पोखरा/ पोखरा महानगरपालिकाले फेवातालको चारकिल्ला भित्र पर्ने अनधिकृत संरचना हटाउने भएको छ । महानगरले शुक्रबार सुरक्षा तथा निरीक्षण शाखालाई पत्राचार गरि फेवाताल क्षेत्रभित्रका ६ वटा वडाभित्र बनेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरपालिकाले फेवातालको बारेमा सर्वोच्च अदालतले गरेको फैसलालाई आधार मान्दै आदेश विपरीत निर्माण नगर्न र निर्माण भएको पाइएमा तत्काल हटाउन भनेको हो ।महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीले स्थानीय प्रशासनको सहयोगमा ती संरचना हटाउन निर्देशन दिएका हुन ।
‘पोखरा महानगरपालिका वडा नं, ६, १७, १८, २२, २३ र २४ मा स्थित फेवातालको मापदण्ड भित्र सम्मानित सर्वोच्च अदालतको मिति २०७५।०१।१६ को फैसला बमोजिम फेवातालको ६५ मिटरसम्मको मापदण्डको भू–भागमा भवन लगायत फेवातालको संरक्षणमा असर पर्ने कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण गर्नुपर्ने भनी आदेश भएकाले सो आदेश विपरित कोही कसैले निर्माण कार्य नगर्न नगराउनु हुन् उक्त आदेश विपरित निर्माण कार्य गरेको पाइएमा तत्काल रोक्का राखी स्थानीय सरकार संचालन ऐन २०७४ दफा ३९ उपदफा (१) (२) (३ (४) (५) दफा ४१ को उपदफा (१) र (२) बमोजिम प्रदेश सरकार, स्थानीय प्रशासनको सहयोगमा हटाउनको लागि २०७९।०५।३१ को निर्णयानुसार निर्णय कार्यान्वयन गर्नुहन जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।
महानगरले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सहित जिल्ला प्रशासन, जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय सहित तालक्षेत्रमा पर्ने ६ वटै वडालाई समन्वयको लागि अनुरोध पनि गरेको छ ।





