म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने मुख्य सडक करिब तीन महिनादेखि अवरुद्ध भएको छ ।
सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानीहुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट बिच्छेद भएको हो । पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण रुटको प्रयोग गर्न बाध्य भएका छन् ।
‘सडक मर्मत नहुँदा सास्ती भएको छ, ‘मर्मत गरेपनि सामान्य बर्षाले भत्काउने गरेको छ’ स्थानीय यूवा यामबहादुर घर्ती मगरले भने । गतवर्ष ढलान सहितको सडक पहिरोले बगाएपछि वैकल्पिक मार्गहुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिरोले हलेगौडासहित आसपासका क्षेत्रका बस्ती समेत जोखिममा परेको छ ।
भकिम्लीहुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेकहुँदै आवतजावत गर्न सकिन्छ । भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो ।
करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीबासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भएपनि उक्त स्थान सधै जोखिम बन्दै गएको वडा अध्यक्ष पदम पुनले बताए । ‘सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएको छ, ‘मर्मतमा ठूलो बजेटको आवश्यकता देखिएको छ’ वडा अध्यक्ष पुनले भने । गतवर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्वे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेटबाहेक स्थानीयले कठोर श्रमदान गरी सडक विस्तार गरेका थिए ।





