बागलुङ/नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवश बागलुङमा मनाइएको छ । नेपाल विद्यार्थी संघ धवलागिरि बहुमुखी क्याम्पस इकाइको आयोजनामा मनाइएको स्थापना दिवशमा स्थानीय तहको निर्वाचनमा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया भएको हो ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले आसन्न निर्वाचनमा स्थानीय तहले गरेका ५ वर्षको कामको समीक्षा गर्न सक्नुपर्ने धारणा राखिन् । उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने र सोही अनुसारको मतदान गर्दा स्थानीय तहको विकास हुने बताइन् ।
कार्यक्रममा कांग्रेस सचिव हरिहर शर्माले सयौं विद्यार्थीको रगत र पसिनाले जन्मेको संगठनलाई बचाउने र उनीहरुको सपना अनुसारको देश विकास गर्ने जिम्मा नेविसंघलाई भएको बताए । उनले कांग्रेसका दर्जनौ भातृ संगठनमध्ये जुझारु र पढेलेखेको संगठन भएकोले आसन्न निर्वाचन सफल पार्नपनि बिद्यार्थीकै सहयोग बढी चाहिएको बताए ।
नेपाल विद्यार्थी संघ, धवलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष दिनेश पन्तको अध्यक्षता, दिपक सुवेदीको संचालन र विशेष पराजुलीको स्वागतमा भएको कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष खड्ग थापा मगरले युवा बिद्यार्थीले स्थानीय तहको आवस्यकता र औचित्य बुझ्नुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा बिद्यार्थीको भूमिका बिषयक प्रस्तुतीकरण समेत गरेका थिए ।
कार्यक्रममा प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष दिपक कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वतन्त्र बिद्यार्थी युनियनले प्रकाशित गरेको धौलागिरि दर्पण पुस्तकसमेत सार्वजनिक गरिएको थियो । स्ववियुले आफ्नो कार्यकालमा गरेका सुधारका कार्यक्रम सहितको सामाग्री पुस्तकमा प्रकाशित भएको छ । स्ववियुले आन्तरिक परीक्षा प्रणालीमा सुधार गरेको, खेलकुँद प्रतियोगितादेखि अन्य रचनात्मक काम गरेको, सरसफाइ, भर्ना र बिदाइ अभियान, तथा क्यामपसको गुणस्तर सुधारमा काम गरेको थियो ।
हाल धौलागिरि क्यामपसले वार्षिक परीक्षाबाहेक आन्तरिक परीक्षा लिएर विद्यार्थीलाई परीक्षाका लागि अभ्यस्त बनाउने काम गरेको छ । यसैबीच गलकोट लगायतका संस्थागत क्याम्पससमा पनि नेविसंघले आफ्नो स्थापना दिवश मनाएको जिल्ला अध्यक्ष खड्ग थापामगरले जानकारी दिए । –प्रशिक्षार्थी





