पोखरा/गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा–८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गरेका छन् । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको उद्घाटनगर्दै मन्त्री थापाले सामुदायिक भवनको स्थापनाले बगालेटोलबासीका सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहज हुने बताए ।
सामुदायिक भवनको उचित प्रयोग गरी यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याए । नजिकै फिर्के खोला भएकाले पनि हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न प्रदेश सरकारबाट समेत आवश्यक सहयोग मिल्ने प्रतिबद्धता उनको छ । ८६ लाखमा निर्माण भएको भवन उद्घाटनको कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो । हिराकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संयोजक श्याम कृष्ण श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा पूर्वअध्यक्ष भक्त राज श्रेष्ठ, पोखरा –८ का अध्यक्ष रुद्रनाथ बराल लगायतले मन्तव्य राखेका थिए ।





