बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङको पहिलो निर्णय : एक बर्षभित्रै बालमैत्री नगर

बागलुङको पहिलो निर्णय : एक बर्षभित्रै बालमैत्री नगर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

बागलुङ/ बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आगामी एक बर्षभित्र बागलुङ नगरपालिका बालमैत्री नगर बन्ने घोषणा गरेका छन् । शुक्रबार पदवहाली गर्दै श्रेष्ठले २०८० सालभित्रै नगरलाई बालमैत्री नगर बनाउने घोषणा गरे ।

नगरपालिकाका १४ वटै वडामा बालमैत्री संरचनाहरुको निर्माणको काम सुरु गर्न कर्मचारीहरुलाई निर्देशन दिए । श्रेष्ठले बालबालिकाको अधिकार प्रति नगर जिम्मेबार भएमा मात्रै जिम्मेबार नागरिक तयार हुने बताए । ‘हामीले एक बर्षमा बालमैत्री नगर घोषणा गर्ने पहिलो निर्णय लिएका छौं’ उनले भने ‘सबैलाई मान्य हुने, सामाजिक महत्वको पहिलो निर्णय गरिएको हो, यसको कार्यान्वयनका लागि अबका हाम्रा गतिबिधि केन्द्रित हुन्छन् ।’

आगामी नीति तथा कार्यक्रम र बजेटमा पहिलो निर्णय कार्यान्वयनका लागि प्राथमिकताका आधारमा कार्यक्रमहरु आउने उनले बताए । आउँदो मंगलबारका लागि पहिलो कार्यपालिका बैठक बोलाईएको जानकारी दिँदै श्रेष्ठले जनपक्षिय नीति कार्यक्रम र बजेटको तयारी सुरु भैसकेको बताए । निर्वाचन अघि सार्वजनिक भएको प्रतिबद्धता पत्रमा बागलुङ बजारको ढल व्यवस्थापन एक बर्षभित्रमै गरिसक्ने उल्लेख गरेका श्रेष्ठले पहिलो निर्णय भने बालअधिकारको रक्षाका क्षेत्रमा गरेका हुन् ।

नगर प्रमुख श्रेष्ठ र नगर उपप्रमुख राजु खड्काले एक कार्यक्रमका बिच शुक्रवार पदभार ग्रहण गरेका हुन् । बैशाख ३० गते भएको स्थानीय निर्वाचन बाट निर्वाचित भएका नगर प्रमुख श्रेष्ठले बागलुङ नगर कार्यपालिकाको कार्यालय पुगेर शुक्रबार बिहान जिम्मेवारी सम्हालेका हुन् । उपप्रमुख खड्काले न्यायिक समितिको कक्षमा पुगेर जिम्मेवारी सम्हाले ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सापकोटाले नवनिर्वाचित नगर प्रमुख श्रेष्ठ र नगर उप प्रमुख खड्कालाई नगरपालिकाको तर्फबाट स्वागत गरेका थिए । स्वागत पछि नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सहितको बैठक बसेर सेवाग्राहीलाई सम्मान गर्दै सेवा प्रवाह गर्न श्रेष्ठले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->