नेपालको पछिल्लो राजनीति वृत्तमा चर्चामा रहेको शब्दावली हो,‘ ‘राजनीतिमा युवाहरुको हस्तक्षेपकारी सहभागिता’ । बुढा पुस्ताले गरेनन्, अब युवाहरुको काँधमा देशको नेतृत्व आउनुपर्छ भन्ने नारासहित गएको स्थानीय चुनावमा होमिएका केही युवाहरुको सफलताले यो नारा अझ आकर्षक देखिएको छ । ठूला राजनीतिक दलका उम्मेदवारलाई पछाडि पार्दै काठमाडौंको मेयरमा बालेन साहको उदय तथा धरानमा हर्क साङपाङ्को विजयले अहिले धेरै युवाहरुलाई हौस्याएको छ । त्यही जगमा उभिएर धेरै युवाहरुले आउँदो संघ र प्रदेशको चुनावमा आफूलाई उम्मेदवार घोषणा गरेका छन् ।
राष्ट्रिय युवा नीति २०७२ ले ‘युवा भन्नाले १६ देखि ४० वर्षसम्मका नागरिकलाई जनाउने छ’ भनेको छ भने नेपालको कुल जनसंख्याको ४०.३ प्रतिशत हिस्सा युवाहरुको रहेको छ । यद्यपि,राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण अझै आइसकेको छैन । तर, पछिल्ला निर्वाचनहरुबाट राजनीतिमा युवाहरुको उपस्थिति भने बाक्लिँदै गएको छ ।
स्थानीय चुृनाव २०७९ बाट देशभरमा २९३ नगर प्रमुख र उपप्रमख ४६० गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ,६७४३ वडाध्यक्ष, ६७४३ महिला सदस्य, त्यति नै संख्यामा दलित महिला सदस्य र १३ हजार ४८६ जना वडा सदस्य चुनिए । स्थानीय निर्वाचन २०७९ ले कुल ३५ हजार २२१ जनप्रतिनिधि चुनिए ।
गण्डकीबाट १२ हजार विभिन्न पदमा गरि १२ हजार ९ जना जनप्रतिनिधि चुनिए । ८५ वटा पालिका रहेको गण्डकीमा १३ जना प्रमुख र ३३ जना उपप्रमुखमात्रै ४० भन्दा कम उमेरका छन् । वडाध्यक्ष र वडा सदस्यहरुमा कम उमेरका प्रतिनिधिहरुको संख्या बढी भए पनि निर्णायक तहमा भने ४० भन्दा कम उमेरकाहरुको प्रतिनिधित्व अझै हुन सकेको छैन । आशालाग्दो पक्ष के छ भने,दलित र खुला महिला सदस्य जितेकाहरु भने अधिकांश ४० भन्दा कम उमेरका छन् । उनीहरुले सदस्यमा आफूलाई प्रमाणित गरे वा राजनीतिक दलहरुले उनीहरुलाई माथिल्लो पदमा जान प्रेरित गरेमा आउँदो चुनावमा ४० भन्दा कम उमेरका जनप्रतिनिधिहरुको संख्या बढ्ने देखिन्छ ।
तर, समाजशास्त्री डा. विश्वकल्याण पराजुली अहिलेको यो युवा उपस्थितिलाई उत्साहजनक मान्दैनन् । २०४६ सालमा बहुदलको आगमनपछि राजनीतिक दलहरुले उमेर बढाएर उम्मेदवार बनाएका उठाएको प्रसङ्ग निकाल्दै उनले भने,‘ त्यो बेला राजनीतिमा सबैजसो युवा थिए, मदन भण्डारी नै आन्दोलन हाँक्दा ४० भन्दा तलको हुनुहुन्थ्यो, बीपीले क्रान्तिको नेतृत्व गर्दा पनि त्यस्तै थियो ।’
उनका अनुसार अहिलेको कांग्रेस–एमालेको राजनीतिमा ४६ सालमा लडेको र माओवादीको हकमा ५१ सालमा सशस्त्र विद्रोहमा होमिएको पुस्ता नै नेतृत्वमा रहेकाले पनि समस्या देखिएको हो । ‘राजनीतिक नेतृत्व विकास नहुनु नै नेपालको समस्या हो । पहिला अनेरास्ववियू,नेवि संघले नेता तयार गथ्र्यो’,उनले भने,‘ बूढो नेतृत्वले युवाहरुको नर्सरीलाई निषेध गरेको छ । आफू भइञ्जेल चलाउने र त्यसपछि जे त होला भन्ने सोच देखिन्छ ।’
