आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आक्रोशित दर्शक अनि गण्डकीको त्यो पुनरागमन

आक्रोशित दर्शक अनि गण्डकीको त्यो पुनरागमन


  • विजय नेपाली
  • भाद्र १५ २०७९, बुधबार

पोखरा/लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार गण्डकी प्रदेश र एपिएफबीच फाइनल प्रवेशका लागि भिडन्त भइरहेको थियो । नव आदर्श सामुदायिक विकास केन्द्रको आयोजनामा भएको लामाचौर पहिलोपटक पुरुष भलिबल प्रतियोगिता ! प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको पहिलो र दोस्रो सेट एपिएफले जितेको थियो । एपिएफ उपाधि नजिक पुगेको थियो, भने गण्डकी संघर्ष गरिरहेको थियो ।

पहिलो सेट २२–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट पनि २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा गण्डकी निकै दबाबमा थियो । खेल निकै रोमाञ्चक अनि विवादित पनि बनिरहेको थियो । दुबै टिमका खेलाडी बारम्बार रेफ्रीको निर्णप्रति असन्तुष्टि जनाइरहेका थिए । निकै रोमाञ्चक बनेको खेल २०–२० को बराबरीमा अघि बढेसँगै खेलाडीको असन्तुष्टि पनि बढ्दै गयो । जब खेलमा एपिएफले अग्रता लिँदै २३–२२ को स्थिति बनायो तब दर्शकले भलिबल कोर्टभरि पानीका बोतल बजार्न थाले ।

रेफ्रीले गण्डकीले पाउनुपर्ने अंक एपिएफलाई दिएको उनीहरुको आरोप थियो । विवादित बनेको तेस्रो सेटले खेल नै मोडिदियो । आधा घण्टा बढी रोकिएको खेल पुनः सुचारु भएसँगै गण्डकीले लगातार ३ अंक बटुल्दै खेल २५–२३ ले जित्यो । त्यसपछि भने गण्डकीले लय समात्यो । हार्नै लागिसकेको तेस्रो सेटमात्रै नभइ लगातार तिन सेटमा जित हात पा¥यो । एपिएफमाथि ३–२ सेटको जित निकाल्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो ।

त्रिभुवन आर्मी र नेपाल पुलिसबीचको दोस्रो सेमिफाइनल खेल भने वर्षातका कारण रोकिएको छ । पहिलो सेट चलिरहेको अवस्थामा अचानक पानी परेपछि खेल रोकिएको हो । उक्त खेल बुधबार हुने आयोजकले जानकारी दिएको छ ।

महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेका छन् । मंगलबार नै सम्पन्न सेमिफाइनल खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । पुलिसले २७–२५,२५–११ र २६–२४ ले हराएको हो । यस्तै डायमण्डले गण्डकीलाई सोझै सेटमा हरायो । डायमण्डले २५–१८, २६–२४ र २५–११ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागीता नजनाएपछि ४ टिममात्रै भएको हो । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् ।

पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->