बागलुङ/नेपाल प्रेस युनियनको महासचिवमा बागलुङका पत्रकार दिलिप पौडेलले उमेद्वारी घोषणा गरेका छन् । सोमबार बागलुङमा पत्रकार सम्मेलन गर्दै पौडेलले उमेद्वारी घोषणा गरेका हुन् । जिल्ला शाखा बागलुङको प्रस्ताव र पर्वत तथा म्याग्दीको समर्थनमा आफुले महासचिवको उमेद्वारी घोषणा गरेको पौडेलले बताए । यसअघि नेपाल प्रेस युनियन बागलुङ शाखाले पौडेललाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
जेठ १३ र १४ गते हेटौडामा हुने महाअधिवेशनमा शाखाको तर्फबाट महासचिव पदमा उम्मेदवार बनाउने निर्णय अनुसार उमेद्वारी घोषणा भएको जिल्ला अध्यक्ष प्रदिप पन्तले जानकारी दिए । बागलुङ शाखाले महासचिवमा पौडेललाई सहयोग गर्न केन्द्रीय पदाधिकारी, युनियनका सबै जिल्ला शाखा तथा केन्द्रीय पार्षदलाई अपिल गरेको छ ।
डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल युनियनको जिल्ला सदस्य, उपसभापति, सभापतिहुँदै युनियनको पोखरामा सम्पन्न महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।