तथ्याङ्कमा हेर्ने हो भने ११ पालिका रहेको गोरखामा एक जना प्रमुख र ६ जना उपप्रमुखमात्रै ४० वर्षभन्दा मुनिका छन् ।माओवादी केन्द्रको तर्फबाट गोरखा अजिरकोटको प्रमुख बनेका दीपक सापकोटा र उपप्रमुख अनिता भुजेल दुबै ३७ वर्षका छन् । आरुघाटमा कांग्रेसबाट उपप्रमुख कल्पना नेपाली ४० वर्षमा टेकिन् भने गोरखा नगरपालिकामा कांग्रेसबाटै उपप्रमुख विजयी मसलीमाया थोकर पुन ३५ वर्षकी छन् । चुननुब्री गाउँपालिकी उपाध्यक्ष लक्ष्मी गुरुङ ३२ वर्षमा चल्दैछन् भने धार्चेकी उपाध्यक्ष ३६ वर्षकी भइन् । उनीहरु दुबै माओवादी केन्द्रबाट विजयी भएका हुन् । पालुङटार नगरपालिकामा माओवादीबाट उपप्रमुख बनेकी बन्दना पाण्डे ३९ वर्षकी छन् ।
४ पालिका रहेको मनाङको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घले ३६ वर्षमा हिँड्दैछन् भने उपाध्यक्ष मिङ्मार ढोमा लामा उनीभन्दा एक वर्ष जेठी छन् । लोकन्द्र एमाले र मिङ्मार कांग्रेसबाट विजयी भएका हुन् । नार्फाभूमिका एमालेबाट निर्विरोध बनेकी उपाध्यक्ष मेङमर फुल्चो लामा ३८ वर्षीया हुन् भने ङिस्याङमा स्वतन्त्रबाट उपाध्यक्ष बनेका छिरिङ गुरुङ ३५ वर्षमा हिँड्दैछन् ।
४ नगरपालिका र ४ वटै गाउँपालिका रहेको लमजुङको क्लोलासोँथरकी उपाध्यक्ष गमीमाया गुरुङमात्र ४० भन्दा कम उमेरकी जनप्रतिनिधि हुन् । ३७ वर्षीया उनी एमालेको प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेकी हुन् । १० वटा स्थानीय तह रहेको तनहुँको म्याग्दे गाउँपालिका प्रमुख ३५ र उपप्रमुख ३९ वर्षीया छन् । प्रमुख शुक्र चुमान र उपाध्यक्ष दुर्गा अर्याल दुबै माओवादी केन्द्रका उम्मेदवार थिए । रिसिङमा कांग्रेसबाट उपाध्यक्ष बनेकी गिनुमाया थापा ४० मा हिँड्दैछन् । उता,भानु नगरपालिकाकी उपप्रम्ुख उमा गोतामे ३५ वर्षीया हुन् ।
११ पालिका रहेको स्याङ्जामा ४० तलका ३ जना अध्यक्ष र ६ उपाध्यक्ष रहेका छन् । अर्जुनचौपारीका अध्यक्ष प्रकाश तिवारी ३५ वर्ष भए भने उपाध्यक्ष सपना गुरुङ ३६ मा हिँड्दैछन् । दुबै जना कांग्रेसबाट उम्मेदवार बनेका हुन् । कालीगण्डकमा एमालेबाट उपाध्यक्ष बनेकी सावित्रा कोइराला ३९ वर्षकी भइन् । गल्याङमा कांग्रेसबाट उपाध्यक्ष बनेकी हेमा न्यौपाने पनि ३७ मा हिँड्दैछन् । कांग्रेसबाटै चापाकोटकी उपाध्यक्ष बनेकी इशा राना २६ वर्षकी छन् । एमालेबाट दोस्रो कार्यकाल फेदीखोलाका अध्यक्ष बनेका घनश्याम सुवेदी ३७ लागे भने उपाध्यक्ष देउकला गुरुङ पनि ३७ कै हुन् । विरुवाका अध्यक्ष खिमनारायण श्रेष्ठ ३७ वर्ष र उपाध्यक्ष इन्द्रकला थापा ३१ वर्षीया हुन् । दुबै एमालेबाट विजयी भएका हुन् ।
नवलपुरका बौदीकाली गाउँपालिकामा एमालेबाट अध्यक्ष बनेका प्रकाश ओझा ३८ र उपाध्यक्ष डिलकुमारी केसी ३४ की भइन् । बुलिङटारका अध्यक्ष दीपेन्द्र सुनारी २७ वर्षका छन् । उनी एमालेबाट विजयी भएका हुन् । मध्यविन्दुमा एमालेबाट उपाध्यक्ष विजेता पूर्णकला चौधरी ४० मा चल्दैछन् । ८ पालिका रहेको नवलपुरमा ७२ वर्षसम्मकाले पालिकाको नेतृत्व गरेका छन् ।
५ पालिका रहेको मुस्ताङको लो घेकर दामोदरकुण्डमा एमालेबाट उपाध्यक्ष बनेकी छिरिङ ल्हामो गुरुङ २९ की भइन् भने लोमान्थाङका अध्यक्ष टसी न्हर्बु गुरुङ ३८ र उपाध्यक्ष छुयुमी विष्ट गुरुङ ३७ मा चल्दैछन् । दुबै एमालेबाट विजयी भएका हुन् ।
