शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गुफा र झरना भएको ठाउँ जान नयाँ पदमार्ग

गुफा र झरना भएको ठाउँ जान नयाँ पदमार्ग


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७९, मंगलबार

बेनी, २८ असार– जंगलभित्र गुफा, सुन्दर झरना, वरपर सुन्दर दृष्यले भरिपूर्ण क्षेत्रलाई समेटेर म्याग्दीको मंगला गाउँपालिकाले पर्यटकीयस्थल स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान गरी पूर्र्वाधार विस्तार सुरू गरेको छ। मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केसम्म जाने लामो दुरीको पदमार्ग सहित ठाउँ ठाउँमा आर्कषक पर्यटकीय गन्तब बनाउन सुरू गरिएको हो ।
बेनी–दरबाङ सडकखण्डको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएर पूर्वाधार निर्माण थालेको निर्माण समितिका सचिव अशोक पौडेलले बताए ।‘पदमार्गमा रमाउन चाहने पर्यटकलाई यो सुन्दर गन्तब्य बन्ने छ,‘पदमार्ग आसपासका क्षेत्रको दृष्यले समेत लोभ्याउने छ’, सचिव पौडेलले भने । चालु आर्थिक वर्षमा मंगला गाउँपालिकाले बिनियोजन गरेको बजेटले सिमलचौरबाट पदमार्ग निर्माण थालिएको छ ।
यस वर्षको ३ लाख पचास हजार बजेटले प्रवेशविन्दुमा पर्ने सिमलचौरमा ढुङ्गा, सिमेन्ट र बालुवा प्रयोग गरेर १ सय मिटर पदमार्ग बनाइएको छ । पदमार्गको प्रवेशद्धारमैसुचनामुलक बोर्ड र प्रतिक्षालय बनाइएको छ । प्रसिद्ध प्राकृतिक उपचार स्थल तातोपानी भ्रमणमा आउने पाहुनालाई टोड्के र टोड्के पुगेका पर्यटकलाई तातोपानी भित्र्याउन यो पदमार्ग प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बेनी–दरवाङ सडकको सिमलचौर देखि नेवारेखोलाको दायाँ किनारै किनार लामोछहरा, फगामेगुफा, महादेव गुफा, पूर्णगाउँ हुदै टोड्के पुग्ने पदमार्गलाई थप बजेटको आवश्यकता रहेको स्थानीयको भनाई छ । सिमलचौर देखि दुई घण्टा पचास मिनेट उकालो बाटो हिडेपछि टोड्के पुग्न सकिन्छ । पदमार्गमा लामोछहरा, फलामे र महादेव गुफा पर्दछन् । अग्लो पहाडबाट खस्ने लामोछहरा आकर्षक र मनमोहक छ । फलामे गुफाबाट परापुर्व कालमा फलाम निकाल्ने गरिएको छ । महादेव गुफाभित्र शिवको मुर्ति लगायत विभिन्न कलात्मक दृष्य अवलोकन गर्न सकिन्छ ।
‘पर्यटकीय गन्तब्यमा पूर्वाधारलाई प्राथमिकता दिएका छौ,‘पालिकाभित्र ओझेलमा परेका पर्यटकीय क्षेत्रमा पूर्वाधारको आवश्यकता छ’, गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने।उनले पालिकाभित्रका ५ वटै वडाभित्र ओझेलमा परेका पर्यटकीयस्थलमा न्यूनतम पूर्वाधारसँगै प्रचारप्रसारमा जोड दिइएको बताए ।म्याग्दीको आर्कषक पर्यटकीय गन्तब्य टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी सिमाना जोडिएका तीनै स्थानीय तहले पूर्वाधार विस्तारको प्राथमिकता जनाएका छन् । समुन्द्री सतहदेखि २५ सय मिटर उचाईमा रहेको टोड्केमा रघुगङ्गा गाउँपालिकाले हाई अल्टिच्युड खेलमैदान,पदमार्ग, उद्यान, सडक निर्माण गरिरहेको छ ।
प्राकृतिको अनुपम उपहार,वरीपरी लालीगुराँसको जंगल, स्वर्गद्धारीको शाखा आश्रम, मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएपनि राज्यको कम प्राथमिकतामा परेकाले घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सास्ती हुने गरेको अवस्थामा आर्कषक पूर्वाधार बनाउन डिपिआरमार्फत अगाडी बढ्न स्थानीय सरकारले समेत लगानीले अहिले घुम्न जानेलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->