झिस्मिसे साँझ । म पुगेथेँ पूर्वी रुकुमको माथिल्लो सेरा गाउँमा । पिढीँमा एकसुरले तानमा कम्मल बुनिरहेकी एक आमामाथि मेरो नजर गयो । कुप्रिएको ज्यान अनि मुहारमा मुजा परेका चाउरिएका रेखाहरु नियाल्दा लाग्थ्यो, उमेरले पक्कै असी कटिसकेको हुनुपर्छ । तर, उनको हातले धागो खेलाउँदै कम्मल बुन्ने कौशलता हेर्दा उमेर भर्खर कै भान हुन्थ्यो । म गफिन लागेँ ।
नाम उनको हिकु बुढा मगर । उमेरले उनी उनान्असी टेकिन तर दुवै कान मज्जाले सुन्छिन् ,अनि देख्छिन् आँखाहरु राम्ररी । घरको मुख्य पेशा नै भँेडापालन भएपछि ऊनसँगको निकटता उनको सानैदेखिको थियो । सानामा कलमसँग कम, ऊनसँग बढी खेल्थिन् रे उनी । त्यो रहर हैन, बाध्यता थियो । दिनभर भेंडा चराउने अनि घरमा फुर्सद मिल्नेबित्तिकै ऊन काढ्ने । अनि ऊनबाटै तयार पार्थिन् कम्मल, बख्खु र विभिन्न लुगाहरु । उनको दैनिकी नै यही हुन्थ्यो ।अझ भनौं जीवन नै भेंडा र ऊनसँगै खेलेर बितेको थियो ।आज भने उनी बाध्यताले हैनन्, रहरले ऊनसँग जोडिएकी छिन् ।
‘बुढेसकाल लागेपछि त्यसै शरीरका अंगहरु कमजोर बन्दै जान्छन् । यत्तिकै बसिराख्यो भने एक त आलस्यता बढ्छ भने अर्कातिर शरीर अचल बन्दै जान्छ । त्यसैले यो त मेरो बसिबियालोँ मात्र हो नि । समय पनि कट्ने, अलिअलि आम्दानी पनि हुने,’ उनी तान बुन्दै मुस्कान साँट्छिन् । पाहुना आउँदा भुइँमा बिछ्याउने राडी (कम्मल) को लोकप्रियता प्लास्टिक र म्याट्रेसका प्रयोगसँगै घटे पनि उनी यही घरमा प्रयोग गर्छिन् । ‘यो केवल कम्मल मात्र हैन नि बाबु, हामी भेंडी गोठालाका निम्ति आफ्नोपन झल्किन्छ यसमा,’ उनी थप्छिन्, ‘प्लास्टिक र म्याट्रेसको प्रयोगले नेपालमा कति धेरै प्रदुषण बढेको छ । यो वातावरणमैत्री त छँदै छ, सँगै यसको प्रयोगले मौलिक कला परम्पराको संरक्षण गर्नुका साथै स्वरोजगारी पनि सिर्जना गर्दछ ।हामीले आफ्नो मौलिकता बिर्सदै जाँदा आफ्नै पहिचान गुमाइरहेको कमैलाई आत्मबोध हुन्छ ।’
भेंडा लिएर पुग्थे उनी रुकुमदेखि जाजरकोटः
उबेला गोठभरि सयौं संख्यामा भेडाहरु हुन्थे । हेर्दै रहरलाग्दा तर तिनीहरुसँग वर्षौ बिताउन त्यति सहज त कहाँ हुन्थ्यो र ? सयौं भेंडाहरुलाई गाउँकै गोठमा राखेर त सम्भव नै हुने कुरै भएन किनकि गाउँमा चरण क्षेत्र एकदमै कम थियो । त्यसैले भेंडासँगै उनीहरु डाँडाकाडा डुलिहिड्थे । बर्खा लाग्नु अगावै आफ्नै गाउँमाथिको लेकमा उक्लन्थे । उतै गोठ बसाल्थे अनि बस्थे भेंडाहरुसँगै तीन चार महिना । बर्खा याम सकिएसँगै हरिया घाँसपातहरु पनि सकिन्थे । अनि उनीहर दसैंको मुखैमा सेरा गाउँ झर्थे । गाउँको अन्नखेती थन्काएर उनीहरु अन्तै कुदिहाल्नु पथ्र्यो किनकि गाउँमा सयौं भेंडालाई त्यति घाँसपात हुँदैनथ्यो ।
मंसिर पुस महिना लागेसँगै भेंडाको लस्कर लिएर उनीहरु जाजरकोट लाग्थे । नाइघाट तरेर झारकोट पुग्थे । अनि दुईतीन महिना जाजरकोटका विभिन्न भेगहरु चहारेर फागुन अन्त्यतिर मात्र घर फर्कन्थे । ती पलहरु उनी अहिले पिढीँमा बसेर झल्झल्ति सम्झिरहन्छिन् ।
