बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दक्षिण बागलुङ जानेलाई सास्ती

दक्षिण बागलुङ जानेलाई सास्ती


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७९, बुधबार

बागलुङ, १८ साउन– आइतबारदेखि नै झरी परेपछि खसेका दर्जनौं पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध छ । गत असारदेखि नै नियमित संचालनमा आउन नसकेको करिडोर बर्षातले भने पूर्ण ठप्प भएको हो ।
सामान्य खुला जस्तो देखिए पनि करिडोरमा जुनसुकै बेला पहिरो खस्ने र जोखिम हुने कारणले करिडोरको बलेवादेखि मालढुंगा खण्डमा त कुनैपनि सवारी चलेकै थिएनन् । झरी पर्न थालेपछि त यो सडक पुरै ठप्प भएको हो । करिडोरको दक्षिण खण्डमा पनि दर्जनौं पहिरो खसेकोले यात्रा कठीन भएको स्थानीयले बताए ।
पहिरोकै कारण बागलुङ कुश्मीसेरा सडक पनि मंगलबार बिहानैदेखि अबरुद्ध भयो । दिउँसो खुलाउने प्रयास भएपनि निरन्तर बग्ने लेदोले बागलुङ कुश्मीसेराको गलुवामा सडक सहज संचालन हुन नसकेको हो । रातीदेखि नै खसेका पहिरोले करिडोरको दर्जनबढी स्थानमा सडक अबरुद्ध भएको र गलुवाको पहिरोले यात्रीलाई सास्ती दिएको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताए । गत बर्ष खसेको ठूलो पहिरोमा निरन्तर लेदो खसेपछि यो सडक अबरुद्ध भएको हो । ‘लेदो सहितको पहिरो खसिरहेको छ, जोखिम मोलेर सवारी गुड्न दिएका छैनौं’, रानाले भने, ‘पहिरो पन्छाउन डोजर प्रयोग भएपनि निरन्तर बर्षातले अप्ठ्यारो भएको छ ।’
करिडोर र बागलुङ कुश्मीसेरा खण्ड अबरुद्ध हुँदा दक्षिण बागलुङको बलेवादेखि जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सम्मका यात्रीले यात्रा गर्न पाएका छैनन् । करिडोरमा भने असार लागेपछि नै नियमित सवारी गुड्न नसकेका हुन् । सडक रोकिएकै कारण दैनिक आउने दूध र तरकारी समेत ल्याउन नसकिएको हो । सडक नचलेपछि कतिपय किसानले कुश्माको बाटो घुमाएर बागलुङ बजारमा दूध ल्याएको स्थानीय व्यवसायी हिरादेवी शर्माले बताइन् ।
पहिरोले गत बर्ष तीन महिनासम्म यो सडक अबरुद्ध थियो । २ करोड लागतमा मात्रै पुननिर्माण गर्न सकिने भनिएको सडक बनाउन बागलुङ नगरपालिकाले २० लाख खर्चेर ट्रयाक खोलेको थियो । यो बर्षातमा पनि दैनिक जसो अबरुद्ध हुन लागेपछि जैमिनी नगरपालिकाले डोजरको व्यवस्थापन गरेर खुलाउने काम गरिरहेको छ ।
यो पहिरोले हिउँदमा समेत यात्रीलाई सास्ती दिएको हो । पानी नपरेको दिनमा पनि यो पहिरो निरन्तर खस्ने गरेको छ । झण्डै ५ सय मीटर लामो र १ किमी उचाइको यो पहिरोले कालीगण्डकी किनारका ४ वटा सडक ट्रयाक बिगारेको छ । दैनिक सदरमुकाम आउने कर्मचारी, बिद्यार्थी र किसानले पनि पहिरोकै कारण सास्ती खेपेका छन् । ‘आफ्नै सवारी साधन भएपनि पहिरोले गर्दा लैजान सकिएन’ बलेवास्थित एक बिद्यालयकी शिक्षकले भनिन्, ‘हरेक दिन पैदल यात्रा गर्दा हैरान परिएको छ ।’
मध्यपहाडीमा पनि सास्ती
निरन्तर बर्षातले मध्यपहाडी लोकमार्गमापनि यात्रीले सास्ती खेपेका छन् । पश्चिम गलकोट, बुर्तिवाङ लगायतका स्थानबाट आउने जाने यात्रीले सबैभन्दा बढी सास्ती खेपेको बताए । ‘अरु बेला तीन घण्टामा आउने बाटो यो पटक ७ घण्टा लाग्यो, त्यो पनि कैयौं स्थानमा फस्दै, हिलाम्मे हुँदै आयौं’ बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले भनिन्, ‘लोकमार्ग निर्माण गर्ने ठेकेदारलाई दबाव दिएर सहज यात्रा बनाउन लगाउनु पर्छ ।’ बर्षात्मा निर्माणको काम नभएपनि हिलो पन्छाउने, पानी तर्काउने र सहज यात्रा गराउन पहल गर्नुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->