काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्धितियको बिहीबार निधन भएको छ। बेलायतमा ७ दशक महारानी रहेकी उनी नेपाल भ्रमणमा दुई पटक आएकी थिइन् । पहिलो पटक महेन्द्र राजा हुँदा २०१७ साल फागुन १९ गते आएकी थिइन् भने दोस्रो पटक उनी आउँदा वीरेन्द्र राजा थिए ।
२०१७ फागुन १९ गते महारानी एलिजाबेथ चितवन हुँदै पोखरा पुगेकी थिइन् । तस्वीर संकलक सुनिल उलकका अनुसार महारानीको स्वागतका लागि देशैभरबाट पूर्व गोर्खा सैनिकहरु पोखरा पुगेका थिए । पोखराका विद्यालयका छात्रछात्राहरुलाई पनि विमानस्थलमा लगिएको थियो ।
उलकले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार पोखराको भीमसेन टोलका वासिन्दाले महारानीको स्वागतका लागि अनौंठो तरिका अपनाएका थिए । स्वागतका लागि ‘सेलरोटीको स्वागत द्वार’ बनाएको र त्यसले निकै चर्चा पाएको उनले लेखेका छन् ।
‘स्वागतद्वारहरु बजारभरि बनाइएको थियो,’ उनले लेखेका छन्, ‘भीमसेन टोलका स्थानीयहरुको सक्रियतामा बनाइएको सेलरोटीको स्वागत द्वारको चर्चा त्यो बेला निकै चलेको थियो । भीमसेन टोलमा भुत्तेको नामले प्रख्यात सिद्धिलाल चुल्याजुले सेलरोटी बनाएका थिए भने सजाउने काम सबै टोलवासी मिलेर गरेका थिए ।’
हेर्नुहोस् भिडियो





