प्यारो छोरा हिम्मतमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना
छोरा हिम्मतलाई पठन संस्कृतिमा लाग्नका लागि पत्रका श्रृङखलाहरु धेरै नै लेखेको छु । पत्रमा लेखेको शब्दहरुलाई एक पटक भएपनि मनन् गर्ने हो भने अध्ययन गर्ने बानीको विकास हुने थियो । फेरी आमा रुपक देवी र दिदी रुयासालाई लेखेको पत्रको आशय पनि छोरा हिम्मत असल र ज्ञानी बनोस् भन्ने नै हो । पढ्नका लागि सरिक भैरहने बानीको विकास होस् । गृहकार्य सिद्धिएपछि र परिक्षा सकिएपछि खाली मोबाइलमा झुम्मिने बानीमा ह्रास भै पठन संस्कृतिमा विकास होस् भन्नका लागि बाह्य पुस्तकहरु समेत अध्ययन गर्ने बानीको विकास गर्नमा कन्जुस्याइ गर्नु हुँदैन । पत्र लेख्दा मैले थप रोचक र खोजमुलक होस भनेर सन्दर्भ सामाग्रीहरुको खोजतलास गरेर स्वअध्ययनलाई बढावा दिएको छु । ताकी छोराछोरीमा सकारात्मक सोचको प्रभाव परोस् र उत्प्रेरणामुलक सन्देश विकास होस् भन्नका लागि थोर बहुत अभ्यास रुपी लगानी गरेको छु ।
शिक्षकले बालबालिकालाई शिक्षण विधिका सुरुवातकर्ताहरुका बारेमा जानकारी लिन सकिन्छ । आमा शिक्षक भएको नाताले छोराछोरीहरुले पनि शिक्षण विधिका बारेमा जानकारी लिनु पर्दछ । निगमन विधिका सुरुवातकर्ता अरस्तु, छलफल विधिका सुरुवातकर्ता प्लेटो, प्रश्नोत्तर विधिको शुक्ररातले गरेका थिए । त्यसैगरी अवलोकन विधि सिम्पसनले, प्रदर्शन विधि सिमन ए.न्यापले, आगमन विधि फ्राङसिस बेकनले, हयुरिष्टिक वा खोज अन्वेषण विधि आर्म स्ट्रागले, प्रयोगात्मक विधि विलियम बुन्टले, समस्या समाधान विधि जर्ज पोल्याले, खेल विधि काल्डवेल कुकले, ब्रेललिपी पद्धती लुइ ब्रेलले सुरुवातकर्ता रहेका छन् । अर्कोतिर मूल्यांकन विधि जे. एम. राइसले, घटना अध्ययन विधि फ्रेडरिक लि प्लेले, भ्रमण विधि पेस्तोलोजीले, सुक्ष्म शिक्षण विधि रावर्टले, मन्टेशवरी विधि मारिया मन्टेश्वरीले, परियोजना विधि किल प्याटिकले र परियोजनामा आधारित विधि जोन डिवेलसले गरेका थिए ।
शिक्षकको परिभाषा र अर्थ आ–आफनै तरिकाले गरेका पाउन सकिन्छ । शिक्षकलाई हितैषी साथीको रुपमा स्वीकार गर्नुपर्ने आवश्यकता महसुस भएको छ । नेपाली बृहत शब्दकोष अनुसार शिक्षक शब्दको अर्थ शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टरलाई बुझिन्छ । शिक्षक शब्दमा प्रयोग भएको अक्षर शि ले शिखरमा लैजाने मान्छे, क्ष ले क्षमा गर्ने व्यक्ति र क ले कमजोरी दूर गर्ने व्यक्तिलाई पनि जनाउँन सकिन्छ । गुरु शब्दले समान अर्थ राख्छ । गुरु को गु ले अन्धकार र रु ले तेजलाई जनाउँछ । ज्ञानरुपी प्रकाश दिएर अन्धकारलाई हटाउने व्यक्ति नै गुरु मानिन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०६३ ले शिक्षक सूचना प्रवाहकर्ता, प्रवर्धनकर्ता, विद्यार्थीसँग सहकार्य गरी सिक्ने र सिकाई संस्कृतीको खुल्ला वातावरण सिर्जना गर्ने व्यक्ति हो भनी परिभाषित गरेको छ । त्यसैगरी आधारभुत शिक्षा
पाठयक्रम २०६९ ले भने जस्तै सिकाई सहजीकरण प्रक्रियाको सहजकर्ता, उत्प्रेरक, प्रवर्तक र खोजकर्ता हो या शिक्षा ऐन, २०२८ अनुसार शिक्षक विद्यालयको अध्यापक हो ।
