२०७६ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)मा आरोहण गरेका निर्मल पूर्जाले दोस्रो आरोहण पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने सातौं अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण गरेका छन्। आफ्नै जिल्लाका दुई ठूला हिमालको आरोहणबाट विश्वभरका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका विश्वविख्यात आरोहीले पूर्जा अहिले निकै ब्यस्त छन् ।
६ महिना ६ दिनमा दुर्लभ किर्तीमानी कायम गरेका पूर्जाले तीनबर्षको अवधिमा पटक–पटक आफ्नै किर्तीमानी तोडेका छन्। म्याग्दीको अन्नपूर्ण–३ दानामा जन्मिएका पूर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व कीर्तिमान राख्ने अभियानलाई चीनको तिब्वतमा अवस्थित विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) मा पुगेर अन्त्य गरेका थिए । आरोही पूर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरे ।आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै नै पूर्जाको नाममा छ ।
करिब ८ वर्ष लागेर राखिएको रेकर्डलाई पूर्जाले ७ महिनामै पूरा गरेपछि विश्वभरका आरोहीले नै आश्र्चयजनक रेकर्ड भनेर प्रतिक्रिया दिएका थिए । बेलायती सेनामा मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका पूर्जाको आरोहणको अभियानलाई प्रोजेक्ट पोसीबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाएका थिए । साना ठूला हिमाल आरोहणमा पूर्जाले अलपत्र परेका, आरोहणकै क्रममा ज्यान गुमाएकाहरुलाई समेत उद्धार गर्ने गरेका छन् । उनी सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान दिएको परिवारका सदस्य समेत भएकाले सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय छन् । विश्वभरका हिमाल उनलाई सामान्य पहाडको यात्रा जस्तै भएको छ । हिमाल आरोहणको संख्या अहिले गन्न नसकिने भएको छ । विश्व किर्तीमानीपछि विश्वभरका नयाँ र पूराना आरोहीलाई पूर्जाले प्रशिक्षणदेखि आरोहणसम्म सघाउने गरेका छन् ।
अतिरिक्त अक्सिजनबिनै आरोहण
अग्ला हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पुर्जालाई सघाउने शेर्पाहरूको तयारीसमेत अन्य आरोहीको भन्दा फरक हुन्छ। पुर्जा हिमालमा पाइला टेक्दाबित्तिकै चुचुरोतर्फ लम्किन्छन् । साना–ठूला हिमालको आरोहणमा सहयोगी शेर्पाहरूसँगै भ¥याङ, डोरी, अंकुश लिएर आरोहणमा पुर्जासँगै निस्किने धेरै आरोहीले उनको रफ्तारलाई पच्छ्याउन सक्दैनन् । अग्ला चुचुरामा रमाउने आरोही पिठ्युँको झोलामा अक्सिजन सिलिन्डर बोक्छन् । अतिरिक्त अक्सिजनकै अभावमा धेरै आरोहीले बीच बाटोमै ज्यान गुमाएका छन् । तर, विश्वकै सातौं अग्लो धौलागिरि हिमालको आरोहणमा निस्किएका पुर्जासँग अतिरिक्त अक्सिजन साथमा थिएन।
किलर हिमालमा दुर्लभ किर्तीमानी
पर्वतारोहणको क्षेत्रमा विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्डलेसमेत उनको विश्वभर थप चर्चा भयो । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही बनेका पूर्जाको सहयोगमा धेरै आरोहीले शिखर चुमेका छन् । विश्वकै अग्लो सगरमाथापछि विश्वकै अग्लो ‘केटु’ आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । ‘विन्टर सिजन’ मा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् । जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा आरोहण रच्नेका पूर्जाको हिमाल यात्रा झन सहज भएको छ । विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा समेत चर्चा गर्ने गरेका छन् ।यो हिमालमा अहिलेसम्म जम्मा ३ सय ६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यान गुमाइसकेका छन् ।
पुर्जाको यात्राबारे डकुमेन्ट्री
८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेर कीर्तिमान बनाएका पूर्जाको बारेमा तयार गरिएको अमेरिकी र बेलायती फिल्ममेकरद्वारा निर्मित ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) प्रदर्शन समेत गरेको थियो । पूर्जाले विश्वका १ सय ९१ देशमा रहेका २१ करोड मानिसहरु नेटफ्ल्क्सिका ‘पेड–मेम्बर’ रहेको अवस्थामा उनको डकुमेन्ट्री निकै चर्चा भयो । एकैसाथ ३१ वटा भाषामा देखाइन थालिएको यो डकुमेन्ट्रीले नेपालको साहसिक पर्यटनमा सहयोग पुगेको पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । ३८ वर्षअघि धौलागिरि हिमालको फेदीमा जन्मे, हुर्केका पूर्जा नाममा करिब आधादजर्न किर्तिमानी छन् । धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका अनि खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शनले थप चर्चा भयो । विश्वभरका भिआइपीको नजरमा समेत परेका पूर्जालाई बलिउड, हलिउडका कलाकारहरुले समेत भेटेका छन् । पूर्जाको आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबलसमेत सार्वजनिक भएको छ। निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूत हुन् ।
प्रतिष्ठित अवार्ड ‘एमबीई’
पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ मा सम्मान सूचीमा परेका पूर्जालाई वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको थियो । पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्धार गर्नुका सन् २०१७ मा ८ हजारभन्दा माथिका हिमाल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेपछि उत्कृष्ट पर्वतारोहीको रुपमा उनलाई सम्मान गरिएको हो ‘निम्स’लाई बेलायतको इष्टली बरो काउन्सिलले उच्च सम्मान प्रदान गरेको थियो । यो बाहेक संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा कीर्तिमय राष्ट्रदिप पदकबाट विभुषित समेत गरेकी थिईन् भने दर्जनभन्दा धेरै ठूला र विभिन्न संघसंस्थाबाट समेत सम्मानित भएका छन् ।
को हुन् पुर्जा ?
बाल्यकालनमा समेत गाउँघरमा अग्ला रुख चढ्ने गरेका पूर्जाले आधारभुत तहको शिक्षा चितवनमा अध्ययन गरेका थिए । गाउँ नजिकै रहेका ठूला पहाडमा डोरीको सहायतामा उक्लिने गरेका पूर्जाले बाल्यकालदेखि नै दौड सहितका कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका थिए ।सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो गरेका थिए ।
उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन् अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए ।
सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।बेलायती सैनिकको जागिरबाट अवकाश पाएका ३८ वर्षीय पुर्जाले अबको समय नेपालको पर्यटन क्षेत्रको विकासमा खर्चिने बताएका छन् ।





