बेनी/ म्याग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित बैंकको शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो । गाँउपालिका अध्यक्ष भरतकुमार पुन, वडा अध्यक्ष दिलिपकुमार पुनको उपस्थितिमा १०८ वर्षका मनबहादुर राम्जाली सहित १ सय २६ जनालाई भत्ता वितरण गरिएको शाखा प्रबन्धक श्याम थापाले बताए ।गाउँपालिका अध्यक्ष पुनले वित्तिय संस्थालाई वडामै पुगेर सेवा उपलब्ध गराउन आवश्यक सहयोग गरिने बताए ।
उनले अशक्त , जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गदैं सबै ८ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न जनप्रतिनिधि तयार रहेको बताए । दोबामा १४ लाख ३२ हजार ५ सय भत्ता वितरण गरिएको थियो ।
‘हामीले जनप्रतिनिधिको उपस्थितिमा वडामै पुगेर वितरण गछौ,यो सामाजिक उत्तरदाहित्व अन्तरगत पनि पर्छ’, बैकका प्रबन्धक थापाले भने । गाउँघरबाट बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि विगतमा समेत वडामै पुगेर सेवा दिने गरिएको थापाको भनाइ छ । वडाबाट शाखासम्म आउँदा लाग्ने समय, यातायात सहित अन्य खर्च बचत भएको भन्दै बृद्धबृद्धा समेत उत्साहित भएका छन् ।
म्याग्दीका अन्य स्थानीय तहले समेत वडामै पुगेर भत्ता वितरण गर्न सम्झौता गरिएका बैंकहरुलाई ताकेता गरेपनि बैंकका कर्मचारी, वडा कर्मचारीले जनशक्ती, सुरक्षा लगायतका बाहना बनाउँदै शाखामै आएर लिन बाध्य बनाएका छन् । बेनी नगरपालिका अन्तरगतका अधिकांस वडाका बृद्धबृद्धा सदरमुकाम बेनीस्थित बैंकमा दिनभरी लाइनमा बसेर सेवा लिने गरेका छन् भने अन्य स्थानीय तहमा समेत बृद्धबृद्धालाई सास्ती हुने गरेको छ ।
भत्ताको लागि आफूले इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने नाममा रकम सम्बन्धित ब्यक्तीको हातमा नपुग्ने अवस्था भएकाले वडामै पुगेर वितरण गर्दा प्रभावकारी हुने जनप्रतिनिधिको भनाइ छ ।





