पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्यले वर्षाका कारण आउन सक्ने बिपद्को जोखिमबाट जोगिन थप सजगता अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।
आइतबार एक अपिल जारी गर्दै मेयर आचार्यले पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण वडा नम्बर –२५ हेम्जामा केही घरमा क्षति पुगेको, पोखरा – ४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ लगायतका विभिन्न स्थानमा भासिनुका साथै ग्रामिण तथा सहरी सडक समेत अवरुद्ध हुन पुगेको भन्दै मेयर आचार्यले ती स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रस सहित सरोकारवाला संस्थासंग समेत सहकार्य गर्दै राहत उद्दार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिएका छन् ।
अपिलमा मेयर आचार्यले भनेका छन् ‘बाढी, पहिरो र डुबानलगायतका कारण उत्पन्न विपद्को यो क्षणमा वर्षादका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुनेहुँदा थप सजगता अपनाउन, पूर्वसूचना÷संकेतका आधारमा जोगिने उपायहरु खोज्न र विपत्तिमा सम्बिन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु । ’





