पोखरा, १५ साउन– लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजकमा वेदबहादुर गुरुङ ‘श्याम’ चुनिएका छन् । उनी कास्कीको मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघअन्तर्गत नेपाल लोकतान्त्रिक तमु संघको शनिवार पोखरामा भएको भेलाले रमहासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ । हुम तमु धिँ नेपालका अध्यक्ष हुन् ।
बिस्तारित बैठक तथा भेलाको नेकपा एमाले स्थायी समिती सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रीय समिति अध्यक्ष किरण गुरुङले उद्घाटन गरेका थिए । उनले आदिवासी आन्दोलनलाई झुक्याउने काम माओवादीले गरेको आरोप लगाए । उनले पहिलो संविधानसभाताका आदिवासी आन्दोलन बहकिएकाले अधिकार नपाइएको जिकिर पनि गरे ।
कार्यक्रममा नेकपा माले पोलिटब्युरो सदस्य एवम लोकतान्त्रिक तमु संघका वरिष्ठ उपाध्यक्ष परशुराम मेघी गुरुङले समुदायको अस्तित्व र पहिचान स्थापित गर्नु संघको उदेश्य रहेको बताए । एमाले केन्द्रीय सदस्य एवम नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइन्चार्ज पासाङ शेर्पाले एमालेमा फर्कन नजान्नेहरुको अरु पार्टीमा हरिबिजोग भएको दाबी गरे ।





