
बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले पार्टीका पोलिटब्यूरो सदस्य लीला वहादुर थापा, केन्द्रिय सदस्य कृष्ण केसी र गोविन्द नेपालीसहित ३० जनालाई प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
सदरमुकाम बागलुङ बजारमा सोमवार वसेको एमाले जिल्ला कमिटीको बैठकले थापा र नेपालीलाई प्रदेशसभामा र केसीलाई प्रतिनिधीसभामा उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
समानुपातिकको कलस्टर अनुसार नै उनीहरुसहित जिल्लाका ९ जना नेताहरुलाई प्रतिनिधि सभामा र २१ जनालाई प्रदेश सभाका लागि सिफारिस गरेको एमाले जिल्ला सचिव विष्णु भुषालले वताए ।
पार्टीका सल्लाहकार परिषद सदस्य मोहनलाई शर्मालाई प्रदेश सभामा र तिल वहादुर विश्वकर्मा र प्रदेश कमिटी सदस्य बाबुराम नेपालीलाई प्रतिनिधि सभाको समानुपातिकमा सिफारिस गरेको छ ।
एमाले जिल्ला कमिटीको बैठकमा सहभागी नेताहरु । तस्वीर: ढोरपाटन
प्रतिनिधि सभामा महिलातर्फ प्रदेश कमिटी सदस्य ममतादेवी शर्मा र उषा पौडेल, जनजातीतर्फ प्रदेश कमिटी सदस्य सुनिल शेरचन, सञ्जय श्रेष्ठ र जिल्ला कमिटी सदस्य समपन्न श्रेष्ठ सिफारिश भएका छन् ।
खस आर्यबाट केन्द्रिय सदस्य केसी र प्रदेश कमिटी सदस्य शिव सापकोटा प्रतिनिधि सभाको समानुपातिकमा सिफारिस भएका छन् ।
प्रदेशसभामा जनजाती पुरुषतर्फ पोलिटब्यूरो सदस्य थापा, जिल्ला सदस्य अमरसिंह घर्ति, धन प्रसाद बुढा र लालविर लोपचन, जनजाती महिलातर्फ जिल्ला सदस्य बिना कुमारी थापा र करमति पुन सिफारिसमा परेका छन् ।
प्रदेशसभामा दलिततर्फ केन्द्रिय सदस्य नेपाली र जिल्ला सदस्य तिल वहादुर कामी, दलित महिलातर्फ जिल्ला सदस्य सरस्वती परियार खड्का र छेला नेपाली परेका छन् ।
त्यसैगरी प्रदेशसभामा नै खस आर्य पुरुषतर्फ सल्लाहकार परिषद सदस्य शर्मा, प्रदेश सदस्य कृष्ण पाठक, टेक वहादुर खत्री, विश्व गौतम र धनिश्वर पौडेल, महिलातर्फ गिता शर्मा, भीमा अधिकारी, रत्ना भण्डारी, यमुनादेवी पौडेल, हुमा कुमारी जिसी र रुपा कुमारी पौडेल समानुपातिकका लागि सिफारिस भएका छन् ।

एमाले जिल्ला कमिटीको बैठकमा सहभागी जिल्ला नेताहरु । तस्वीर: ढोरपाटन
जिल्ला कमिटीमा समानुपातिक उम्मेदवारमा आकांक्षा जाहेर गरेका सवै नेताहरुलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
बेठकले प्रदेश समन्वय कमिटी र क्षेत्रिय समन्वय कमिटीबाट सिफारिस भएर आएका प्रत्यक्षतर्फका सवै उम्मेदवारलाई गण्डकी प्रदेश कमिटीमा सिफारिस गरेको उपसचिव गणेश थापाले वताए । प्रदेश कमिटीले जिल्लाबाट सिफारिस भएर आएका नाममा छलफल गरी आवश्यक राय सुझावसहित केन्द्रिय कमिटीमा पठाउने छ ।
पार्टी केन्द्रिय सचिवालय प्रदेश कमिटीबाट आवश्यक राय सुझावसहित आएका नामहरुबाट प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउने छ ।





