पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशमा रोजगार मेला गर्ने तयारी थालेको छ । अध्ययन तथा तालिम पुरा गरेका रोजगारीका अवसर प्राप्त नगरेका नागरिकका लागि उपयुक्त वातावरण सृर्जना गर्ने उदेश्यले मेलाको आयोजना गर्न लागेको हो ।
मेलाको आयोजना हुँदा व्यावसायी र कामदारबीचको खाडल पुर्ने काम गर्न व्यवसायीहरुले सुझाव दिए । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा हुन लागेको मेला गर्नु अघि नेपाल व्यावसायिक योग्यता प्रणालीबारे सरोकारवालाहरुलाई अभिमुखीकरण तथा रोजगार मेला सम्बन्धि छलफल समेत गरिएको छ ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै राख्ने योजनाको सुरुवात मात्रै गर्न लागेको बताए । ‘यो त सुरुवातमात्रै हो । हामीले मुख्यगरी २ कुरालाई जोड दिनेछौँ’, उनले भने,‘प्रदेश सरकारले श्रम नीति ल्याएको छ । सोहि नीतिलाई टेकेर असंगठित मजदुरहरुलाई संगठित गर्ने र राज्यको दायरामा ल्याउँने र उनीहरुको समस्याको पहिचान गरी सिप अनुसारको काम मिलाउने योजना छ । अर्को भनेको प्रदेश भित्र व्यावसाय गर्ने र व्यावसायमा चाहिने कामदार प्रदेशमै उत्पादन गर्ने हो । ’ मन्त्री श्रेष्ठले सरकारको जानकारीमा नआएका धेरै क्षेत्र रहेको र त्यहाँ सिप भएका कामदार भएपनि व्यवस्थित नहुँदा विदेशीन बाध्यभएकाले अब विदेश जान नभई स्वदेशमै रोजगारको व्यवस्थापन गर्ने तर्फ प्रदेश सरकार उदार भएको बताए । उनले मेलाले उक्त कुरामा ठुलो सहयोग पुग्नेमा विश्वास रहेको सुनाए । मेलालाई अर्थपूर्ण बनाउनका लागि गृहकार्य भएको र थप छलफल गरि मिति निर्धारण गर्ने जानकारी दिए ।
उक्त छलफलमा सुझाव दिदैँ व्यवसायी तीर्थ मगरले एक मात्र पेशाको आधारमा नभई सिपको आधारमा प्रमाणपत्र प्रदान गर्ने योजना समेत ल्याउनुपर्नेमा जोड दिए । उनले श्रमिकलाई सिपयुक्त बनाउनका लागि समेत मेला फलदायि हुनुपर्नेमा जोड दिए ।
अर्का व्यावयासी विश्व प्रसाद कर्माचार्यले प्रदेशले पहिलो पटक गर्न लागेको रोजगार मेला स्वागत योग्य भएको बताउँदै मेलामा अनुभविमात्र नभई नयाँ जनशक्तिका लागि समेत अवसर सृर्जना गर्ने किसिमको बनाउन आग्रह गरे । उनले आफुलाई कर्मचारी आवस्यकता पर्दा नभेटिएको र जब सेन्टरमा सुचना दिदाँ आउने अधिकांश कर्मचारीले फोनबाटै सबै कुरा निश्चित गर्न खोज्दा समस्या आउने गरेको गुनासो पोखेँ । उनले बजारमा भएका जनशक्ति व्यस्त रहेका र दक्षता नभएका वेरोजगार धेरै भएकाले दक्षताका लागि मात्र मेला गर्नुको भने औचित्य नहुने भनाई राखे ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा हुन लागेको रोजगार मेलाले २ सय भन्दा बढि वेरोजगार युवालाई रोजगार दिने अपेक्षा लिइएको छ । प्रदेशले १ हजार भन्दा बढिले मेला अवलोकन गर्ने र २ सय बढिले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा लिएको छ । व्यावसायिक तालिम लिन चाहने विद्यार्थीका लागि पर्याप्त जानकारी दिने समेत प्रदेशको योजना रहेको छ ।
नेपाल सरकार र स्वस्स सरकारको सहयोगले सञ्चालनमा रहेको नेपाल व्यावसायिक योग्यता प्रणली परियोजना दोस्रो चरण अन्तरगत रोजगार मेला आयोजना गरी प्र्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पुर्व ज्ञानको मान्यतामा आधारित सिकाइको बारेमा जानकारी प्रदान गर्न मेलाको आयोजना गर्न लागेको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले जानकारी दिए । उनले दोस्रो चरणको छलफल पश्चात मिति तय गर्ने बताए । उनले मेलाले सिप भएर पनि जागिर नपाएर विदेशीन बाध्य नागरिकलाई स्वदेशमै राख्ने बताए ।
सिटिइभिटिका निर्देशक प्रमोदभक्त आचार्यले मुख्य उदेश्यक सान्दर्भिक रहेको र आगामी दिनमा प्राविधिक तालिम लिन सहज हुनेमा आफु आशावादी रहेको सुनाए । उनले मेलामा रोजगार सम्बन्धि काउन्सिल दिने व्यवस्था गरेर जान अनुरोध गरे ।





