पोखरा /पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको एक व्यवसायीले बताएका छन् ।
चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजीको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरका साथ चुनावमा होमिएको टिमलाई व्यवसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् । ‘एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यासायीहरुले विजयी गराउनुहुन्छ’, उनले भने ।
साँघुमुखभन्दा पहिलो टोली विशालबजार पुगेको थियो । आफूहरुको समस्या अर्जुन पोखरेल प्यानललाई जिताएमा समाधान गर्न सक्ने भन्दै उनीहरुले अभियानमै साथ दिएका थिए । सिंगापुर इन्टरप्राइजेजका सञ्चालक थम्मनसिंह गुरुङले अर्जुन प्यानलले बनाएको घोषणा पत्रमा भएका प्रतिवद्धताहरु निकै महत्वपूर्ण र समय सान्दर्भिक भएकाले साथ दिने बताए ।
ट्वीन्स कलेक्सनका सञ्चालक मनोहरी पौडेलले सक्षम र जुझारु नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताए । काम गर्न सक्ने खुबी भएका व्याक्तिहरुको टिमको विकल्प नभएको उनको भनाइ थियो । घरदैलो अभियानमा हिँडेको टिम विशालबजार, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, नयाँबजारलगायत स्थानमा पुगेर व्यावसायीहरुको समस्या सुन्दै मत मागेका थिए । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेदवार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्णप्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।





