लमतन्न परेको ढोरको फाँट । अनि फाँटका वरपर टुसुक्क बसेका छन् थुप्रै गाउँहरु । त्यहाँका स्थानीय भेडा गोठालाहरु उबेला खुबै भेडा पाल्थे । धेरैले छोडिसकेको यो पेशा अझै कोहीकोहीले धेरथोक धानिरहेका छन् । वर्खा याममा फाँट वरपर त्यति धेरै भुइँ घाँसहरु पाइदैनथे । डाले घाँसले दिनभर चरिहिड्ने भेडालाई के हुँदो हो ? जुका, भुसुना र अरु किराले पनि गोठाला र भेडाहरु दुवैलाई उधुमै सताउथे । रोग व्यादको उस्तै डर । त्यसैले गोठालाहरु भेडा लिएर डाँडातिर उक्लन थाले । एकै ठाउँमा कहाँ अडिनु भेडाहरु ? चर्दाचर्दा भेडाहरु धेरै माथि लेकतिर पुगेछन् । तिनीहरुलाई पछ्याउँदै गोठालाहरु त्यहीँ पुगे । त्यहाँ राम्रो चरण क्षेत्र मात्र रहेनछ, महिनौं दिन गोठ नै बसालेर बस्न मिल्ने राम्रो वातावरण रहेछ ।
यो थियो करिब एकदेखि डेढ सय वर्षअघिको यथार्थ घटना । भेडाले पत्ता लगाएको बाटोलाई पछ्याउँदै विस्तारै गोठालाहरु लेकतिरै उक्लन थाले । ढोरपाटन र वरपरका गोठालाहरु वर्खा सुरु हुनुअगावै गोठै उठाएर माथि लेकतिर उक्लन्थे । उनीहरुको भाषामा ‘बुकी उक्लनु’ भन्दछन् । खासमा लेकमा पाइने गाइवस्तुको मन पर्ने घाँस हो बुकी । उनीहरु बुकी लेकलाई केवल गोठ ठान्दैनन्, घरकै रुपमा लिन्छन् ।
गुरिल्ला पदयात्राको मौका पारि म पनि बुकी उक्लने भएँ । केही दिनका लागि मेरो सहयात्री बन्दै थिए मित्र सुवास थापा । उनकै साना बा माथिल्लो ढोरपाटनको लामेला बुकीमा थिए । ढोरपाटनबाट छेन्टुङ गुम्बा हुँदै दलसिंगे, लसुने, थकाली बाख्रे हुँदै एकैदिनमा लामेला पुगिन्छ । हामी भने डेढ दिन लगाएर लामेला पुग्यौं ।
करिव चार हजार मिटरको उचाइमा पर्दछ लामेला बुकी । खर्कभर रंगीचंगी फूलहरु देख्दा कुनै बगान आएको भान हुन्थ्यो । वरपर टाढा टाढासम्म अनगिन्ती हरिया डाँडाहरु । हेरिरहुँ खालको । मनै शितल बनाउने । छिनभरै छ्याङ्ग खुल्ने आकाश र छिनभरै बादलले डम्म ढाक्ने मौसम, यहाँको विशेषता थियो यो । हामी आइपुगेको संकेत भोटे कुकुरको भुकाइले गोठालाहरुले पाइसकेका थिए । यस बुकीमा रहेका ७ गोठमध्ये एक थिए भीम बहादुर भण्डारी बा को । उनी घाँस बटुलेर गोठ आइपुग्नु र हामी तल थकाली बाख्रेबाट लामेला गोठ आइपुग्नु, उहीँ समय भएछ ।
चिटिक्क परेको फल्याकले छापेको गोठ । गोठभित्र बाँधिएका थिए तीन वटा स–साना पाडापाडी र केही बाख्राहरु । बीचैमा थियो अगेना । थाकेको ज्यान र गह्रौ झोला एकैसाथ हामीले अगेना छेउमा बिछ्याइएको राडीमा बिसायौं । चियामा सातु मिसायौं । भोकाएको पेटलाई केही राहत मिल्यो । बाहिर दर्किरहेको पानीलाई वेवास्ता गर्दै चिया र सातुसँगै हामी गफिन थाल्यौँ ।
