राजनीतिक व्यक्तिहरूको बारेमा टिप्पणी गर्नु जाँगर लाग्ने विषय होइन । धेरै विद्धानहरूले यो रिस्क लिन चाहदैनन् । आम मानिसहरूको धारणा पनि नेताहरूप्रति सकारात्मकभन्दा नकारात्मक नै बढी छ । तर, प्रदीप गिरि त्यसका अपवाद हुन् । प्रदीप गिरीलाई नेताको रूपमा लिँदा उनीप्रतिको बुझाइ अपुरो हुन्छ । वास्तवमा उनी समाजवादी चिन्तक थिए ।
२०७४ सालको आम निर्वाचनपछि बनेको संसद्ले नेपालमा संसदीय व्यवस्थाको आभाष दिएन । विधेयकभन्दा अध्यादेशलाई माया गर्ने सरकार, संसदको फेस गर्न नचाहने प्रधानमन्त्री र मन्त्रीरू, मिनि संसद पनि मानिने संसदीय समितिहरूको निस्कृयता आदिले गर्दा संसद सधै कार्यपालिकाको छाँया मात्र बन्यो । संसदको मर्यादामा रहेर जनजीविका, लोकतन्त्र, सुशासनजस्ता विषयहरूमा छलफल हुनुको सट्टा संसद सधै गाली–गलौज, झै–झगडा र सत्ता षड्यन्त्रको केन्द्र बन्यो । त्यस्तो संसदको प्राण सीमित राजनीतिज्ञहरूले धानेका थिए, जसको नेतृत्व गिरिले गरेका थिए। हरेक पटक उनी संसदमा बोल्दा एउटा तरंग आउथ्यो, अरुदिन हाजिर गरि भत्ता पकाएर निस्कने सांसदहरू पनि उनी बोलेपछि मात्र निस्किन्थे ।
नेपालमा राजनीतिसँग जोडिएका व्यक्तिहरूप्रतिको आम धारणा नकारात्मक छ । गिरि ती थोरै व्यक्तिहरूमा पर्दछन्, जसले समाजको हरेक तह र तप्काको उत्तिकै माया पाए । चाहे बालक, चाहे बृद्ध, चाहे हिमाली, चाहे मधेसी, चाहे नेपाली चाहे विदेशी, आफ्नै दलका कार्यकर्ता हुन् या फरक दलका कार्यकर्ता, उनी सबैका प्रियपात्र थिए । विचारको आधारमा उनी नेपाली समाजका शिखर पुरुष र एउटा अटल वृक्ष थिए । उनी यथास्थितिको विरोधी र परिवर्तनका पक्षधर थिए । चाहे माओवादी विद्रोह वा मधेस आन्दोलन, यी दुवैको वैचारिक पक्षमाथि उनको समर्थन थियो । यी दुवै आन्दोलनको अवतरणको लागि उनले सहजकारी भूमिका निर्वाह गरेका थिए ।
आफ्नै दलका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला माओवादीप्रति आक्रमक हुँदा पनि उनले यो राजनीतिक समस्या हो र राजनीतिक रूपमा समाधान हुनुपर्दछ भन्ने आवाज उठाए । मधेस आन्दोलनबाट अचानक नेतृत्वमा आएका उपेन्द्र यादवको राष्ट्रिय अन्तर्राष्ट्रिय स्वीकार्यता नहुँदा उनलाई भारत लगी उच्चस्तरका नेताहरूसँग चिनजान र सम्बन्ध विस्तारको लागि सहजीकरण समेत गरिदिए । मधेसी, महिला, दलित तथा सीमान्तकृत नागरिकहरूको अधिकारको उनी सधै पक्षपाति रहे। युवाहरूप्रति उनको अगाध विश्वास थियो । कांग्रेसमा गगन थापा र विश्वप्रकाशहरू नेतृत्वमा आउनुपर्दछ भन्ने उनीसँग घनश्याम भुसाल, राम कार्कीजस्ता अन्य दलका युवा तथा वैचारिक नेताहरूको समेत उत्तिकै सामिप्यता थियो ।
प्रदीप गिरि कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सानिध्यमा हुर्केको हुँदा समाजवादी विचारधाराबाट प्रभावित थिए । जयप्रकाश नारायण र राममोहन लोहियाजस्ता भारतीय समाजवादीहरूसँग उनको संगत थियो । बीपी किसुनजी र गणेशमानलाई समेत सल्लाह सुझाव दिनसक्ने क्षमता उनले राख्दथे । २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसको पूँजीवादप्रतिको आशक्ति उनलाई मन परेको थिएन । एकपटक महाधिवेशनमै गिरिजाप्रसादसँग झगडा गरे रे ! ‘तपार्इंको पार्टीको आफ्नै नीति, सिद्धान्त, विचार, दृष्टिकोण छ कि रामशरण र महेश आचार्यले जे जे भन्छन् त्यही पारित गर्नु हुन्छ ?’
