बागलुङ/ आसन्न स्थानीय तहका लागि नेकपा एमालेले पालिका जनप्रतिनिधि छान्न सुरु गरेको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि विभिन्न स्थानीय तहबाट उम्मेदवार छनोट गर्न थालेको हो ।
नेकपा एमालेले कास्कीका विभिन्न वडाध्यक्ष छान्न सुरु गरेको छ । पोखराका ७ वटा वडामा सर्वसम्मत हुँदा पोखरा वडा नम्बर ५ मा भने निर्वाचन भएको थियो । विष्णु बराल, हालकी वडा सदस्य अञ्जु केसीसहित ३ जनाको नाम सिफारिस गरेको एमाले सचिवालयले जानकारी दिएको छ । स्रोतका अनुसार त्यहाँ उम्मेदवार छनोटमा मतदान भएको थियो । मतदान प्रक्रियामा सबैभन्दा बढी मत विष्णुको आए पनि तिनै जानको नाम जिल्लामा पठाइएको छ ।
‘मंगलबारसम्म सबै प्रतिनिधि छनोट गर्ने भए पनि सबै ठाउँको आउन सकेको छैन । आउने प्रक्रियामै छ,’ नेकपा एमाले पोखरा नगर अध्यक्ष दिलीप न्यौपानेले भने, ‘जिल्लामा बैशाख ४ गते पठाउने भएपछि त्यहीअनुसार अघि बढेका छौं ।’
यस्तै नेकपा एमाले बागलुङले पनि आसन्न स्थानीय तह निर्वाचनका लागि पालिका प्रमुखका उमेदवारहरु टुंगो लगाउन छलफल थालेको छ । जिल्लाका दशवटै स्थानीय तहमा उम्मेद्वार छनोटका लागि छलफल सुरु भएको सचिव विष्णु भुषालले जानकारी दिए ।
सोमबारबाट सुरु छलफल सुरु भएपनि अध्यक्षमा उम्मेद्वार बन्न आकांक्षीहरु धेरै देखिएका छन् । पालिका प्रमुख जितेका पालिकाहरुमा दोहो¥याउने र नयाँ आकांक्षी तथा अन्य पार्टीले जितेका पालिकामा समेत आकांक्षीको संख्या धेरै रहेको एमालेले जनाएको छ ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार छलफल सुरु गरेको एमालेले आगामी चैत ३० गतेसम्म उम्मेदवारका आकांक्षीहरुको टुंगो लगाउने छ । पालिका कमिटीले जिल्ला कमिटीमा सिफारिस गर्ने र जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटीले उमेद्वारको टुंगो लगाउने छ । एक स्थानीय तहबाट बढीमा तीन जनाको नाम पठाउने निर्देशन भएपनि आकांक्षी धेरै रहेकाले टुंगो लगाउन कठिन भएको हो ।
अघिल्लो सातादेखि सुरुभएको वडा अध्यक्ष तथा वडा सदस्यको उमेद्वारी टुंगो लगाउने काम समेत सकिएको छैन् । केही वडामा सर्वसम्मत र केही वडामा तीन जना भन्दा बढी आकांक्षी भएपनि नगर तथा गाउँकमिटिमा सिफारीस भएर आइनसकेकाले नामावली तयार नभएको सचिव भुसालले जानकारी दिए ।