भीम बहादुर भण्डारी उमेरले ६५ लागे । ढोरपाटनबासीको दुई ठाउँमा स्थायी घरहरु हुन्छन् । ढोरपाटन र तल औलोमा । ढोरपाटनस्थित छेन्टुङ र तल औलो कुदुममा रहेका घरमा उनका जहान परिवार बस्छन् । वर्खाभरि भने प्रायः उनी बुकीकै गोठमा भेटिन्छन् । सानै उमेरदेखि उनी बुबालाई पछ्याउँदै बुकी उक्लन्थे । एक्लैले बुकीको गोठ धानेको चाँहि १६ वर्षको उमेरदेखि हो, उनी विगतमा थप्छन्, ‘उतिबेला हामीले लकरे र ढुक भन्ने लेकमा गोठ राख्थ्यौं । हामी दाजुभाई छुटिएपछि भने भाइले उताको गोठ समाल्न थाल्यो र म भने यहाँ आइपुगेँ । यहीँ ठाउँमा गोठ राखेको पनि वर्षले दश लाग्यो ।’
त्यसो भए जुनसुकै गाउँका गोठालाहरु जुनसुकै ठाउँमा गोठ राख्छन् त ? मनमा कौतुहलता जाग्छ । पुर्खौदेखि गोठ राख्दै आएका आ–आफ्नै छुट्टाछुट्टै लेकहरु हुँदा रहेछन् । निश्चित ठाउँमा गोठ राखेर निश्चित क्षेत्रमा चरण गर्ने स्थानीयहरुको आफ्नै प्रावधान हुने रहेछ । उनले अहिले गोठ राख्ने ठाउँहरु हुन् लामेलाको मेलथरी र मुलथरी । एक ठाउँको घाँसपात सकिएपछि गोठ महिना दिनमा सारिरहनु पर्ने झन्झट हुन्छ तर उनी यसलाई झन्झट मान्दैनन् । कामलाई सम्मान गरे जुन काममा पनि रमाउन सकिन्छ, उनले बाँचिरहेको जीवनले सिकाउँछ ।

काम नभए त अल्छी भइन्छ, रोगी भइन्छ, उनी थप्छन्, ‘मलाई यहाँ गोठमा चिया पकाएर पिउनेसम्म फुर्सद हुँदैन । एक्लैले यति धेरै गाईवस्तु धान्नु चानचुने कुरा हैन तर जति धेरै काम मिल्यो, त्यति नै आनन्द हुन्छ मनमा ।’ झिस्मिसे बिहानै उठेर उनी मोही पारेर नौनी निकाल्छन् । गाईभैँसीको गोबर सोहोरेर उनी चियामा सातु घोलेर पिइसक्दा उज्यालो छाइसक्छ । अनि दुहुनका लागि गाईभैँसी खोज्न डाँडा उक्लन्छन् । त्यसपछिको काम हुन्छ दुध तताउने । एक भारी घाँस काटेर आएपछि मात्र दिउँसोको आँटो पकाएर खाने फुर्सद मिल्छ । हात खालि राख्दैनन् उनी । फुर्सद मिल्नेबित्तिकै डोको, भकारी र थुन्से बुन्न कसिन्छन् । त्यसपछिको सन्ध्याकालिक काम हुन्छ, फेरि एक भारी घाँस काट्ने र गाईवस्तु खोजेर ल्याएर दुहुने । बेलुकाको भान्सा गर्दा त रात नै पर्छ । यो नै हो उनको दैनिकी जुन हरदिन दोहोरिन्छ । यहीँ व्यस्त दैनिकीमा रमाइरहेका उनलाई यहीँ अनकन्टार लेक स्वर्ग लाग्छ । अनि उनलाई यहीँ मिल्छ, स्वर्गीय आनन्द ।
गोठै घर, गाईवस्तु नै आफन्त । बुकी नै सबथोक । कहिलेकाहीँ कामले बुर्तिबाङ वा बाग्लुङ बजारसम्म पुग्दा पनि अत्यार लाग्छ । जता पुगेपनि मेरो मन त गोठतिरै फर्किहाल्छ, उनी भन्छन्, ‘तल औलोतिर झर्यो झिंगा, किरा र बच्चाहरुको झ्याउझ्याउले उस्तै दिक्क पार्छ । कहिलेकाहीँ बजार पुग्दा अत्यार लाग्छ । कहाँ यहाँ बुकीको चिसो हावापानी र शहरको त्यो हपहपी गर्मी । शहरतिर महिना दिन बसिए त विमारले च्याप्छ । यहाँको चिसो हावापानी र लेकको सागपात खाएपछि त त्यसै निरोगी । गोठमा दुःख छ तर दुखलाई दुखका रुपमा नलिएपछि त यहीँ ठाउँ नै स्वर्ग लाग्दो रहेछ ।’