व्यक्तिगत जीवनमा पनि उनी समाजवादी थिए । आफ्नो गाउँ वस्तीपुरमा उनले अश्रम निर्माण गरेका थिए । गान्धीको प्रभावले हुनु पर्दछ, आफ्नो भान्छेको रूपमा उनले सधै दलित, मुस्लिम वा अन्य पिछडिएको परिवारको व्यक्ति राख्दथे । ४ पटक संसदमा पुगेका उनले उपचारवापत् सरकारी कोषबाट कहिल्यै रकम लिएनन् । शीर्षस्त नेताहरूले अनुरोध गर्दा पनि सरकारमा मन्त्री या पार्टीमा पदाधिकारी बसेनन् । लाभको पदले मानिसलाई लोभी बनाउँछ भन्ने उनको मान्यता साथै यी जिम्मेवारीहरूले व्यक्तिको स्वतन्त्रतालाई संकुचित बनाउँछ भन्ने उनी ठान्दथे । उनी मनमौजी थिए– वास्तवमा एउटा फकिर ।
प्रदीप गिरि पूर्वीय दर्शन विश्व साहित्य र समसामयिक मामलाका सिद्धहस्त ज्ञाता थिए । वेद, उपनिषद, गीता, महाभारत आदिका पात्र र विषयमाथि उनी रचनात्मक बहस गर्दथे । समाजवाद र माक्र्सवादको गहिरो ज्ञान थियो । उनीसँग विषयवस्तुको जति गहिरो ज्ञान थियो, उत्तिकै राम्रो प्रवचन शिल्प पनि थियो । त्यसैले त उनी नेपाल अनि भारतमा हुने महत्वपूर्ण गोष्ठी, सम्मेलन, साहित्यिक कार्यक्रम आदिमा वक्ताको रूपमा आमन्त्रित हुन्थे । माक्र्सवादको ऐतिहासिक विकास क्रम सैद्धान्तिक आधार र वर्तमान अवस्थाबारे आधिकारिक टिप्पणी गर्ने क्षमता राख्थे । कम्युनिष्ट पार्टीका प्रशिक्षणहरू, माक्र्सका शतवार्षिकी जस्ता कार्यक्रममा उनी मुख्य वक्ताको रूपमा रहन्थे । पछिल्ला दिनहरूमा उनी लोकप्रियता वादी राजनीतिले विचार र सिद्धान्तलाई ओझेलमा पार्दैछ भन्नेमा चिन्तित थिए ।
वैचारिक रूपमा प्रभावशाली र लोभलाग्दो लोकप्रियता हुँदाहुँदै पनि प्रदीप गिरिसँग कांग्रेसमा आफ्नो कुनै गुट थिएन र निरन्तर अनुयायीहरू पनि थिएन, किनकि उनीसँग तिनीहरूको लागि दिन ‘ज्ञान’ बाहेक केही थिएन ।
राजनीति फोहरी खेल होइन ,जनता र समाजको सेवा हो भन्ने प्रेरणा वर्तमान पुस्ताले उनीबाट लिनु पर्दछ । मरे पछि सबै गुणगान गाउने नेपाली समाजको चरित्र नै हो । उनी बाँचुन्जेल देशले होइन कि उनकै दल नेपाली कांग्रेसले पनि आफैभित्र भएको वीणालाई चिन्न सकेन । अब पत्रपत्रिका र मेडियामा गुणगानको वाणी चलाउनुभन्दा पनि उनले देखाएको इमान्दारिता, सिद्धान्त निष्ठता र समाजवादको मार्ग अनुशरण गर्नु नै प्रदीप गिरिप्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।





