पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरा रंगशालामा सोलार जडान गरिएको छ ।
पोखरा रंगशालामा हलभित्र खेलिने खेलका साथै खुल्ला मैदानमा रातमा समेत सामान्य अभ्यास गर्न मिल्ने गरी सोलार लाइट जडान गरिएको छ । पोखरा रंगशालाको बास्केटबल र भलिबल कोर्टको अभ्यास मैदानसहित अन्य हलमा समेत सोलार बत्ती जडान गरेको हो ।
यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै भलिबल, बास्केटबल, व्याडमिन्टन, टेनिस, टेबल टेनिस, मुआथाई हल र स्क्वास हलमा सोलार जडान गरेको यूवा तथा खेलकुदमन्त्री राजिव गुरुङले बताए । नवौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई सहज वातावरणमा राति अवेरसम्म पनि प्रशिक्षण गर्न मिल्ने गरी सोलार बत्ति जडान गरिएको बताउँदै नवौंको प्रारम्भिक तयारी सुरु भएको मन्त्री गुरुङले बताए । प्रदेश खेलकुद परिषदका उपाध्यक्ष तथा कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले धेरै लामो प्रयासपछि पोखरा रंगशालाको बास्केटबल कोर्टलाई सुधार गरिएको बताउँदै त्यसैको प्रयास स्वरुप सोलार वत्ति समेत जडान गरिएको बताए । ‘यो हाम्रो लामो समय देखिको प्रयास थियो ।
हामीले प्यारापिट निर्माणदेखि सोलार वत्ति जडान सम्मको कार्य सम्पन्न गरेका छौं’ उनले भने,‘अब खेलाडीलाई प्रशिक्षणसँगै अवेर सम्म पनि खेल्न मिल्ने गरी कोर्टको सुधार भएको छ ।’ मन्त्रालयले ४० लाख रुपैयाँमा ४१० वाटको सोलार जडान गरेको हो ।
खेलाडी प्रशिक्षण अझै हुन सकेन्
गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि कछुवा गतिमा तयारी थालिरहँदा खेलाडीहरु भने व्यक्तिगत रुपमा प्रतिक्षण गर्न बाध्य भइरहेका छन् । प्रदेशले खेलाडी कहिले बोलाउने भन्ने यकिन नहुँदा खेलाडीहरु आफै खेलका लागि तयारी गर्न बाध्य भएका हुन् । व्यक्तिगत रुपमै आफ्नो तयारी गरिरहेकी एक खेलाडीले प्रदेशले खेलाडी छनौट कहिले गर्ने र बन्द प्रशिक्षण गर्ने नगर्ने केही थाहा नभएको बताइन् । उनले आफुले आफ्नै तरिकाको तयारी गरिरहेको बताइन् । गण्डकीकै प्रतिनिधित्व गर्दै आइरहेकी उनले प्रदेशको तयारीबारे गुनासो पोख्दै जति तयार गर्नुपर्ने त्यो नभएको सुनाइन् ।
यस्तै काठमाडौं पुगेका एक खेलाडीले आफू प्रतियोगिता आउने समयसम्म काठमाडौंमै प्रशिक्षण गर्ने बताए । उनले प्रदेशले कहिले गर्ने भन्ने यकिन नभएका कारण आफू प्रशिक्षणका लागि काठमाडौं आएको सुनाए । सातौ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेताका साथै १३ औं साग गेममा पदक विजेता समेत रहेको उनले प्रदेशले प्रशिक्षकको व्यवस्थापन नगर्दा समस्या आएको बताए । ‘हाम्रो प्रशिक्षक नै छैन् त्यसैले हामी आफै प्रशिक्षण गर्न बाध्य भएका हौँ’, उनले भने । यी खेलाडीबाहेक हक्की लगायतका खेलमा न त पुर्वाधार छ न त प्रशिक्षक नै । अहिलेसम्म उनीहरु आफूले जे जति जान्यो उनी सिक्दै/सिकाउँदै आइरहेका छन् ।





