गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले बालश्रम न्यूनीकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमले किडासाको सहयोगमा शनिबार आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि ‘शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् ।
मन्त्री थापाले बालश्रम न्यूनीकरण र बालबालिकालाई विद्यालय पठाउने कार्यमा पोउवा संघले खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।
नेपाल सरकारले सरकारी विद्यालयहरुमा ५ कक्षासम्म उपलब्ध गराउँदै आएको निःशुल्क खाजाका कारण विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पनि उनले बताए ।
‘न्यून आयस्तर भएका परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्दा विद्यालय पठाउने बानीको विकास हुनेछ । सरकारी विद्यालयले शैक्षिक स्तरोन्नतिलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ’,उनले भने ।
प्रविधिमैत्री शिक्षाको आवश्यकता औंल्याउँदै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले ७० प्रतिशत बालबालिकालाई प्राविधिक शिक्षा उपलब्ध गराउने गरी काम गरिरहेको जानकारी दिए । नैतिक शिक्षासँगै प्राविधिक शिक्षाको अभावमा रोजगारीका लागि अब कुनै बालबालिका पछि भौतारिन नपर्ने धारणा उनको जिकिर थियो ।
पोखरा उद्योग वाणिज्य संघले व्यवसायिक हक हितका लागि मात्र काम नगरी सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका यस्ता कार्यले थुप्रै बालबालिकाले लाभ लिनेमा उनी ढुक्क देखिए ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बालश्रम न्यूनीकरणको लागि संघको एकल प्रयासमा समुदायको हातेमालो हुनुपर्नेमा जोड दिए । नेपालको निजी क्षेत्र सामाजिक उत्तरदायित्व बहनको लागि सदैव तयार रहेको बताउँदै उनले सभ्य समाज निर्माण पोउवा संघको चासो भएको बताए ।
संघअन्तर्गतको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोखरा
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति,उपाध्यक्षद्धय गोकर्ण कार्की र अर्जुन पोखरेल, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य,उपमहासचिव केशवबहादुर खत्रीसहित कार्यसमितिका सदस्यहरुको उपस्थिति थियो । उनीहरु सबैले पोखराको शैक्षिक विकासका सबै मिलेर काम गर्नुपर्ने आवश्यकता आजको औंल्याएका थिए ।