ढोरपाटनका लेकहरुमा गोठालाहरुले गोठ राख्न थालेको करिब दुई तीन पुस्ता बित्यो । आजको दिनमा समय फेरियो । समयसँगै लेकमा गोठ लाने परम्परा पनि विस्तारै कम हुँदै गएको छ । शहर बजारमा सुकिला मुकिला लुगा लगाएर मिठोमसिनो खानेहरुलाई कहाँ गोठको गन्ध मन पर्छ र ? उनी भन्छन्, ‘घाम पानी, झरी, वर्खा नभनी दिनरात खटिने सामाथ्र्य अबको पुस्तामा कहाँ भेटिन्छ र ? दुध घिउ त सबैलाई मन पर्छ नि तर गोबर छुनसम्म घिन मान्छन् । भेडाको उनबाट तयार पारिएको राडी पाखीमा पलेटी कसेर बस्न मन पर्छ तर भेडापालनको दुःख थेग्ने कसको आँट अब ? अरुका के कुरा गर्नु, मेरै तीन छोराहरु र एक छोरी पनि आ–आफ्नै बाटो लागेका छन् ।’
यहाँका प्रायः गोठहरु कि त अर्धबैसे महिलाहरुले कुरिरहेका छन् कि त पुरुषहरुले । युवाहरु त कति पढाइका लागि शहर छन् त कति रोजगारका शिलशिलामा विदेश भासिएका छन् । बुढा बाआमाकै भरमा धानिरहेको गोठ प्रचलन समयसँगै लोप हुनेमा भीम बहादुर चिन्ता प्रकट गदर्छन् । उहिलेको जस्तो रौनकता आजकल बुकीमा भेटिदैन् । विगतमा फर्कदै उनी भन्छन्, ‘उहिले बुकीमा दर्जनौं गोठहरु हुन्थे । गोठ ल्याउने र लग्ने बेलामा त सानोतिनो मेला झैं लाग्थ्यो । लेकैभरि भेडाका बथानहरु चरिरहेका हुन्थे । माथिल्लो भेगका घोडाहरु फाँटमा एकतमास रमाइरहेका हुन्थे । गोठै भरि ससाना पाडापाडी हुन्थे । दुहुना भैँसी र गाईहरु नै दश बाह्र वटा हुन्थे । अनगिन्ती संख्यामा सुरक्षाका लागि पालेका भोटे कुकुरहरुले सिंगो लेकलाई नै सुरक्षा दिन्थे । आजकल त लेक नै सुनसान लाग्छ । उराठ लाग्छ । न बुकीमा धेरै गोठालाहरु र गाईवस्तु छन्, न सुरक्षा दिने भोटे कुकुर नै ।’
लामा लामा कान, बाक्लो भुत्ला र अजंगको शरीर । टाढाटाढासम्म सुनिने त्यो गर्जन । झट्ट हेर्दा भालु झैं लाग्ने । यो लेकको सुरक्षा गर्ने भोटे कुकुरको विशेषता हो । बुकीका गोठसँगै जोडिएर आउँछ भोटे कुकुर । भोटे कुकुर कै भरमा गोठालाहरु सयौं भेडाहरु खर्कमा चर्न छोडिदिन्थे । जंगली जनावर भनौं वा बाहिरी मान्छेबाट हरपल सुरक्षा दिने भोटे कुकुर भने समयसँगै मासिँदै गएको छ । अस्ली भोटे कुकुर प्रजातिकै कुकुरहरु आजको दिनमा फाट्टफुट्ट मात्र भेटिन्छन् । अन्य प्रजातिका कुकुरसँग मिसिएकाले यसको संरक्षणमा चुनौती रहेको उनी बताउँछन् ।
दुई कुकुरलाई गोठको जिम्मा लगाएर उनी माथि लेकतिर घाँस बटुल्न हिँड्छन् । उमेरले ६५ लागेपनि उनमा जोस जाँगर भने उस्तै छ । बुकी, बलेनी र सिम घाँस गाईवस्तुका लागि मन पर्ने घाँस हुन् । आजकल घाँस बटुल्न त्यति धौ छैन, उनी घाँस काट्दै सुनाउँछन्, ‘पहिला पहिला त धेरै गोठहरु हुन्थे र पो घाँसको हाहाकार हुन्थ्यो । आजकल त गोठहरु नि घटे । गोठमा पालिने गाईवस्तु नि घटे ।’
