बागलुङ/ नेकपा एमालेका नेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङ ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ती स्वतन्त्रता’का विषयमा अन्तर संवाद गरेको छ । बागलुङ जिल्लामा रहेका एमालेका केन्द्र प्रदेश तथा जिल्ला तहका नेता र पत्रकारहरुका बीचमा अन्तर संवाद गरिएको हो । अन्तरसंवादलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद मनकुमारी केसीले मदन भण्डारीले लिएका नीति र सिद्धान्तलाई जनताले मार्गदर्शनका रुपमा लिएको बताइन् ।
‘जनताको बहुदलीय जनवादले एमाले जनताको मनमुटुमा बस्न सफल भएको हो, मदन भण्डारीको भाषण र उहाँले औलाएका सिद्धान्तका कारण एमालेप्रति जनलहर बढेको समेत छ’, केसीले भनिन्,‘अझैपनि उहाँको सिद्दान्त, विचारका कारण प्रभावितहुनेहरु धेरै छन्, अभिव्यक्ति स्वतन्ताका पक्षमा समेत भण्डारीको सिद्दान्तले सहयोग गरेको छ ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णबहादुर केसी, नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, गण्डकी प्रदेश सदस्य हरीनारायण गौतम, एमाले जिल्ला सचिव विष्णु भूषाल, प्रेस चौतारीका केन्द्रीय सदस्य तारानाथ आचार्य, प्रेस सेन्टरका केन्द्रीय सदस्य मुकेश राजभण्डारीले बोलेका थिए ।
कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष नविन शिशिर बिकको अध्यक्षता, उपाध्यक्ष सृजना पन्तको स्वागत तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।