भेडाकै पछि क्यामरा बोकेर कुद्ने छोराः
समय फेरियो । समयसँगै चलनहरु पनि फेरिए । उनका सन्तानहरु लेकलेकमा भेंडी गोठ राख्दै भेडा पाल्ने कार्यमा त पक्कै लागेनन् तर भेडाकै पछि क्यामरा बोकेर साइला छोरा भने कुदिरहन्छन् । कारण फोटो र भिडियो खिच्न । अनि सारा संसारलाई देखाउन उनी दत्तचित्त भएर लागिपरेका छन् ।
उनका साइला छोरा लाजिम बुढा मगर हुन् । उनी पनि कैयौं वर्ष बेल्जियम बसे । विदेशिएका उनी त्यहाँको आइडी त्यागेर नेपाल फर्किए । उनी त्यसै खालि हातै फर्केनन् । भिडियो र फोटोग्राफीको सीप सिकेर आफ्नै गाउँठाउँमा भविष्य खोज्दै नेपाल आइपुगे । उनी बाआमाले भेंडीगोठ राख्ने लेकहरु चहार्दै हिँडे । त्यहीँको रहनसहन, जनजीवन र कथाहरुलाई दृश्यका माध्यमबाट पस्किए । अहिले आठ लाखको हाराहारीमा उनको आफ्नै नामको युट्युव च्यानलबाट उनी रुकुम, रोल्पा, ढोरपाटनलगायत विभिन्न ग्रामीण भेगका जनजीवनलाई भिडियोमार्फत् देखाउन प्रयत्नमा छन् । कहिले रुकुमको भेंडी गोठालाको जनजीवनलाई उर्ताछन् त कहिले मगरहरुको ठूला पर्व भुमे पूजाको रौनकतालाई । कहिले यार्सागुम्बा बटुल्नलाई लेक उक्लेकाहरु कथा पस्कन्छन् त कहिले नेपालकै एकमात्र फिरन्ते राउटेहरुका कथा बटुल्न । उनी सहरमा कम र लेक डाँडाकाडामा बढी भेटिन्छन् ।
देशीभन्दा विदेशी भ्युवर भएको उनको च्यानलमा भिडियोहरु नै लाखौंले विश्वभरबाट नियालिरहेका हुन्छन् । उनको अर्को युट्युव च्यानल ‘भिलेज फुड किचन’ मा तीन लाख बढी प्रयोगकर्ताले उनका भिडियोहरु पछ्याइरहेका हुन्छन् । अनि उनलाई दिइरहेका हुन्छन् अझ धेरै हौसला र साहस ।
भेंडा अनि ऊनसँगको सानिध्यताः
भेंडापालन उनीहरुको पुर्खौली पेशा । यहीँ पेशा गरेरै छ जना छोराछोरीलाई हुर्काउनु र सहरमा पढाउनु चानचुने कुरा थिएन । बुढाबुढी जंगलमा भेडाहरुसँग लड्ने, सन्तानहरु सहर पस्ने, उनी वास्तविकता सुनाउँछन् । उमेर छँदा श्रीमान र उनी मिलेरै सात सय भेंडाहरु पाल्थे । कहिल्यै भेंडा बेचेर त कहिले भेंडाको ऊन त कहिले ऊनबाट तयार भएका राडी, बख्खु आदि बेचेर सहरमा सन्तानका विद्यालय शुल्कर कोठा भाडा तिरेको हिजो जस्तो लाग्छ उनलाई ।
उनी थप्छिन्, ‘हामीले अक्षर चिन्न नसकेर जुन नियति भोग्यौं, त्यहीँ सन्तानमा नदोहोरियोस् भनेर नै हामी दुवैले हाँड छाला घोटेर सन्तानहरुलाई पढायौं । हुन पनि सन्तानहरुले हाम्रो लगानी खेर फालेनन् । हाम्रो लगानी र उनीहरुको मिहिनेतको संयुक्त प्रयासले नै उनीहरु आज देश विदेशमा रमाइरहेका छन्, आफ्ना जीवन बाँचिरहेका छन् । आज उनीहरुको सफलतामा हामी पनि रमाइरहेका छौं ।’
