आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

ढोरपाटन सिकार आरक्षमा नाउर घटे, झारल बढे

ढोरपाटन सिकार आरक्षमा नाउर घटे, झारल बढे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७९, मंगलबार

बागलुङ/ पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको संख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २ सय ९० नाउर र ७ सय ४४ झारल भेटिएका थिए । २०७२ को गणनासँग तुलना गर्दा नाउरको संख्या कम र झारलको बढी हो ।

त्यसबेला आरक्षमा दुई हजार २ सय २ नाउर र ३ सय ८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको संख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिए ।

‘नाउरको संख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो’, खड्काले भने, ‘गणनामा भेटिने नाउर र झारलको संख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।’ नाउरको संख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ । केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताए ।
नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजार माथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भएपनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ ।

झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन् । बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ ।

कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->