पोखरा/ शुक्रबार बिहान पोखरा महानगरपालिका वडा नं. १४ मा विभत्स घटना घटेको छ । अमेरिकाबाट फर्किएकी श्रीमतीमाथि श्रीमानले खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन । प्रहरीका अनुसार घटना बिहान करिब ८ः२५ बजेको हो ।
नारीहरुको महान पर्व मनाउन ४४ वर्षीय विमल गुरुङ एक साताअघि मात्रै नेपाल आएकी थिइन । घरमा छोरी नभएतापनि विमलाका तीन छोरा थिए । तीनमध्ये जेठा छोराको चाहिँ विवाह भइसकेको छ । विवाह भइसकेको छोराबाट एउटा नाति पनि जन्मिइसकेको छ । ४६ वर्षका श्रीमान लोकबहादुर पनि घरमा नै थिए ।
घरका परिवारबाहेक तीज मनाउन दिदीको घरमा आएकी विमलाकी बहिनी पनि सँगै थिइन ।तर, शुक्रबार बिहान जे घटना घट्यो, त्यो घटनाबाट तीन छोराले आमा गुमाए, विमलाले दिदी गुमाइन । घटना घटाउने उनकै भिनाजु लोकबहादुर थिए । तर, बुहारीले ससुरा र सालीले आफ्नै भिनाजुलाई रोक्ने प्रयास गरे तर, सकेनन ।
बिहान पौने आठ बजेको कुरा हो । लोकबहादुर घरमा नै थिए । साली, बुहारी पनि घरमा नै थिए ।अचानक गुरुङले साली र बुहारीलाई घरबाट बाहिर निकाले । त्यसपछि ढोका लगाए र भान्साकोठमा लगि श्रीमतीमाथि अन्धाधुन खुकुरी प्रहार गरे । अनेक हारगुहार गरेतापनि साली र बुहारीले ससुरालाई रोक्न सकेनन । उनीहरुकै अगाडि श्रीमतीको हत्या गरे । त्यसपछि उनले आफैमाथि खुकुरी प्रहार गरे ।
बुहारीको भनाई उधृत गर्दै पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले भने, ‘मैले भागेर ज्यान जोगाएँ, मलाइ पनि धन्नै मारेनन ।’घरभित्रै एक नाबालक बच्चा बिरामी अवस्थामा थिए । बच्चालाई चाहिँ गुरुङले केही गरेनन ।
लोकबहादुरले आफ्नै श्रीमतीको टाउकोमाथि कैयौँपटक खुकुरी प्रहार गरे, श्रीमतीको प्राण उडेपछि आत्महत्याको लागि आफ्नै पेटमा खुकुरी प्रहार गरे । उनी अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा छन ।
उनी उपचाररत रहिरहँदा, अवस्था स्थिर रहिरहँदा छिनडाँडाको उनको घरमा श्रीमतीको शव अस्पतालबाट फिर्ता ल्याइएको छ ।चाडको रौनक खोसिएको छ, मातृत्व खोसिएको छ, अभिभावकत्व खोसिएको छ र गुरुङको आफ्नै घरमा सन्नाटा र शोक छाइरहेको छ ।
कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काका अनुसार विमलामाथि खुकुरी प्रहार भएको तीन घन्टापछि बिहान ११ बजे उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत घोषणा गरिएको थियो । पोष्टमार्टम भइसकेतापनि उनको रिपोर्ट आएको छैन भने उनको शवचाहिँ शुक्रबार साँझ घरमा नै लगिएको छ ।लोकबहादुरको अवस्था चाहिँ गम्भीर र स्थिर छ ।
वडाध्यक्ष बोधराज कार्कीका अनुसार ७२ घण्टासम्म गुरुङको अवस्था हेर्नको लागि डाक्टरले सुझाव दिएका छन ।
उनै वडाध्यक्षको टोलमा नै यो घटना भएको हो ।
घटनाबारे उनीसँग लिएको जानकारी यस्तो छ :
मेरै टोलको आडैमा हो । भिमबहादुर गुरुङ ४६ वर्षका व्यक्ति हुन । उनले आफ्नै श्रीमती जो, अमेरिकाबाट आएको सात दिन भएको थियो । बिहान पौने ८ बजे विभत्स तरिकाले हत्या गरेका रहेछन । त्यहाँ पुगेर हेर्दा श्रीमतीको टाउकोमा दशौँपटक खुकुरीले हानेको देखियो, श्रीमतीले रोक्नने प्रयास पनि गरिन, तर उनले प्रहार गर्न छाडेनन । श्रीमती प्राण गइसकेपछि उनले आफ्नै पेटमा खुकुरीले प्रहार गरेका रहेछन ।
त्यहाँको अवस्था रक्ताम्य छ । घरभित्रको किचेनमा यो घटना भएको हो । घरमा दुइजना पाहुना आएका रहेछन । उनीहरुलाई बाहिर निकालेर ढोका लगाएर श्रीमतीमाथि प्रहार भएको हो ।
पछि प्रहरी आएर ढोका फो¥यो । सुरुमा श्रीमतीलाई अस्पताल पठाइयो । तर, उहाँको ज्यान बच्न सकेन । पछि भीमबहादुरलाई पनि अस्पताल लगियो । उनको पनि अवस्था गम्भीर छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
उनका तीन छोरा हुन । ती मध्ये एकजना दुबई छन । दुइवटा छोराको विवाह भएको छ । घटना हुने बेलामा चाहिँ एक छोरा घरमा थिएनन, अर्का चाहिँ जिम गएका थिए ।
प्रहरी आइपुग्दा जिम गएको छोरा पनि आइपुगेका थिए । प्रहरी आएपछि ढोका फोडेर हेर्दा उनको आफ्नै पेटमा पनि खुकुरी हानेका थिए । भान्साको भुइँ रगतले लतपत थियो ।
वडाध्यक्ष कार्कीका अनुसार गुरुङकी श्रीमती पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन । घरको हेरचाह सबै श्रीमतीले नै गर्ने गर्थिन । पछिल्लोपटक नेपाल आएको हप्तादिनमा नै बिहान गुरुङले ढोका लगाएर श्रीमतीमाथि खुकुरी प्रहार गरेर हत्या गरेपछि अहिले त्यहाँ सन्नाटा छाएको छ ।