अहिले प्रायः मानिसहरु ऊन समेत बजारबाटै काढेकै किनेर ल्याउँछन् । बजारको ऊन उनलाई त्यति गुणस्तरीय लाग्दैन । आफ्नै गाउँठाउँमा तयार भएको भेडाको ऊनको सामानजस्तो त कहाँ बन्छ र यसको ? उनी आफैले घरमा तयार पारेको हब्दुल्ला देखाउँदै भन्छन्, ‘पहिलापहिला यस्तो हब्दुल्ला तयार पार्न एक जनालाई महिना दिन नै लाग्थ्यो । पहिला ऊन काढ्न प¥यो । त्यसपछि यसलाई धुन, बुन्न र बलियो धागोले गास्नलाई हप्तौ दिन लाग्थ्यो । हब्दुल्ला पानी पर्दा होस् वा हिउँ हाल्दा, जहिले पनि शरीरलाई गम्लङ्ग ढाकेर हिँड्न मिल्छ । अहिलेको कमसल छाता र रेनकोटजस्तो कहाँ हो र यो ? राम्रोसँग जतज गरे एउटा जुग नै पो जान्छ त बाबु ।’ नभन्दै यसको राम्रो मूल्य पनि रहेछ । मान्छेहरु अस्ली हब्दुल्लालाई बीस तीस हजारसम्म हाल्न पनि हिचकिचाउँदैनन् ।
बसिबियाँलोः
ऊन काँढेर राडी पाखी वा हब्दुल्ला बनाएर आम्दानी गर्नै पर्ने उनको पारिवारिक अवस्था छैन । सन्तान कै पछि लागेर उनीहरु राजधानी वा दाङतिर आरामले बस्न पनि सक्छन् वा ढुक्कले बसीबसी गाउँमै बसेर खान पनि सक्छन् तर उनलाई यतिकै बसिराख्न मनले मान्दैन । समय काट्न पनि ऊन काढिरहन्छिन् उनी । यसैलाई उनी आफ्नै शब्दमा भन्छिन् ‘बसिबियाँलो’ ।
द्वन्द्वकालमा सन्तान जोगाउँदाको सकसः
रुकुम रोल्पा दश वर्षे माओवादी जनयुद्धको अति प्रभावित जिल्लाहरु मध्येका हुन् । माओवादी र सरकार पक्ष दुवैको चपेटामा परेका कैयौं परिवारमध्ये एक उनीहरुको पनि थियो । हुर्के–बढेका सन्तानहरुलाई माओवादीले कार्यकर्ता बनाइदिने धम्की मात्र दिँदैनथे, नमानेमा ज्यान पनि सिध्याइदिन सक्थे । यता फेरि माओवादी पक्षलाई सहयोग गरेको भन्दै सेना पक्षको उस्तै टोकसो पनि खान पथ्र्यो । हुर्के बढेका छोराछोरीलाई बचाउन सहर पठाउनुको विकल्प थिएन । उनीहरु भने बाँकी ससाना छोराछोरीसँगै बाध्यताले गाउँमै बसेका थिए ।
माओवादी जनयुद्धबारे बोल्दै उनी भन्छन्, ‘जो जनयुद्धका असली पीडितहरु थिए, उनीहरुको अवस्था जस्ताको तस्तै छ । सोझा साझा जनतालाई प्रयोग गरेर नेता बनेकाहरु सदरमुकाम अनि राजधानीमा गगनचुम्बी भवनहरु ठडाइसकेका छन् । उनीहरुको लवाइखवाइ र जीवनशैली बदलिसक्यो तर ती प्रयोग गरिएका जनताको नाजुक अवस्थामा कुनै सुधार हुन सकेन ।सहर पसेका ती नेताहरुले कहिल्यै गाउँठाउ सम्झिएर गाउँमा पाइला टेकेनन् ।’
जीवनको त्यो अन्तिम सपनाः
उनका चार भाई छोराहरु र दुई बहिनी छोरीहरु सबै पँखेटा पलाएर उडान भरिसके । कति विदेशका कुनाकन्दरामा छन् त कोही काठमाडौं अनि दाङ सहरमा । सन्तानहरुकै पछि लागेर बा आमाले पनि देश विदेशका मुहार हेरे । बेलायत, अमेरिका, हल्यान्ड, बेल्जिय लगायत विश्वका आठ देशहरु घुमिसकेका उनीहरु कहिलेकाहीँ सहरतिर भेटिन्छन् । देश विदेश सहर बजार टेकिसकेका उनीहरुको मन अन्त त्यति अडिदैन । उनीहरु आफ्नै जन्म ठाउँ फर्किहाल्छन् ।
सहरको विलासी जीवनशैली त्यति निको लाग्दैन उनीहरुलाई । न स्वच्छ सास फेर्न पाइने न सफा पानी नै पिउन पाउने । फोहोरमैला, धुवाँ र मानवता गुमेको शहरमा उनीहरुको मन कहाँ अडियोस् त ? गाउँकै चिसो हावापानी र गाउँले रहनसहनमै रमाइरहेका छन् उनीहरु । कहिलेकाहीँ साइला छोरा घरमा आउँछन् । प्राय बुढाबुढी मात्रै घरमा हुन्छन् । उनीहरुले अन्तिम सपना नै साँचेका छन्, अन्तिम पाइला यहीँ आँगनमा टेक्ने अनि अन्तिम सास पनि यहीँ घरमै फेर्ने ।