जोन एडम्सले शिक्षकलाई मानवको निर्माता मानेका छन् भने वाइल्डले बच्चालाई खुशी राख्ने व्यक्ति, रुसोले विद्यार्थीको पन्ना पन्ना पढ्ने व्यक्तिको रुपमा हेरेका छन् । प्लेटोले शिक्षकले विद्यार्थीको प्रकृती थाहा पाउने व्यक्ति हुन भनेका छन् । प्रकृतिबादले बालकको अवलोकनकर्ता र मञ्च निर्माता मात्र हो भने यर्थाथबादले कक्षा कोठामा वास्तविक ज्ञान प्रदान गर्ने व्यक्ति, आदर्शबादले विचार खन्याउन सक्ने व्यक्ति, प्रयोगवादले समस्या समाधानको परामर्शदाता, अस्तित्ववादले विद्यार्थीहरुलाई आत्म अनुभुति प्राप्तिका कार्यमा सहयोग पु¥याउने, प्रतिकात्मकबादले चेतना र अभिप्रायमा केन्द्रित हुने व्यक्ति, निर्माणवादले सिकारुलाई सिर्जनशील बनाउने व्यक्तिलाई शिक्षक भनिएको छ । शिक्षकको परिभाषा र महत्व आ–आफनो स्थानमा अहम रहेको छ ।
अत्याधुनिक सूचनार सञ्चार विज्ञान र प्रविधिको विकाससंगै एप्पलको सिरी, फेसबुकको मेसेन्जर बुट, अमेजनको एलेक्शा आदिले शिक्षकको भुमिका निर्धारण गरिदिएको छ । अत्याधुनिक प्रविधिहरु कम्प्यूटर, मोबाइल, रोबोट, ल्यापटप, ट्याबलेट । पाल्मटप, फ्याबलेट, ओएचपी स्मार्टबोर्ड जस्ता मल्टीमिडियाहरु बालबालिकाको आवश्यकता, चाहना र रुचिहरु पूरा गर्ने साधन बनेर आउँदा शिक्षकको परिभाषामा जटिलता पुगेको छ । गुगल, विकीपिडिया, युट्युब, एप्स टेक्स्ट बनेर आउँदा इन्टरनेट बालकको मनोसामाजिक ब्रमाण्ड बनेर आउँदा शिक्षक अब को हो भन्ने कुरा समयले निर्धारण गर्ने भो । भाइबर, इमो, हवाट्सअफ, फेसबुक, लाइभ च्याट, ट्वीटर, जुम मिटिङ आदि भर्चुअल लर्निङग, सुपररियालिटी, भिडियो एजुकेशन जस्ता पछिल्ला सिकाइ शैली, विधि र पद्धतीले शिक्षक आफै दुविधामा परेको हो कि भन्ने र जिनोथेरापी, डिजाइनर शिशु, कृत्रिम बौद्धिकताले शिक्षक को हो भन्ने छिनोफानो गर्ने भएको छ ।
सिकाइका लागि प्ररेणा दिने, बाटो देखाउने, निर्देशित गर्ने, हौसला प्रदान गर्ने र ज्ञानलाई माया गर्ने शिक्षक हो । आफु जलेर अरुलाई उज्यालो बनाउने बत्तिसँग शिक्षकलाई तुलना गरिन्छ । कहिले नदिमा डुङगा खियाउने माझी जस्तै शिक्षक हो र प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाता नै शिक्षक हो भनिन्छ ।
हवाइटहेडले भने जस्तै सम्पुर्ण कुरा शिक्षकमा भर पर्छ । शिक्षकले आफुले के भन्छ ? भन्दा पनि के गर्छ ? ले आफना विद्यार्थीमा प्रभाव पार्छ । कमजोर विद्यार्थीमा प्रभावकारी शिक्षण गर्ने व्यक्ति र बालकको एउटा रोड मोडल पनि शिक्षक हो । जोहन डिवेलले शिक्षक बालबालिकालाई जीवनको जटिल क्षणमा निर्देशन दिने व्यक्तिका रुपमा विश्लेषण गर्दै असल मित्र, एक दार्शनिक र पथ प्रदर्शक हो । विद्यार्थी, सामाजिक वातावरण र शिक्षकरुपी त्रिपक्षीय प्रक्रियामा शिक्षक सशक्त पक्ष हो । पियाजेटले शिक्षकलाई सहजकर्ताको रुपमा हेरेका छन् । कतै कोक्रोदेखि चिहानसम्म हुने सिकाईमा मद्धत गर्ने आफु भित्रको मान्छे नै शिक्षक त होइन ?
