बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

माघदेखि साउनसम्म एटिएम चोरीका ७ घटना

माघदेखि साउनसम्म एटिएम चोरीका ७ घटना

बुलेट चोरेर एटिएम फोरे, चोरीको पैसाले अर्को बाइक किने, सीमानामा पक्राउ परे ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

पोखरा/ पछिल्लो पाँच महिनामा कास्कीमा चोरहरुको टार्गेटमा एटिएम बुथ पर्ने गरेका छन । माघको १ देखि साउन २० गतेसम्म कास्की प्रहरीले एटिएम चोरी र चोरीका प्रयासका पाँच घटनामा संलग्नलाई पक्राउ गरेको छ ।

प्रहरी रिपोर्ट अनुसार यी सबै घटना रातको ११ बजेपछि ३ बजेभित्रको बिचमा भएका छन भने टार्गेटमा परेका कुनै पनि एटिएम बुथमा सुरक्षागार्ड छैन । सेन्ट्रल सर्भिलेन्समार्फत जानकारी नभएकै कारण पोखरा २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटिएमबाट १४ लाख ७१ हजार पाँच सय रुपैयाँ चोरी नै भयो । यसमा संलग्नलाई कास्की प्रहरीले हालै सार्वजनिक गरेको छ । एटिएम फोडेर चोरी गर्ने अन्य घटनाहरुमा भने नगदै चोरी भएको चाहिँ छैन ।

तर, एनएमबीको एटिएम फोडेर फरार संदिग्ध व्यक्तिलाई कास्की प्रहरीले महिनादिनपछि पक्राउ गरेको छ । कास्की प्रहरीले एनएमबी बैंकमा चोरी भएको चाहिँ अर्को दिन बिहानमात्रै थाहा पाएको हो । पोखरा महानगरपालिका २६ अर्घौँचोकमा रहेको एनएमबीको उक्त एटिएम बुथमा सुरक्षागार्ड त थिएनन नै, सेन्ट्रल सर्भिलेन्ससँग कनेक्सन पनि थिएन । अन्यथा, अन्य प्राय एटिएम बुथमा तोडफोड गर्नासाथ बैैंक सेक्युरिटी सिस्टमको अलार्म बज्ने हुन्छ ।यो एटिएम मेसिन भेन्डरको प्रतिवेदनमा बैंकको एटिएम मेसिनको चाबी पनि पूणरुपमा बन्द नभएको प्रहरीले जनाएको छ ।

घटना हो, साउन ३ गतेको । १ः४२ मा एनएमबीमा छिर्छ, निस्किन्छ, फेरि १ः४५ मा छिर्छन र चोरी गर्छन । त्यसपछि विचारीचौतारामा पुग्छन, क्यासकेट फुटाएर नगद झिकेर सर्टभित्र राख्छन । त्यसपछि चोरीको बुलेट बाइक लिएर पोखरा २७ मा रहेको तालचोकमा पुग्छन ।त्यहाँ पनि उनले एटिएम खुलै देख्छन, भित्र छिर्छन र चोरीको प्रयास गर्छन । तर, सेन्ट्रल सर्भिलेन्समार्फत प्रहरीमा खबर आउँछ । प्रहरी १० मिनेटमा त्यहाँ पुग्दा उनी भागिसकेका हुन्छन । प्रहरीले चारैतिर खोजीकार्य बढाउँछ, थाहा पाएपछि उनी बाइक नै छाडेर भाग्छन ।
त्यतिखेरसम्म एनएमबी बैंकको चोरी थाहा हुँदैन ।

बाइक बरामद गरेपछि प्रहरीले त्यसको आधारमा सनाखत गर्न खोज्छ । त्यही क्रममा एनएमबीको एटिएमबाट चोरी भएको खबर आउँछ । एनएमबी र एनआइसीको एटिएममा छिरेका व्यक्ति एउटै रहेको भिडियो सिसीटिभी फुटेजमा देखियो । बाइकधनीले सोही रात आफ्नो बाइक चोरी भएको प्रहरीलाई बताए । सुरुमा बनावटी जस्तो देखिएतापनि सिसिटिभी फुटेजमार्फत बाइक चोरी भएको प्रष्ट भयो ।
र, बल्ल प्रहरीले ती चोरको खोजीकार्य अगाडि बढायो । साउन ३ गतेको उक्त घटनाका दोषीलाई प्रहरीले भदौको ५ गते सार्वजनिक गरेको छ ।

उनी थिए, पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई हाल पोखरा ३० डुँडाको मुख बस्दै आएका २१ वर्षिय अनिस तामाङ । प्रहरीसँगको प्रारम्भिक बयानको क्रममा उनले मदिरा पिएर तालचोकका विजय गौतमको बाइक चोरी गरे । कोलेफाँट अष्टचोकमा भेटिएको त्यही बाइक लिएर उनले सुरुमा एनएमबीको एटिएमबाट १४ लाख ७५ हजार रुपैयाँ चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।घटना त्यतिमा सीमित छैन । बाटोमा नै बाइक छाडेर हिँडेपछि उनले भोलिपल्टै तीनलाख रुपैयाँमा अर्को ड्युक बाइक खरिद गरेका थिए ।

कक्षा ९ देखि पोखराको शिशुवास्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा अध्ययन गरेका तामाङले पछिल्लो ६/७ महिनायता सिसुवामा नै एक हार्डवयर पसलमा काम गर्ने गरेका थिए । २१ वर्षका उनको विगतको छविबारे पनि अध्ययन भइरहेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनलाई गत भदौ २ गते बिहीबार भारततर्फ जाँदै गरेको अवस्थामा रुपन्देही बेलहियाबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी निरिक्षक अजय केसीले जानकारी दिए ।
पक्राउ परेका तामाङको हाउभाउमा परिवर्तन आएको र नयाँ मोटरसाइकल किनेको देखेपछि उनीमाथि शंका गरिएको थियो । दिदीकोमा जान्छु भनेका तामाङ लामो समयदेखि घरमा गएका थिएनन । प्रहरी स्रोतका अनुसार सोही नजिकका छिमेकीले उनमा आएको परिवर्तनमा शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । उनले चोरी गरेको रकम कहाँ कसरी खर्च गरेभन्ने विषयमा थप अनुसन्धान भइराखेको तिवारीले बताए

प्रहरीले उनको साथबाट चोरी गर्दा प्रयोग गरेको कपडा, आइफोन १, स्मार्टफोन १, १९ हजार रुपैयाँ र विभिन्न लत्ताकपडा र झोला बरामद गरेको छ । तामाङलाई चोरी तथा डाँका सम्बन्धि कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->