोखरा ८ का पूर्ववडाध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, पूर्वमहाधिवेशन प्रतिनिधि ऋषि काफ्ले,पूर्वकानूनमन्त्री यज्ञबहादुर थापा,लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरि,पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई,कास्की कांग्रेसका निवर्तमान सचिव सुदीपमोहन भट्टराई, पूर्वमहाधिवेशन प्रतिनिधि कृष्ण कार्की पनि मेयरको दौडमा छन् । तीमध्ये विश्वशंकर पालिखे प्रजातन्त्र सेनानी परिवारको सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पनि हुन् । नेपाल चीन जनमैत्री संघका अध्यक्षसमेत रहेका उनले उज्यालो पोखरा अभियानअन्तर्गत पोखरामा सोलार बत्ती जडानलगायतका काम गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बौद्धिक व्यक्तित्वको रुपमा परिचित छन् । प्रजातन्त्र सेनानी परिवारका सदस्य र कांग्रेसको थिङ्क ट्यांकको रुपमा परिचित उनको योजना निर्माण र आर्थिक मामिलामा विशेष दख्खल छ । पूर्वसचिव बाबुराम आचार्य र लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरिलाई कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्माको साथ छ । उता, कांग्रेसको १४ औं महाधिवेशनमा कुनै पद नलिएका कृष्ण केसी सबैभन्दा बलियो दावेदारको रुपमा खडा छन् । यद्यपि,उनले मेयरमा आकांक्षा जनाइरहँदा फरक खेमामा रहेका पूर्वमन्त्री यज्ञबहादुर थापा र पूर्वसचिव सुदीपमोहन भट्टराईलगायतले पनि उम्मेदवारी घोषणा गर्दै चुनौती पेश गरिरहेका छन् । उपमेयरमा पराजित सरस्वती स्वत ः मेयरको दावेदार हुन् । कांग्रेसका केन्द्रीय नेताहरुसम्मको सोझो पहुँच र सक्रियता उनको विशेषता हो । ऋषि काफ्ले जनस्तरमा भिजेका नेता हुन् भने पत्रकार गंगाधर पराजुली हालै पोखरा नगर सभापतिमा पराजित तर लोकप्रिय व्यक्तित्व हुन् । वहालवाला मन्त्री विन्दुकुमार थापाले मेयरमा आकांक्षा देखाइरहँदा आफू जित्ने उम्मेदवार भएको तर्क गरिरहेका छन् । परिस्थिति अनुकूल भए मन्त्री पदबाट राजिनामा दिने र मेयरमा उठ्ने चाहना उनले लुकाएका छैनन् । लामो समय स्वतन्त्र बसेका पोखरा महानगरका पूर्वमेयर गणेशबहादुर भट्टराई पनि मेयरका बलियो दावेदार हुन् । स्वच्छ छवि तथा सामाजिक व्यक्तित्व उनको परिचय हो । मेयरमा यी नाम चर्चामा भइरहँदा उपमेयरमा भने धेरैजसो महिला आकांक्षी छन् । कोपिला रानाभाट,लक्ष्मी पाण्डे,माया बराल र उद्योगी किरण केसीको नाम उपमेयरमा चर्चामा छ । तीमध्ये किरण पूर्वसांसद सूर्यबहादुर केसीका छोरा हुन् । कोपिला कांग्रेस गण्डकीकी सहमहामन्त्री हुन् । कांग्रेसले मेयरको उम्मेदवार केन्द्रबाटै तय हुने बताएको छ । अतः हाल मैदानमा आउन तयार भएकाहरुले आ–आफ्नो पक्षमा केन्द्रसम्मै लविङ थालेका छन् ।
माओवादी केन्द्रबाट मेयरमा विश्वप्रकाश लामिछाने,हरिनारायण गिरी‘विज्ञान’,बखानसिंह गुरुङलगायतको चर्चा छ । अध्यक्ष प्रचण्डले आउँदो चुनावमा एक्लै लड्न तयार रहन निर्देशन दिएसँगै माओवादीले पनि उम्मेदवारबारे आन्तरिक छलफल थालेको छ । तीमध्ये उम्मेदवार नै उठाउने अवस्था आए पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्षसमेत रहेका विश्वप्रकाशको सम्भावना बढी रहेको माओवादीका एक नेताले बताएका छन् । तर,माओवादी केन्द्र अहिलेको गठबन्धन कायम रहे वडाध्यक्षहरुमै चित्त बुझाउने सुरमा रहेको पनि उनले लुकाएनन् ।‘हामीले पोखरा नगरमा मात्रै ८ हजारभन्दा बढी संगठित सदस्य बनाएका छौँ,कमजोर छैनौँ तर गठबन्धन बनेमा हामी आवश्यकता अनुसार लचिलो बन्न तयार छौँ’,उनले भने,‘हामी बलियो भएको वडामा गठबन्धनको तर्फबाट हामीले नै वडाध्यक्ष पाउनुपर्छ भन्ने माग रहेको छ ।’