अब चिनिया उखानको विश्लेषण गरौं कि शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ, शिक्षक दौड्यो भने विद्यार्थी हिंड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ भन्ने चलन छ । अब भन्नुहोस् शिक्षकको भुमिका विद्यार्थीको जिवनसँग कति महत्वपुर्ण रहेको छ । गुरुलाई आदर्श पुरुषको रुपमा मानेको छ संस्कृत शास्त्रमा । निष्काम कर्म मार्गदर्शन सिद्धान्त भएको व्यक्ति गुरु हो भनि परिभाषित गरेको छ । प्रेरणा दिने, सत्य बताउने, बाटो देखाउने, बोध गराउने व्यक्ति गुरु भनेर व्याख्या गरिएको छ । धार्मिक दृष्टिकोण अनुसार निर्वाणको लागि द्वादश निदान र अष्टमार्गको बोध गराउने बौद्ध धर्मका अनुसार, क्रिश्यिचन धर्मका अनुसार बाइबललाई माया गर्ने व्यक्ति, हिन्दु धर्मका अनुसार वेदलाई र कुरानलाई माया गर्ने व्यक्ति गुरु भनि परिभाषित गरिएको पाउन सकिन्छ ।
त्यसैगरी ब्राण्ड हेनरीले असल शिक्षकले आशा जगाउँछ, कल्पना उद्धिप्त गर्छ र सिकाईमा बिस्तारै प्रेम भर्छ भन्छन् । डेभल प्याटकले विद्यार्थीलाई थुप्रै फरक पार्न सक्ने उत्तेजना र प्रेमले भरिएको एक महान व्यक्ति शिक्षक हो भनेका छन् । शिक्षक हुनु सबैभन्दा जटिल काम हो । शिक्षकसँग आशा, विश्वास, आदर्श र अपेक्षा उच्च गरिएको हुन्छ । ग्यालिलियोले मानिसलाई तिमी केही पनि पढाउन सक्दैनौ तिमी उसलाई त्यो उ भित्र पत्ता लगाउन मद्धत गर्न सक्दैनौ । शिक्षकले बालबालिकाको भित्री क्षमता पत्ता लगाउन मद्धत गर्न सक्छ भनेका छन् ।
बिल गेट्सले शिक्षकलाई बालबालिकासँग खेल्ने र उत्प्रेरणा जगाउने व्यक्तिको रुपमा हेरेका छन् । शिक्षक र विद्यार्थी बीचको सम्बन्ध प्रगाढ हुुनु पर्दछ । छोरा हिम्मतले शिक्षकलाई सम्मान, आदर सदभावना वृद्धि गर्नमा तल्लिन हुनु पर्दछ । शिक्षकको अहम् भुमिका र महत्वलाई आत्मसात गर्दै साथी सगीका बिचमा अन्तक्रिया गरी ज्ञानको दायरा बढाउनमा चिठीको माध्यमले सहजीकरण गरेको हुनुपर्नेछ । पत्र लेखी रहन र पत्रको जवाफ नआउनाले कहिलेकाहीं न्यास्रो पनि लाग्दछ । फेरी मन बुझाउँछु कि केटाकेटी न हो । विस्तारै पछिको दिनमा प्रतिफल आउला नि भन्दै चित्त बुझाउने कामबाहेक मसँग अरु विकल्प छैन । आमा रुपक देवीलाई लेखेका पत्र र दिदी रुयासालाई लेखेको पत्रहरुको श्रृङखला समेत पढ्न र मनन् गर्नका लागि अनुरोध गर्दै यो पत्रबाट बिदा लिन चाहन्छु ।
उही बाबा
बागलुङ नगरपालिका १० भकुण्डे





