बागलुङ/जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा र उपप्रमुख होमनाथ शर्मा सापकोटाले आइतबार पदबहाली गरेका छन् । यसअघिका प्रमुख तथा उपप्रमुखको कार्याकाल सकिएसँगै नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले पदबहाली गरेका हुन् ।
पदबहाली कार्यक्रममा बोल्दै समन्वय प्रमुख थापाले यहाँको विकास निर्माणका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय गर्ने बताए । उनले जिल्लामा समन्वय र सहकार्यको राजनीतिक संस्कार विकास हुँदै गएको भन्दै यसले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा भूमि आयोग बागलुङका अध्यक्ष धर्मबहादुर कुँवर, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेपाली काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्य, नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापा शिखर, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापा, जनता समाजवादी पार्टीको ज्ञानु थापाले बोलेका थिए । जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत नारायण कार्कीले गरेका थिए ।