यी लेकहरु सबै ढोरपाटन सिकार आरक्षकै क्षेत्रभित्र पर्दछन् । कुनै समय गाईवस्तुले चरन क्षेत्र उपयोग गरेबापत निश्चित रकम आरक्षलाई तिर्नुपर्दथ्यो । आजकल भने त्यो रकम तिर्नुपर्दैन । लेकहरुमा गोठ राखेसँगै जंगली जनावरको चोरी शिकारी गर्ने, जंगलमा आगलानी गर्ने, जनावरको लिसोपासो गर्ने र काँचो रुखहरु काट्ने दर बढेको अनुमान आरक्षको छ । त्यसैले केही वर्षमा लेकमा गोठहरु राख्न प्रतिबन्ध लगाउने आरक्षको रणनीति गोठालाहरुले गाइगुइ सुनेका छन् । यति यस्तो नीति लागू हुने भए ती गोठालाहरुलाई वैकल्पिक व्यवस्था मिलाइदिनु पर्ने गोठालाहरुको माग छ ।
बुकीमा गोठ राख्ने प्रचलनसँग विविध आर्थिक र सामाजिक पाटाहरु जोडिएका छन् । गोठमा सयौं संख्यामा भेडा वा बाख्रापालन गरेर ढोरबासीहरुले सन्तानलाई डाक्टर, इन्जिनियर, शिक्षक वा कर्मचारी बनाए । गाईवस्तुको बिक्री वा यसबाट उत्पादन हुने दुध, घिउ वा ऊनबाट राम्रै आम्दानी गरेर जीविका चलाइरहेका छन् । सामाजिक एकता, मेलमिलाप र सद्भावको थलो हो बुकी । समय समयमा सबै गोठका गोठालाहरु एकै ठाउँमा जम्मा भएर सुख दुःखहरु बिसाउँछन् । लोप हुन लागेका यानीमाया र मयाली भाकालाई ब्युउताउँछन् । हराउँदै गएका पुराना संस्कार, परम्परा र लोक भाका संरक्षणमा बुकी गोठ प्रचलनले कतै न कतै योगदान दिइरहेको छ ।
बुकी उक्लने प्रचलन अब पुस्तान्तरण नहुनेमा दुखी छन् उनीजस्ता कैयौं भीम बहादुरहरु । सन्तानले धेरै दुःख नगरी तल औलोमा बस्न आग्रह गर्छन् । तर उनको मनले कहाँ मान्दो हो र ? काम नगरी बस्दैमा सुख मिल्छ भन्ने कहाँ छ र ? दुखै भएपनि उनको मन यतै रमाउँछ । मानवता हराएको शहरको धुँवा धुलो र होहल्लामा उनी अतालिन्छन् । कुनै रोगले नसमाते र ज्यानले साथ दिए त अझै आठ दश वर्ष गोठ धान्ने साहस छ उनमा ।
पर्यटकको हब बन्न उपयुक्त गन्तव्य हो ढोरपाटन । ढोरपाटन पुगेका पर्यटकलाई बुकी उकाल्न सके कति जाती हुन्थ्यो । बुकी फाँट, गोठको दैनिकी र त्यहाँको जनजीवनले कति जीवन सिकाउँदो हो ? बुकी पर्यटकले ढोरपाटनको पर्यटनमा अर्को आयम थप्न सक्थ्यो कि ? बुकीलाई व्यवस्थित गरेर बुकी पर्यटनसँगै बुकी गोठ परम्परालाई निरन्तर दिन सके सुनमा सुगन्ध जो मिल्थ्यो ।
गोठहरु बुकी नउक्लिनु, बुकी रित्तिनु मात्र हैन, बुकीसँगै भीम बहादुरजस्ता बुकी कुरिबसेका गोठालाहरुका दैनिकीहरु पनि रित्तिनु हो । उनी जीवितै हुँदा सिंगो बुकी रित्तिदा उनको मन कति रितिएला ? कुनै हिसाबकिताब छैन । साच्चै, यी तमाम भीम बहादुरहरुले समयसँगै बिर्सेलान् त मन भित्र गडेर बसेका बुकीका स्मृतिहरु..





