शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

खोजी होला त एमालेमा हारको कारण ?

खोजी होला त एमालेमा हारको कारण ?

बागलुङबाहेक अन्य पालिकामा एमालेले अघिल्लो निर्वाचनभन्दा बढी मत पाएको छ ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७९, सोमबार

बागलुङ/ नेकपा एमालेको पकड क्षेत्र मानिएको बागलुङ नगरपालिका–१० भकुण्डेमा २०७४ को स्थानीय तह निर्वाचनमा प्रेम बहादुर थापाले ५६४ मतान्तरले जितेका थिए । २०४९ वर्ष यता भएका संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भकुण्डेलाई एमालेले आफ्नो आधार क्षेत्र बनाउँदै आएको थियो । ०७४ को चुनावमा थापाले १ हजार १ सय ६७ मत पाएका थिए ।

२०७४ सालमा भएको प्रदेश र संघीय निर्वाचनमा इन्द्रलाल सापकोटा र डा. सूर्य पाठकले पनि भकुण्डेबाट सोही अनुपातमा मत पाएको आँकलन एमालेले गरेको थियो । यद्यपी ती निर्वाचनमा अन्य वडासमेत मिसाएर मतगणना भएकाले एकिन तथ्यांक छैन् ।

स्थानीय तहको निर्वाचन–२०७९ मा भने भकुण्डे एमालेको पकड रहेन । वर्षौदेखि एकछत्र राज गरेको एमालेले यसपाली भकुण्डे गुमायो । सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका तिल बहादुर थापाले ६९ मतान्तरले निर्वाचन जित्दा एमालेका युवा नेता बिजय थापा ‘प्रेम’ हारको शिकार बने । यो जिल्लामा नौलो घटना हो । एमाले पार्टीभित्र देखिएको बेतिथिले भकुण्डेको निर्वाचनमा हार व्यहोर्नु परेको त्यहाँका स्थानीय नेता कार्यकर्ताले बताउँछन् ।

बिजय थापाले पार्टीबाट टिकट पाएपछि जिल्ला कमिटिको सचिवालय सदस्यसमेत रहेका बिष्णु प्रसाद शर्माले बागी उमेद्वारी दिएका थिएभने अर्का सचिवालय सदस्य खिमबहादुर थापाले शर्माको उम्मेद्वारी फिर्तापछि राजिनामा दिएर एमालेकै विरुद्धमा लागेका थिए । ‘पार्टीलाई प्रयोग गरेर नेतृत्वमा पुग्ने र आफ्नो स्वार्थ बाझिएपछि असहयोग गर्नेहरुका कारण हार व्यहोर्नुप¥यो’ पार्टीका एक नेता भन्छन् ‘भकुण्डेमा संगठित मत मात्रै जोगाउँदा अहिले पनि निर्वाचन एमालेले जित्ने वातावरण थियो ।’

बागलुङ नगरपालिकामा भकुण्डेपछि एमालेको अर्को आधार क्षेत्र वडा नं. १ रामरेखा थियो । यसअघिको निर्वाचनमा यो वडामा दूर्गाबहादुर सार्कीले चुनाव जितेका थिए । अघिल्लो निर्वाचनमा १ सय ७७ मतले चुनाव जितेका सार्की यसपटक ८ मतले पराजित भए । यहाँ नेपाली कांग्रेसका जयबहादुर केसी वडा अध्यक्ष जिते । पार्टीभित्र देखिएको समस्या नेतृत्वले समाधान गर्न नसकेकै कारण वडामा हार व्यहोर्नु परेको निष्कर्षमा वडा तहका नेताहरु पुगेका छन् ।
वडा नं. ३ पनि एमाले बलियो रहेको क्षेत्र मानिन्थ्यो । अन्य दलहरुले समेत यस पटकको निर्वाचनमा एमालेसँग हारजितको आँकलन गर्न नसकिने वडामा समाबेश भएका वडाहरु हुन् उल्लेखित वडाहरु । अघिल्लो निर्वाचनमा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको एमालेले सूर्य चिन्हबाट राजमो नेतृ लक्ष्मी बास्कोटा उठाउँदा पनि फराकिलो मतान्तरले चुनाव जितेको थियो । अहिले त्यहाँ एमालेले जित निकाल्न सकेन् ।

पार्टीबाट टिकट पाएका कमल खड्कालाई नेपाली कांग्रेसका शनी केसीले पराजित गरे । एमालेको टिकट वितरणमा असहमति राखेका जिल्ला सचिवालय सदस्य पुनम शर्मा पदबाट राजीनामा दिएर स्वतन्त्र उमेद्वारको रुपमा मैदानमा
आए । कांग्रेसले चुनाव जित्दा एमाले दोस्रो र उनै शर्मा तेस्रो भए । केसीले ९८३, खड्काले ८४२ र शर्माले ६१३ मत पाए ।

वडा नं. ३ को विवादकै कारण वडा नं. २ मा पहिले सर्वसम्मत रामबहादुर जिसीलाई वडा अध्यक्षको उमेद्वार मान्न तयार भएका रामराज गुरुङले स्वतन्त्र उमेद्वारी दिए । त्यसको शिकार बने एमालेका उमेद्वार जिसी । यहाँ गठबन्धनका सुरज बोसेलले ४ सय २८ मत पाउँदा जिसीले ३ सय ९८ मत पाए । स्वतन्त्र उमेद्वार बनेका गुरुङले १ सय ९१ मतमा चित्त बुझाए ।

बागलुङ नगरपालिका–१२ मा अघिल्लो निर्वाचनमा कांग्रेससँगको प्रतिस्पर्धामा जित निकालेका गुरुदत्त पाठक यस पटक स्वतन्त्र उमेद्वारसँग हार व्यहोरे, वडा नं. ९ मा युवा नेता अगन खड्का झिनो मतान्तरले हार्नु, अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले जितेका वडा नं. ८ का उमेद्वार राजन जिसी यस पटक फराकिलो मतान्तरले हार्नु एमाले संगठन भित्रको समिक्षा गर्नुपर्ने बिषय भएको नेताहरु बताउँछन् । जिल्लाका अन्य स्थानीय तहमा भने एमालेले पहिलेको तुलनामा आफ्नो मत सुधार गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->