बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टीको स्थापना दिवशको अबसरमा नेकपा एमालेले जिल्लाभर जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सबैपालिका तहमा भएका कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
बागलुङ नगर कमिटिले आयोजना गरेको सम्मान कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य लीलबहादुर थापा र मना केसीले समेत सम्बोधन गरे । उनीहरुले कम्युनिष्टले जेष्ठनागरिक, महिला तथा दलीतका सम्मान गर्ने बताए । उनीहरुले आसन्न निर्वाचनमा आफ्नो दलको बहुमत ल्याउने काममा जेष्ठ नागरिकले घरघरमा भूमिका खेल्ने समेत दावी गरे ।
कार्यक्रममा सहभागि नेताहरुले सामाजिक सुरक्षा भत्ताकै कारण छोराछोरीलाईपनि समन्वय गरेर एमाले जिताउने काम गर्ने दावी समेत गरेका थिए । एमाले बलियो शक्ती भएकोले घेराबन्दीमा परेको, गठबन्धन बनाएर एमाले हराउने अभियान शुरु भएको भन्दै जिल्ला अध्यक्ष हिराबहादुर केसीले अझै संगठित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले धेरै शक्ती मिलेर एक्लो दलमा प्रतिष्पर्धा गर्नुनै बलियो शक्ती भएको दावी पनि गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्दबहादुर नेपालीले कम्प्युनिष्ट नै सामाजिक सुरक्षाको सुत्राधार भएको बताए । ‘कुनैबेला कम्प्युनिष्ट बिरोधीले ६० बर्ष काटेका वृद्धलाई गोली ठोक्छन् भन्थे, तर कम्प्युनिष्टले नै सामाजिक सुरक्षाको कार्यक्रम ल्यायो’ नेपालीले भने, ‘प्रथम कम्प्युनिष्ट प्रधानमन्त्रीले थालेको सुरक्षा अभियान अहिले सबैको चासो बनेको छ ।’ त्यसैले स्थापना दिबशमा पनि जेष्ठ नागरिक सम्मान गरिएको बताए ।
नगर कमिटि अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, सचिव रामकृष्ण शर्माको संचालन र उपाध्यक्ष खेमराज सापकोटाको स्वागतमा सम्पन्न सम्मान कार्यक्रममा ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ८० बर्ष काटेकालाई मात्र उक्त सम्मान गरिएको र एकदुइ दिनमा सबै वडामा पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको योजना समेत सहभागिले सुनाएका थिए । शुक्रवारै सबै पालिका तहमा पनि सम्मान गरिएका तस्बिरहरु सार्वजनिक भएका छन् ।
शुक्रवारै एमालेले स्थानीय तहको घोषणापत्र पनि सार्वजनिक गरेको छ । काठमाण्डौमा आायेजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्र जिल्ला तहमा पनि सार्वजनिक गर्ने कार्यक्रम छ । शुक्रवारै गर्ने भनेपनि बागलुङमा भने सार्वजनिक भएन ।
यसैबीच एमालेले नेकपाको स्थापना दिवशको अबसर पारेर बितरण गरेको जेष्ठ नागरिक सम्मानको टिप्प्णी पनि भएको छ । आचारसंहिता बिपरितको काम भयो की भन्ने जिज्ञाशामा एमालेका एक नेताले कम्प्युनिष्ट योद्दा सम्मान भन्नु पर्नेमा जेष्ठ नागरिक सम्मान भनिएकोले केही फरक परेको स्विकारे । उक्त कार्यक्रममा बागलुङ नगर प्रमुख जनकराज पौडेल, वडा अध्यक्ष र सदस्यहरु समेत सहभागि थिए । निर्वाचन आचारसंहिताले जनप्रतिनिधिले आचारसंहिता लागेपछि कुनै मंचमा पुगेर मतदाता प्रभावित हुने गरी सम्मान गर्न नहुने उल्लेख छ ।
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नियमित हुनुपर्ने काम बाहेक मतदाता प्रभावित हुने खालको काम गर्न नहुने बताए । ‘आचारसंहिता भनेकै निर्वाचन स्वच्छ होस् भनेर बनाउने हो, कसैलाई लौरो लगाएर यसोतेसो नभनौं भन्ने छ’ उनले भने, ‘सबै बुद्धिजिवि छौं, यो मिल्दैन की भन्ने काम दलहरुले नै रोक्ने र सामान्य बनाउने हो ।’ मतदाता प्रभावित हुने गरी कार्यक्रम भएको उजुरी भने नआएको उनले बताए ।





