बागलुङ\आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा अधिकृतको कार्यालय स्थापना भएको हो । उक्त कार्यालयबाट बिहिबारदेखि काम शुरु भएको छ ।
निर्वाचनलाई मर्यादित बनाउन सरकारले जिल्ला न्यायाधिसको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत र न्याय क्षेत्रका अन्य अधिकृतलाई अन्य पालिकामा निर्वाचन अधिकृत तोकेको छ । बागलुङमा पनि मुख्य निर्वाचन अधिकृतले बागलुङ नगरपालिका हेर्नुपर्ने छ । अन्य पालिकामा गरी १० जना अधिकृतहरु तोकिएका छन् ।
सबै पालिकामा तोकिएका अधिकृतले कार्यालय खोलेर मतदाता नामाबली प्रकाशन गर्नेदेखि राजनीतिक दलका प्रतिनिधिसँग छलफल पनि गरिरहेका छन् । बिहिबार कार्यालय स्थापना गर्दै मुख्य अधिकृत बासुदेव न्यौपानेले निर्वाचन सफल बनाउने जिम्मा सबैको भएको बताए । ‘सबैको चाहना, सहयोग र सद्भावले निर्वाचन मर्यादित र स्वच्छ पनि हुन्छ’ न्यौपानेले भने, ‘राजनीतिक दलहरुले पनि निर्वाचनलाई स्वच्छ बनाउने काममा साथ दिनुहोला ।’





