पोखरा/ शनिवार गण्डकी प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापाले पोखरा ८ फिर्केखोला किनारमा रहेको बंगालेटोल सामुदायिक भवनको उद्घाटन गरे । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा भवनको उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । फोटोसहितको स्टाटसमा भनिएको छ,‘सुन्दरमार्ग टोल विकास संस्थाले पोखरा महानगरपालिका वडा नं ८ बगालेटोलमा निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनको आज उद्घाटन गर्न पाउँदा खुशी लागेको छ । स्थानीय बासिन्दासँगै विभिन्न निकाय तथा व्यक्तित्वबाट अर्थ संकलन गरी निर्माण भएको सामुदायिक भवनको स्थापनाले सामाजिक, धार्मिकलगायतका अन्य कार्यक्रमहरु आयोजना गर्न सहज हुने विश्वास लिएको छु ।’
कानूनमन्त्री थापाले जुन भवनको उद्घाटन गरे त्यो भवन पूर्ण रुपमा मापदण्ड विपरीत रहेको छ । पोखराको बीच भागबाट बग्ने फिर्के खोलालाई अतिक्रमण गरी भवन निमार्ण गरिएको छ । जसका लागि प्रदेश सरकारले ७ लाख रुपैयाँ र पोखरा महानगरपालिका वडा ८ को कार्यालयले ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
वहालवाला मन्त्रीले नै अतिक्रमणलाई वैधानिकता दिनेगरी उद्घाटन गरेको भन्दै नागरिक समाजले विरोध गरेको छ । नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले आफूहरुले फिर्के अतिक्रमण विरुद्ध अख्तियारमा उजुरी दिएको बताएका छन् । ‘फिर्केखोलाको मापदण्ड विपरीत संरचना निर्माण गर्नेविरुद्ध कारवाहीको पहल गर्नुपर्नेमा पोखरा महानगरपालिका र प्रदेशको बजेट खर्चेर मन्त्री नै प्रमुख अतिथि बनेर उद्घाटन गरेपछि दण्डहीनता किन मौलाउँदैन?’ उनले प्रश्न गरेका छन् ।
यो उदाहरणमात्रै हो । पोखराको वडा नम्बर १८ अँधेरीकुनादेखि सुरु भइ वडा नम्बर २, ४, ६ ८, ७, ६ हुँदै वडा नम्बर १७ मा पुगी फेवातालमा समाहित हुने फिर्के खोला चरम अतिक्रमणको चपेटामा छ । यो
बीचमा पर्ने विभिन्न सरकारी, गैरसरकारी संघ संस्थादेखि घरसम्म रहेका पौडेल बताउँछन् ।
संरचना निर्माण भइरहेको र पटकपटक जानकारी गराउँदासमेत पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको पौडेलले आरोप छ ।
फिर्के खोला अतिक्रमण गरेर संरचना निर्माण भएको भन्दै यस अघि पनि उजुरी परेको थियो । फिर्के अतिक्रमण नरोकिएपछि पुनः अख्तियारमा उजुरी परेको छ । गत चैत १६ गते निवेदन परेको थियो । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराका प्रमुख कोशहरि निरौलाले जग्गाधनीले आफूखुसी संरचना निमार्ण गरेको भन्दै उजुरी परेको बताएका थिए ।
पौडेलका अनुसार पोखराको बीच भागबाट बग्ने फिर्के र बुलौंदी खोला मानवीय अतिक्रमणको चपेटामा परेका छन् । करिब ८ किलोमिटर लामो फिर्के खोला ठाउँ अनुसार ४ देखि २४ मिटरसम्म फराकिलो छ । खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण देखिएको उनको भनाइ छ । फिर्के किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । मापदण्ड १० मिटर भए पनि अनुगमन नहुँदा अतिक्रमण रोकिएको छैन । खोला आसपासमा सुकुम्बासी बस्ती पनि बढ्दो छ । खोलावरपर २ सयभन्दा बढी घर मापदण्ड विपरीत बनेका उनले बताए । आफुहरुले पोखराको संरक्षणका लागि बारम्बार सम्बन्धित निकायलाइ गुहार माग्दापनि कहिँ कतैबाट सुनुवाइ नभएको उनले गुनासो पोखे ।
पोखरा महानगरपालिका वडा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पहिलेदेखी भवन बनेको र सोही भवनका लागि वडाले ३ लाख रुपैयाँ बजेट दिएको बताए । ‘हामीले ३ लाख प्रदेश सरकारले ७ लाख रुपैयाँ दिएको हो । पहिलादेखि नै बनेको भवन भएर हामीले बजेट दिएका हौ’, उनले भने ।





