पोखरा/ गण्डकी प्रदेश सरकारले फेवातालको सीमाङ्कन कार्यको सुरुआत गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सीमाङ्कन गर्ने भनिएको छ । नीति तथा कार्यक्रममा ‘ फेवातालको सरसफाई तथा सौन्दर्यीकरण कार्यलाई निरन्तरता दिँदै सरोकारवालाहरुको सहकार्यमा फेवातालको सीमाङ्कन कार्य सुरुआत गरिनेछ’ उल्लेख गरिएको छ । साथै फेवा र वेगनासतालको सौन्दर्यीकरण र फोहोर मैला व्यवस्थापनका लागि गुरुयोजना तर्जुमा गरी पोखरा महानगरपालिकासंगको सहकार्यमा कार्यान्वयन गर्ने जनाइएको छ । प्रदेश सरकारले अन्यताल तथा नदीहरुको नाप नक्सा तयार पारेर अतिक्रमणमा परेका क्षेत्र फिर्ता ल्याउन पहल गर्ने भनिएको छ । हिमतालको संरक्षण गर्दै प्रदेश भित्र जोखिममा रहेका बस्तीको पहिचान गरी संरक्षण गर्ने र संरक्षण गर्न नसकिए स्थानान्तरण गर्ने नीति समेत ल्याउने भएको छ ।
यसअघि सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले प्रतिवेदन तयारसमेत गरेको छ । पुण्य प्रसाद पौडेलको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदन अनुसार नेपाल राजपत्रको खण्ड ७० भाग ५ मा फेवातालको क्षेत्रफललाई ११ हजार २५५ रोपनी ११ आना एक पैसा (५.७२६ वर्गकिलोमिटर) कायम गरी सूचना प्रकाशित गरिएको छ ।
कित्ता नं २९७ कायम भई क्षेत्रफल आठ हजार ७०७ रोपनी १२ आना २ पैसा २ दाम कानूनी क्षेत्रफल रहेकामा पछिल्लो प्रतिवेदनले कानूनी तबरबाट हेर्दा दुई हजार ५४८ रोपनी क्षेत्रफल बढ्न गई हाल ११ हजार २५५ रोपनी ११ पैसा १ दाम भएको थियो ।
फेवातालको क्षेत्रफलका विषयमा हालसम्म भएका अध्ययन प्रतिवेदनमा उल्लिखित तथ्याङ्कमा ब्रिटिस सर्भे अफ इण्डियाले (सन् १९२५÷१९२६) ३.४६ वर्ग किलोमिटर, सर्भे अफ इण्डियाले (सन् १९५७/१९५८) ४.३९ वर्ग किलोमिटर, नेपाल–भारत सहयोग मिसनको रिपोर्ट (विसं २०१८) १०.३५ वर्ग किलोेमिटर, पहिलो किल्ला नापी (कित्ता न २९७) (विसं २०३२) ४.४३ वर्ग किलोमिटर, नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को अध्ययन प्रतिवेदन (विसं २०३८) ५.८० वर्गकिलोमिटर, आइयुसिएनको प्रतिवेदन (विसं २०५२)४.४९ वर्ग किलोमिटर, जिल्ला विकास समिति कास्की (विसं २०५८) ४.२५ वर्ग किलोमिटर, पोखरा उपत्यका नगर विकास समिति (विसं २०६४) ५.०६ वर्ग किलोमिटर, विश्वप्रकाश लामिछानेको प्रतिवेदन (विसं २०६९) ६.५ वर्ग किलोमिटर, भूमिसुधार मन्त्रालय (विसं २०७२) ५.०७ वर्ग वर्गकिलोमिटर, पोखरा महानगरपालिकाले (विसं २०७७ ) ५.०८ वर्ग किलोमिटर र फेवातालको सीमाङ्कन प्रतिवेदन तयार पार्न गठित समिति २०७७ मा ५.७२६ वर्ग किलोमिटर छन् ।
राजपत्रमा फेवातालको चारकिल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्कपुर बीचको दम्किलो र दक्षिणमा चिसोपानी रानीवन कायम गर्ने र सिमानामा विषयमा अनुसूचीमा रहेको नक्साबमोजिम फेवातालको तल्लो तटीय क्षेत्र (ड््यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदुसमेतको क्षेत्र) वर्षायामको अधिकतम पानीको किनारा र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पार गरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै माझथुम ढिस्कोको दक्षिणी भागलाई छोई पूर्वतर्फ रहेको दलदले ढाप क्षेत्रलाई समेटी पामे घाँटीछिना मोटरबाटोसम्म कायम गर्न उल्लेख छ ।





