आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सांसद थापा र पहारी पोखराको मेयर बन्न नपाउने

सांसद थापा र पहारी पोखराको मेयर बन्न नपाउने


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७९, शुक्रबार

पोखरा/ पोखरा महानगर प्रमुख बन्न सिफारिस भएकामध्ये नेकपा एमालेले सांसद कृष्ण थापा र राजीव पहारीलाई उम्मेदवार नबनाउन भएको छ । बिहीबार बालकोटमा बसेको बैठकले गण्डकीका सांसदलाई उम्मेदवार नबनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा एमालेको पुनः सरकार बन्ने सम्भावना रहेको र एकमात्र सांसद तलमाथि हुँदा समस्या पर्ने भएकाले सांसदलाई स्थानीय तहको उम्मेदवार बनाउन रोक लगाइएको ती नेताले जानकारी दिए । पोखराको मेयर बन्न प्रदेश सांसद सांसद कृष्ण थापा र राजीव पहारीसहित १२ जनाको नाम सिफारिस भएको थियो ।

उम्मेदवार बन्न बहालवाला सांसदले राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ । सांसदलाई मेयर उम्मेदवार नबनाउने निर्णय गरे पनि पोखरासहितका महानगरका हकमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सहमति भने नभएको सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार शुक्रबारमात्रै महानगर तथा उपमहानगरबारे टुंगो केन्द्रीय सचिवालयले टुंगो लगाउने छ ।

गण्डकी प्रदेशमा हाल नेकपा एमालेका २७ जना सांसद छन् । अघिल्लो सरकारको नेतृत्व नेकपा एमालेले नै गरेको भए पनि जेठ २९ गते कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा ५ दलीय गठबन्धन सरकार बनेको थियो । प्रदेश सरकारलाई स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को साथ छ ।

कृष्ण थापाको प्रतिक्रियाः निर्णय आधिकारिक होइन, अपवाह हो

नेकपा एमालेको बहालवाला प्रदेश सांसद स्थानीय तहको उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि प्रदेश सांसद तथा मेयर आकांक्षी कृष्ण थापा रुष्ट बनेका छन् । उनले पार्टीले कुनै निर्णय नगरेको र बाह्य अपवाह फैलाइएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश सांसदलाई जनप्रतिनिधिमा उठ्न नपाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय आफूले जानकारी नपाएको भन्दै सांसद थापाले आधिकारिक नभएको बताएका हुन् ।
‘पार्टीको कुनै निर्णय भएको छैन । अहिले बाहिर आइरहेको कुरा पनि आधिकारिक होइन, अपवाहमात्रै हो,’ थापाले ढोरपाटनलाई प्रतिक्रिया दिँदै भने, ‘यसबारे धेरै बोलिनँ ।’

अर्का सांसद तथा मेयर आकांक्षी राजीव पहारीले भने केन्द्रीय नेतृत्वले गरेको निर्णय नै अन्तिम हुने प्रतिक्रिया दिएका छन् । ‘पार्टीको बफादार कार्यकर्ता हो भने केन्द्रीय नेतृत्वको कुरा मान्य हुन्छ । मान्नैपर्छ,’ पहारीले अर्का सांसद थापाप्रति इंगित गर्दै भने, ‘आफू अनुकुल आयो भने ठीक छ होइन भने षडयन्त्र भयो भनेर बाहिर बोलेर काम छैन । चित्त बुझेन भने भित्रै कुरा गर्ने हो ।’
पोखरा महानगर प्रमुखका लागि एमालेबाट २ जना प्रदेश सांसदसहित १२ जनाको नाम सिफारिस गरिएको थियो । शुक्रबार पोखरा महानगर कमिटीले महानगर प्रमुखका लागि आन्तरिक आवेदन दिएका १२ र उपप्रमुखका १० जनाकै नाम सर्वसम्मत सिफारिस गरेको थियो ।

लगातार ३ दिन छलफल गर्दासमेत टुंगोमा पुग्न नसकेपछि शुक्रबार आन्तरिक निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर, अन्तिम समयमा निर्वाचन गर्दा चुनावमा असर गर्ने भएकाले सर्वसम्मत नै सिफारिस गरिएको नगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले बताएका थिए ।

अध्यक्ष केपी शर्मा ओली पक्षधर भए पनि कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्रतिष्ठाको लडाइँ हुँदै आएको छ । आन्तरिक चुनाव नगरी सबैको नाम सर्वसम्मत केन्द्रमा पठाएपछि खगराज पक्ष रुष्ट बनेकोमात्रै थिएन, पार्टी कार्यालयबाहिर नाराबाजी नै गरेको थियो ।

अहिले प्रदेश सांसद स्थानीय तहमा उठ्न नपाउने निर्णय हुनुमा पनि सोही विषय कारक भएको स्रोतको दाबी छ । मेयर आकांक्षी कृष्ण थापा खगराज अधिकारी पक्षधर हुन् भने राजीव पहारी पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् । थापा पोखराका पूर्व मेयर भएकाले पनि उनलाई प्रमुख दाबेदारका रुपमा हेरिएको थियो । ‘थापालाई रोक्नकै लागि अर्को पक्षबाट षडयन्त्र गरिएको छ,’ स्रोतको दाबी छ ।

पोखरा महानगरको प्रमुखका लागि प्रदेश सांसद कृष्ण थापा, राजीव पहारीसहित भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->