म्याग्दीको धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुन ४० मा चल्दैछन् भने उपाध्यक्ष रेशम पुन ३६ वर्षीय हुन् । प्रेम कांग्रेस र रेशम माओवादी केन्द्रबाट विजेता बनेका हुन् । बेनी नगरपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्ष विजेता ज्योति लामिछाने ३३ वर्षकी छन् । रघुगंगा गाउँपलिकाकी उपाध्यक्ष ३६ मा चल्दैछन् । उनी कांग्रेसबाट विजयी भएकी हुन् । म्याग्दीमा एक नगरपालिकासहित ६ पालिका छन् ।
बागलुङको जैमिनीका उपाध्यक्ष हरिहर शर्मा (३८) र ढोरपाटनका उपाध्यक्ष धनबहादुर कायत (३३),तमानखोलामा दोस्रो कार्यकाल अध्यक्ष बनेका जोकलाल बुढा( ३५),उपाध्यक्ष हिराकुमारी छन्त्याल (३८),बडीगाडका उपाध्यक्ष भिमसेन बन (३७) र बरेङका अध्यक्ष कृष्णप्रसाद शर्मा (३८) ४० भन्दा कम उमेरका रहेका छन् । यीमध्ये कृष्णप्रसाद राष्ट्रिय जनमोर्चाका हुन् भने बाँकी नेपाली कांग्रेसबाट विजेता बनेका हुन् । बागलुङमा १० पालिका छन् ।
पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य (३७),उपाध्यक्ष दीपक आचार्य (३६)।,पैयुँका अध्यक्ष तोरण मल्ल ठकुरी (३९),महाशिलाकी उपाध्यक्ष धनसुवा विक (३५),मोदीका उपाध्यक्ष विमल लामिछाने (३५) र बिहादीकी उपाध्यक्ष मिना शर्मा तिवारी (३३) वर्षका भए । राजु कांग्रेस, दीपक माओवादी, धनसुवा,विमल र मिना एमालेबाट विजेता बनेका हुन् ।
पर्वतमा ७ पालिका छन् । कास्कीबाट भने दोस्रो कार्यकाल प्रमु्ख बनेका रुपा गाउँपालिकाका नवराज ओझामात्रै ३४ वर्षका हुन् । कास्कीमा ५ पालिका छन् । कास्कीमा जनप्रतिनिधिको रुपमा विजयी १ हजार ३२७ मध्ये ४० वर्षभन्दा कम उमेरका जनप्रतिनिधिहरुको संख्या १४० रहेको छ । तीमध्ये अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा कांग्रेसबाट विजेता वडाध्यक्ष आइन्दल गुरुङ (३९) , एमालेबाट ७ का अध्यक्ष भरतमान गुरुङ (३२),कांग्रेसबाट ८ का वडाध्यक्ष बनेका विजय गुरुङ( ४०),एमालेबाट वडा नम्बर ९ का अध्यक्ष विजेता रमेश गुरुङ (२६) ले युवा पुस्ताको नेतृत्व गर्छन् भने पोखराको हकमा वडा नम्बर ३ का देवकृष्ण पराजुली(४०),१२ का सन्तोष बास्तोल (३४),१३ का किरण बराल( ३७),२१का दीपक सुवेदी (४०) र २५ का वडाध्यक्ष नरेन्द्र थापा (३५) मात्र ४० भन्दा कम उमेरका वडाध्यक्ष हुन् । रुपा गाँउपालिका वडा नम्बर १ बाट दलित महिला सदस्य बनेकी सुस्मिता विक सबैभन्दा कान्छी अर्थात् २२ वर्षीया जनप्रतिनिधि हुन् ।
उनी कांग्रेसको प्रतिनिधित्व गर्दै सदस्य चुनिएकी हुन् । मादी २ की दलित महिला सदस्य हिमा विक र १० की महिला सदस्य सुस्मिता गुरुङ २५ वर्षीया जनप्रतिनिधि बन्दा रुपा ७ का वडा सदस्य दामोदर भट्टराई (६२) सबैभन्दा पाका उमेरका प्रतिनिधि हुन् ।
समाजशास्त्री डा. पराजुलीका अनुसार पछिल्लो समय युवाहरुले राजनीतिमा हस्तक्षेप भने सुरु गरेका छन् । ‘अहिले युवाहरुले विद्रोह सुरु गरेको अवस्था छ, उनीहरुले सिस्टममा दोष देखाएका छैनन्,नेतृत्वप्रतिको असन्तुष्टि जाहेर गरेका छन्’,उनले भने,‘ त्यो कुरा मुख्य राजनीतिक दलमा रहेका युवाहरुले पनि मनन गनुपर्छ । दलहरुको एकाधिकारले पनि नागरिकमा निराशा थपेको छ, असफल नेतृत्व नै दोहोरिँदा समस्या आएको छ । यसमा परिवर्तन जरुरी छ ।’





