बागलुङ/ आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि दलका बैठक सुरु भएका छन् । बिहीबारदेखि कांग्रेसले सबै प्रदेश तहमा बैठक थालेको हो ।
बैठकमा उम्मेदवार छनौटका लागि शुल्क तोकिएपछि विवाद भएको छ । आकांक्षीको नाम संकलन गर्दा नै चर्को शुल्क उठाइएको आरोप कांग्रेस कार्यकर्ताले लगाएका छन् । केन्द्रीय कार्यालयले नाम सिफारिसमा कुनै शुल्क नलिनू भन्ने परिपत्र आएपछि जिल्ला कार्यसमिति र कार्यसम्पादन समितिले भने केन्द्रको भावनाविपरीत हजारौंं शुल्क तोकेर कार्यकर्तालाई भड्काउने काम गरेको गुनासो बढेको हो । केन्द्रीय सर्कुलरमा कुनै लेबी तिर्न बाँकी रहेकोमा बाहेक अन्य शुल्क नलिनु भन्ने उल्लेख छ ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा भदौ १३ गतेको मितिमा आएको पत्रमा कुनैपनि शुल्क नलिनु भन्ने उल्लेख गरिएको हो । तर पार्टीले भने ६० हजार रुपैयाँसम्म शुल्क तोकेर उम्मेदवार बन्न खोज्नेको ढाड सेकेको कार्यकर्ताले बताए । ‘म यति चर्को शुल्क तिरेर उम्मेदवारको नाम दर्ता गर्न सक्दिन’, काठेखोला–३ का प्रकाश थापाले भने, ‘पार्टीको भवन बनाउन साथ दिने हो तर उम्मेदवारको लिस्ट उर्तान यो रकम देखाउने होइन’ थापाले भने, ‘राजनीति गरेका सबैसँग पैसा नहुन पनि सक्छ ।’ जीवनभर राजनीति गरेकाहरुले यतिको शुल्क कसरी बुझाउने भन्दै उनले टिप्पणी गरे ।
कार्यसम्पादन समितिले संघीय संसद र समानुपातिक उम्मेदवार बन्नका लागि पार्टी कार्यालय भवन बनाउन ६० हजार रुपैयाँ तोकेको हो । कार्यसम्पादन समितिमा पदाधिकारी, क्षेत्रीय सभापतिलगायत सदस्य छन् । त्यस्तै यो रकम बुझाएपछि १५ हजार तिरे दरखास्त दिन पाइने प्रावधान राखिएको छ । यसरी हेर्दा ७५ हजार रुपैयाँ तिरेपछि मात्र संसदको टिकटका लागि नाम सिफारिस हुने बताइएको हो । गठबन्धन हुँदा कुन दलले पाउने ठेगान नहुँदै कार्यकर्ताले चर्को रकम तिरेर मात्र नाम दर्ता गर्नु परेको पनि बताए ।
‘दलले लगाएपछि तिर्न पर्छ, त्यो सामूहिक स्वार्थका लागि हो’ कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले भने, ‘जता गएपनि शुल्क तिर्ने कुरा नौलो छैन ।’ प्रदेश सभाका लागि पनि ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने उल्लेख छ । साथै, त्यसपछि १२ हजार रुपैयाँ तिरेर दरखास्त दिन पाइने भनिएकोमा १० हजार बनाइएको छ ।
पार्टी सचिव हरिहर शर्माले यही मौकामा पैसा संकलन गरेर पार्टी कार्यालय बनाउन यो निर्णय भएको बताए । ‘हामीले बीपी स्मृति भवन भनेर पार्टी कार्यालय बनाउने तयारीमा छौं, त्यसैले यो समय केही रकम संकलन गर्ने बेला पनि हो’ शर्माले भने, ‘प्रदेश सभा र संघिय संसद बन्छु भन्नेले यति रकम तिर्न नसक्ने खासै छैनन् ।’ निष्ठाको कारण आर्थिक अवस्था कमजोर भएकै अवस्था भेटिएमा शुल्क नलिन पनि सकिने उनले बताए ।
कांग्रेसले आफ्नै पार्टी कार्यालय भवन बनाउन तयारी गरेको छ । बानपा ३ को नारायणचोक नजिकै झण्डै १ रोपनी जमिन पार्टीले किनेको छ । उक्त जग्गा पास गर्ने तयारीमा रहेको शर्माले जानकारी दिए । ‘अहिलेसम्म झण्डै ५० लाख रकम संकलन भैसकेको छ, बोलकबोल भएको रकम १ करोड छ’, शर्माले भने, ‘उम्मेदवार छनौटको बेला पनि केही रकम संकलन भयो भने भवन शिलान्यास गर्न सकिन्छ भन्ने हो ।’ पार्टी स्थापनाको ७ दशकसम्म भाडाको घरमा बसेकोले अब भने आफ्नै भवनमा बस्न खोजिएकोले सबैले साथ दिने उनले बताए ।





