दुखका साथ भन्नुपर्छ मैले शीर्षकमा राखेको अपाङ्गता शब्द प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत शब्द कोषमा छैन । नेपालकै विज्ञले बनाएको शब्दकोषमा त्यत्रो आन्दोलनबाट आएको शब्द नहुनु पीडादायी छ । यसले थाहा हुन्छ अपाङ्गता आन्दोलन र यसबाट सिरजित नयाँ उपलब्धीप्रति देशका विज्ञ बेखबर छन् । अपाङ्गताका विभिन्न शब्दलाई निकै अपमानजनक ढङ्गले व्याख्या गरिएको छ । यो सबै पढेपद्धि उनीहरूको विज्ञता छर्लङ्गै थाहा हुन्छ ।
दया, माया र विचाराको भावले केही पहल भए पनि अधिकारको हिसाबले २०४६ सालको जनआन्दोलनले अपाङ्गता आन्दोलनको ढोका खोलिदिएको थियो । त्यसपछि विस्तारै अपाङ्गता आन्दोलनले गति लिन थालेको पाइन्छ ।
अन्तर्राष्ट्रिय परिवेशलाई हेर्दा राष्ट्र संघले सन् १९८१ लाई अन्तराष्ट्रिय अपाङ्ग वर्ष घोषणा गरेपछि विश्वव्यापी रूपमा बहसको सुरूवात भयो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सन् १९८२ मा दश वर्षीय विश्व कार्योजना पारित ग¥यो त्यसपछि अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य व्यक्ति सरह व्यवहारका लागि उत्प्रेरित गर्न सन् १९९२ सम्मलाई विश्व अपाङ्गता दशक पनि घोषणा गरियो । सन् १९९२ को डिसिम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रूपमा मनाउने निर्णयसहित आफ्ना सदस्य राष्ट्रलाई पनि मनाउन आग्रह ग¥यो । सोही वर्षदेखि नेपालमा पनि डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउन थालियो ।
यो बीचमा नेपालमा पनि अपाङ्गता आन्दोलनले राम्रो गति लियो । हाम्रो स्पष्ट पहिचानका लागि परिचय पत्रको व्यवस्था भयो । सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधा पनि थपिँदै छन्। जनचेतना बढ्दै छ । अपाङ्गता भएका केही व्यक्तिहरू रोजगारीमा पनि छन्। यो महत्वपूर्ण उपलब्धी हो ।
अबको बाटो
१ पहुँचमा वृद्धि
सामान्यतः पहुँच भन्नाले कुनै ठाउँमा पुग्नु वा त्यहाँको वस्तु स्थितिमा आफ्नो उपस्थिति देखाउनु भन्ने बुझिन्छ । पहुँचका विषयमा केही उपलब्धी भए पनि धेरै हुनु आवश्यक छ । पहिलो कुरो संसदमा हाम्रो पहुँच नभएसम्म हामी मैत्री कानुन बन्न सक्दैन । समावेशीताको कुरालाई हेर्दा हामी अझै सन् १९५० तिर भएको पाइन्छ । त्यतिबेला जो भए नि आफ्नो कुरा राखिदिए हुन्छ भन्ने मान्यता थियो । त्यसपछि आफ्नो कुरा राख्न वा निर्णय गराउन आफै समावेश हुनुपर्छ भन्ने धारणा आयो ।
आजकल आफ्नो कुरा राख्न आफै निर्णयक संख्यामा उपस्थित हुनुपर्छ भन्ने मान्यता छ । यस्तो अवस्थामा १९५० को अघिको अवस्थामा हामी हुनु दुःखद छ । यसका साथै भौतिक संरचना बाटोघाटो आदि पनि पहुँचयुक्त छैन । सरकारी तथा गैरसरकारी कार्यालय स्पताल शिक्षण संस्था आदिमा पनि हाम्रो सहज पहुँच छैन। यसले गर्दा हाम्रो क्षमतामा कहिल्यै विश्वास दिलाउन सकिएको छैन । हामी जति विज्ञ भएपनि प्रशिक्षक भए पनि प्रशिक्षण गर्ने ठाउँमा कसैले बोकेर वा डोहो¥याएर लाने बित्तिकै विचाराको सोचले घेरिहाल्छ । त्यसैले पहुँचमा हाम्रो ध्यान जानु आवश्यक छ ।
२ व्यक्तित्व विकास
