चितवन – चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका विजय सुवेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन्। मतगणना केहिबेर अघि सकिएको हो। रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए।
रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन्। विजय एमाले-राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए। रेनु भरतपुर महानगरको निवर्तमान प्रमुखसमेत हुन्। २०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन्।
यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन्। अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन्।





