शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

तनहुँको दलित होमस्टेमा लेखकहरू

तनहुँको दलित होमस्टेमा लेखकहरू

गाउँका शिल्पीहरू सम्मानित ।


  • ढोरपाटन संवाददाता
  • असार २० २०७९, सोमबार

म्याग्दी/पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले तनहुँको व्यास नगरपालिका–१३, आँपस्वारास्थित दलित समुदायले चलाएको मुलुककै पहिलो सामुदायिक होमस्टे प्रवद्र्धन गर्न २६ जना स्थापित लेखकहरूलाई घुमाएको छ ।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुख–दुःख बुझ्न, पर्यटन कर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न असार १५ देखि १७ गतेसम्म आयोजना गरिएको ‘आँपस्वाँरा काव्य यात्रा–२०७९’ यात्रामा गाउँलेसँगको अन्तरक्रिया, शिल्पीहरूको सम्मान र कविता वाचन गरिएको थियो ।

आँपस्वाँरामा विश्वकर्मा समुदायका १८ घरमा होमस्टे सुविधा छ। यहाँ वि.सं. २०७२ सालदेखि होमस्टे सञ्चालन गरिएको हो । दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणीय गाउँ हो ।
ग्रामीण जीवनशैली, थानीमाई मन्दिर, हिमालय दर्शन र अर्गानिक खाना यहाँका विशेषता हुन् । गाउँबाट अन्नपूर्ण हिमसृङ्खला, दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ ।

असार १६ गते गाउँको चौतारीमा आयोजित कार्यक्रममा स्थानीय चारजना कलाकारलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा माटोका गहना बनाउने मेनुका बिक, आरनको काम गर्ने डिलबहादुर बिक, मादल बजाउन सिपालु सुन्दर बिक र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको थियो ।

गाउँघरमा बसेर सनातनी सीप संरक्षण गरी गाउँलेको सेवा गर्दै आएका भुइँमान्छेको सम्मान गरिएको हो । जीवनमा पहिलो पटक सम्मान पाउँदा उनीहरू गद्गद् भए । कार्यक्रममा कवि तथा लेखकहरूले आआफ्ना अनुभूति र रचना सुनाए । उनीहरूले आँपस्वाराबाट फर्केर आआफ्ना अनुभव मिडियामा लेख्न सुरु गरिसकेका छन् । यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेका अनुसार काव्य यात्रा सफल भयो । अब आँपस्वारा गाउँको युट्युव भिडियो, बुकलेट र ब्रोसरसहितका प्रचारात्मक सामग्री पनि उत्पादन गरिनेछ ।

यसबाट गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । ‘छुवाछुत मेटाउन आँपस्वाँराबासीको होस्टेमा हैंसे गर्दै समग्र गाउँको पर्यटन प्रवद्र्धन गर्नु हाम्रो यात्राको मुख्य उद्धेश्य हो’, भादगाउँलेले भने, ‘त्यति मात्र होइन, हामीले जीवनमा जानेर वा नजानेर गरेका विभेदको आत्मआलोचना पनि ग¥यौं ।’

काव्य यात्रामा लेखकहरू ध्रुब मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनिषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, संजिव पौडेल, तारानाथ पहारी र अमृत भादगाउँले सहभागी थिए । कन्सेप्ट नेपालले विगतमा ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ सफलतापूर्वक आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->