व्यक्तित्व व्यक्तिको पहिचान पनि हो । यसले आफ्नो क्षमता व्यक्त गरि अरूलाई विश्वास दिलाउन सक्छ । यो कुरा विशेष गरि विद्यालयस्तरमा ध्यान दिनुपर्छ । आजकल पनि विद्यालयले भौतिक संरचनाको मात्र अपेक्षा गरेको पाइन्छ। दात्री निकायलाई पनि स्पष्ट देखाउन मिल्ने हुँदा यतै ध्यान गएको पाइन्छ । अबको समयमा बस्ने ठाउँ नै नभएका विद्यालय सायदै होलान् ! त्यसैले राम्रो देखाउन वा धेरै देखाउन भौतिक संरचना मात्र बढाउन नलागौँ । त्यो पैसाले विद्यार्थीको बोल्ने लेख्ने सीपको विकास गराउन सकिन्छ। आवश्यकता अनुसार प्राविधिक सीप संगीत आदिमा लगानि गर्न सके विद्यार्थीको व्यक्तित्व विकास हुन्छ । यसले रोजगारीमा प्रत्यक्ष फाइदा त हुन्छ नै क्षमताको विकास र प्रस्फुटन गर्ने कलामा पनि विकास हुन्छ ।
३ रोजगारीको क्षेत्र विस्तार
रोजगारिको क्षेत्र विस्तार भन्नाले नयाँनयाँ अवसरको खोजिभन्ने बुझिन्छ । अहिले हाम्रो रोजगारीको क्षेत्र सीमित छ त्यसैले धेरैजना बेरोजगार हुन परेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने साथीहरूले सुरक्षित महुस गर्न सक्नु भएको छैन । फलस्वरूप सबैको द्यान शिक्षण पेसामा मात्र छ। राम्रो व्यक्तित्व विकास नहुनु वा व्यक्तित्व विकासको अवसर नपाउनु, कोटा कम हुनु र अन्य पेसामा रुची भएर पनि यै पेसामा सुरक्षित महुसुस गर्ने मानसिकता हुनुआदि कारणले गर्दा बेरोजगारी बढेको छ । संगीत क्षेत्रमा काम गर्ने साथीहरू मा.विको शिक्षकले भन्दा बढी कमाउनु हुन्छ तर अध्यापन अनुमति पत्रको परिक्षा दिन मरिमेटेर लाग्नु हुन्छ ।
यसको कारण एउटै हो यो पेसा अनौपचारिक भएको हुँदा सुरक्षित महुसुस भएको छैन । कोरोना लगायत महामारीले बीचमा ठप्प आम्दानी रोकिदिनु आदि यसका कारण हुन सक्छ। कुनै पेसामा ऊ दख्खल राख्छ तर सुरक्षाको कमिले शिक्षण पेसामै आउँछ भने त्यसलाई सुरक्षाको ग्यारेण्टीसहित उतै रोक्ने योजना बनाउनुपर्छ । अनौपचारिक रूपमा धूप अगरबत्ति आदि बेच्ने अपाङ्गता भएका व्यक्तिलाई एउटा पहिचानका साथ तालिम दिएर काम सानो ठूलो हुन्न भन्ने भावना विकास गराई खटाउन सकिन्छ ।
यसले यो पेसालाई पनि मर्यादित गराइ रोजगारीको ठूलो अवसर सिर्जना हुन सक्छ। काँखमा बच्चा च्यापेर सडकमा गीत गाउनेहरूलाई पनि व्यवस्थित गर्न अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाहरूले उचित पहलकदमी लिनुपर्छ । उनीहरूको बाध्यतालाई महसुस गरी मर्यादित तवरले उही पेसा गर्ने वातावरण मिलाउनुपर्छ । अरू कुरा छोडौँ फरक लक्षय र उद्देश्य बोकेर अर्कै सङ्काय पढेकाहरू पनि आइएड,बीएड गरेर शिक्षण पेसामै आउनु झन दुःखद हो । अर्कै पेसामा रुचि हुनेहरू प्रक्रिया मिलार शिक्षण पेसामा आएपनि शिक्षणमै रुचि हुनेहरूको जस्तो कार्य सम्पादन हुन सक्दैन ।यसकारण व्यक्ति पनि सक्रिय भइ आँट गरि अलिकति जोखिम लिइ आफ्नो रुचिको पेसा अँगाल्नु राम्रो हुन्छ ।
४ सोँचमा परिवर्तन
व्यक्तित्व विकास गर्नु आर्थिक रूपमा दक्ष हुनु महत्वपूर्ण छ तर यो भन्दा पनि ठूलो कुरा सोचमा परिवर्तन ल्याउनु जरूरी छ । यदि हामी आर्थिक रूपमा जति दक्ष भए पनि समाजको हेर्ने सोचमा परिवर्तन आएको छैन भने त्यसले हामीलाई आत्मसम्मान दिलाउँदैन । एउटा अपाङ्गता भएको व्यक्ति आर्थिक रूपमा दक्ष छ र ऊ कारमा हिँड्छ भने पनि ऊ एउटा माग्नेको नजरमा विचरा नै हो किनकि समाजको सोच नै यै हुन्छ । नविनतम चिन्तनका साथ वकालत पैरवी गरेर समाजको सोचमा परिवर्तन ल्याउन सकिन्छ ।





