बागलुङ/जैमिनी नगरपालिका–१ कुश्मीशेराको वडा कार्यालय भवनमा रहेको सभाहलमा तारजाली लगाउन सुरु भएको छ । वडा कार्यालय स्थानीय तह निर्वाचनको मत गणनास्थल हो । प्राबिधिकहरुले सिसिक्यामेरा जडानको काम गरिरहेका छन्भने मजदुरहरु तारजाली लगाउने तरखर गरिरहेका छन् ।
कुर्सी, टेबल र ह्वाईटबोर्ड मात्रै रहेको हल वैशख ३० गतेसम्म तारजालीको घेराभित्र हुनेछ । सिसिक्यामेराले यो हल र भित्रका सबै गतिबिधि कैंद गर्ने छ । कुश्मीशेराको वडा कार्यालय मात्रै होईन जिल्ला समन्वय समितिको सभाहल, गलकोट माविको सभाहल र उत्तरगंगा माविको भवनमा पनि यस्तै संरचना बनिरहेका छन् ।
बागलुङका दशवटै मतगणना स्थलमा सिसिक्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । चर्को आलोचनापछि निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने रणनीति बनाएको थियो । त्यसैले मतदाताको अमुल्य मतको सुरक्षाका लागि हलहरुमा तारजालीको घेरा र सिसिक्यामेराको निगरानी कायम गरिएको हो ।
बागलुङका १० वटै मतगणना स्थलमा सिसिक्यामेरासहित तारजालीको व्यवस्था गरिएको बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । मतदान सकिएलगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको निर्माण गरिएको उनको भनाइ छ ।
निर्वाचन अधिकृतको कार्यालयहरुले मतदानसँगै मतगणनाका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापनको काम गरिरहेको जनाएका छन् । जिल्लाका अधिकांश स्थानीय तहमा वैशाख ३० गते रातीनै मतगणना सुरु गर्ने तयारी छ ।
‘टाढा टाढा मतदानस्थल भएका पालिकाहरुमा मतपेटिका ल्याउन पनि समय लाग्छ, तर नजिक भएका ठाउँमा हामीले तत्कालै मतगणना गर्नेगरी तयारी गरिरहेका छौं’ न्यौपानेले भने ‘हामीले बढीमा जेठ ७ गतेसम्म अन्तिम नतिजा आउने गरी तयारी थालेका छौं ।’





