पोखरा/ पहिरनमा प्रायः सेतो दौरा सुरुवाल । ठाडो बोली तर ठूला हात । ‘सस्तो तर भान्छामा चाहिने सामान थप्दै उनी भन्थे,‘ ल यत्ति सित्तैमा !’ ग्राहक मख्ख पर्थे ।
तोरीको तेलदेखि घ्यूसम्म, मसलादेखि चिनीसम्म किन्न उनीकहाँ धाउनेको कमी थिएन । चामल त उनको ब्राण्ड नै थियो । पोखरामा पाइने जेठोबूढो,पहेँलेदेखि अन्यत्र नपाइने मन्सरासम्मको चामल उनीकहाँ पाइन्थ्यो ÷पाइन्छ । चाडबाडको बेलामा त ठेलम्ठेल भीड हुन्थ्यो । उनी यदाकदा ग्राहलाई धपाउँथे पनि । पोखराको सिमलचौरमा रहेको एउटा दुकानमा प्रायः यस्तै देखिन्थ्यो । उनी अर्थात्, सेते साहू । नागरिकताका सेतलाल विजुक्छे । पोखराका पुराना यी व्यवसायी अस्ताएका छन् । सोमबार ८१ वर्षको उमेरमा उनको निधन भएको छ ।
सेतेमान संघर्षशील थिए । भनिन्थ्यो,‘उनी मुस्किलले घरबाट निक्कन्थे । सेते साूह महेन्द्रपुल नगएकै कयौं वर्ष भयो रे !’,मान्छेहरु यस्तै भन्थे । साँच्चिकै उनी सधैं दुकानमै देखिन्थे । कहिले धान बोकेर आउने महिलाहरुसँग मोलमोलाइ गरिरहेका त कहिले तेल पेल्ने मेसिननेर बसेर कामदारलाई अह्राइरहेका ! धेरैले.उनको पसललाई ‘आलु माइलाको पसल’ र चोकलाई आलु माइला चोकको रुपमा चिन्थे । अहिलेसम्म पनि सो चोक आलु माइला चोककै नामले प्रख्यात छ ।
खासमा आलु माइलाको परिचय सेतेलालका पिता रत्नमानले बनाएका हुन् । २०१६÷२०१७ रत्नमान आलु र खाद्यान्नको व्यापार गर्थे । दुकानमा आलु पाइने भएकाले सबैले उनलाई आलु माइला भन्न थाले । पिताको निधनपछि छोरा सेतेलालले पिताको बिँडो थामे । अरु दाजुभाइले पनि त्यस्तै व्यापार गर्थे तर उनी बढी सफल भए ।
कालान्तरमा धान र च्यूरा कुट्ने तोरी पेल्ने मिल पनि राखे । ‘उहाँसँग तडकभडक थिएन, मेहनत बढी थियो, स्थानीयस्तरमा पाइने सामानको ब्राण्डिङ उहाँको विशेषता हो’,स्थानीय समाजसेवी वीरेन्द्रनारायण विजुक्छेले भने,‘ खाद्यान्न र आलु, लोकल चामल उहाँको पसलको विशेषता हो ।’ उनीकहाँ कास्कीकोटदेखि बेगनासकोटसम्मका ग्राहक सामान किन्न आउँथे ।
भतिजा विश्व विजुक्छेका अनुसार सेतलालले आफ्नो पिताको नामबाटै बढी ख्याति कमाए । त्यो नामलाई चर्चित बनाए । अहिले सेतेलालका छोराहरुले आलु माइला ब्राण्डलाई अझ अगाडि बढाएका छन् । उनीहरुले आलु माइला टे«डिङको नाममा पिताले गरेको व्यवासायलाई आधुनिकीकरण गरेका छन् ।
ब्राण्डलाई जिवित राखेका छन् । सधैं व्यस्त रहने सेतेलालले सामाजिक कार्यमा पनि सक्दो सहयोग गरेको विश्वको बुझाइ छ । उनका अनुसार सेतेलालजनप्रिय बहुमुखी क्याम्पसको सम्मानार्थ संरक्षक,जाल्पादेवी तायः मचा समितिको सल्लाहकारलगायत विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल थिए । सेतेलालका ४ छोरा र एक छोरी रहेका छन् । उनको सोमबार नै अन्त्येष्टि गरिएको छ । अब आलु माइला चोकमा सेते साहू देख्न नपाइने भएको छ ।