उता, गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पोखरा महागनरको मेयरमा दावी गरेको छ । सो पार्टीबाट केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज धनराज आचार्यको नाम चर्चामा छ । त्यसो त पार्टीका पोलिटब्यूरो सदस्य तथा गण्डकी उपाध्यक्ष श्रीनाथ बराल पनि मेयरको दौडमा छन् । पार्टीले पोखरा वा काठमाडौंमध्ये एउटामा मेयर दावी गरिरहेको छ । सहमति भयो भने नेकपा एसबाट यी दुईमध्ये एक मेयरको उम्मेदवार बन्ने निश्चित छ । कास्कीमा नेकपा एसले ५ हजार संगठित सदस्य बनाएको जिकिर गरेको छ । यहाँका ७२ वटै स्थानीय तहमा संगठन बिस्तार गरेको नेकपा एसले काट्ने भनेको एमालेकै भोट हो । एमालेलाई हराउन सक्षम रहेको दल नै आफ्नो रहेको उनीहरुको दावी रहँदै आएको छ ।
गठबन्धन कायम होला ?
कास्कीमा रहेका गठबन्धन दलका नेताहरु निरन्तर छलफलमा छन् । गठबन्धनको बैठकमा आउँदो चुनावसम्मै सहमति कायम हुनुपर्ने विषयले प्रवेश पाउँदै आएको छ । एक नेताका अनुसार पोखरामा एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने सबैले स्वीकार्छन् तर सहमति नै होला भन्नेमा भने उनीहरु द्धिविधामा छन् ।
‘हामीमात्र मिलेर नहुने, एक्लै अगाडि बढ्छौँ भन्न पनि नसकिने अवस्था छ’,नेपाली कांग्रेसका एक नेताले भने,‘अरु दल पाएसम्म हामीसँग भाग खोज्दैछन्, हामीले कति दिने र कति लिने भन्ने हो तर केन्द्रले नभनेसम्म एक्लै लड्न तयार भएर बसेको अवस्था हो ।’
आक्रामक एमाले
एमालेलाई अघिल्लो नतिजा कायमै राख्ने चुनौती छ । एमालेका नेताहरुमा माधवकुमार नेपालको कम प्रभाव रहेको कास्कीमा नेकपा एकीकृत समाजवादीले खासै बिगार्न नसक्ने आंकलन थियो । तर, पुराना नेता श्रीनाथ बराल तथा पोखराको पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियू सभापति तथा व्यवसायी धनराज आचार्यको आक्रामक रणनीतिका कारण त्यो अनुमान फेल खायो । नेकपा एसले सबै वडा तहमा संगठन बिस्तारमात्रै गरेन्, ४० कटेका र एमालेका खाँट्टी मतदातालाई संगठित गरिदियो । त्यसबाट झस्केको एमालेले बाहिरिएकाहरुलाई भित्र्याउने तथा अन्य पार्टीका नेताहरुलाई तान्ने अभियान चलाउँदै आएको छ । सोही उपक्रममा एमालेले पूर्वएमाले नेता तथा पछिल्लो कालखण्डमा जनता समाजवादीका केन्द्रीय सदस्य रहेका गणेशमान गुरुङ तथा अघिल्लो चुनावमा मेयरका प्रत्यासी रहेका हुमबहादुर गुरुङलाई भित्र्याउने सफलता पायो ।कतिसम्म भने, ती नेतालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली नै पोखरा आए । पछिल्लो एक महिनामा एमाले अध्यक्ष ओली ३ पटक पोखरा आइसकेका छन् र हरेक पटक उनले अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याएका छन् । ‘एमाले यसै पनि बलियो छ र हामी अझ बलियो बन्न चाहन्छौँ’,पार्टी सुदृढीकरण अभियानबारे एक एमाले नेताले टिप्पणी गरे,‘ माधव नेपाल समूहले पु¥याएको क्षति पूर्ति भइसकेको छ, हामी वलियो अवस्थामा छौँ ।’





