पोखरा/ आत्महत्याको सोच नै दानवीय सोच भएकोमा एक कार्यक्रमका वक्ताहरु सहमत भएका छन् । खुसी र दुःखलाई अवसरको रुपमा लिने तथा जीवनमा दोस्रो मौका आउँछ भन्ने सोचले आत्महत्या रोक्न सकिने पनि उनीहरुले सुझाएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा आइतबार पोखरामा सम्पन्न आत्महत्या न्यूनीकरणसम्बन्धी जनचेतनामुलक कार्यक्रमका सहभागीहरुले सो धारणा राखेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीका अनुसार पछिल्लो समय १५ देखि २९ वर्ष उमेर समूहमा आत्महत्याको डरलाग्दो रोग सरेको छ । उनले आत्महत्याको खबरले सुन्नेको मन खिन्न बनाउने, चिन्नेलाइ रुवाउने र आफन्तलाई जीवनभर घाउ दिने हुनाले पनि यसको रोकथाम अपरिहार्य रहेकोमा जोड दिए ।
सो सो कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आत्महत्या समस्याको समाधान नभएर समाजको रोग हो भएको ब ताए । उनले आत्महत्या रोकथामको लागि सामूहिक प्रयासको
खाँचो औंल्याए । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले हालको समयमा सामाजिक सञ्जालको प्रयोग र अनैतिक सम्बन्धका कारण आत्महत्या गर्ने संख्या बढेकोले सामाजिक सञ्जालको सही प्रयोग र कुशल सम्बन्धका विषयमा पनि ध्यान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रदेश मुख्य न्यायधिवक्ता रोहितराज वास्तोला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलगायतले आत्महत्याले समाजमा पारेको असरबारेमा बोलेका थिए ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डाक्टर वसन्त ढुङगानाले आत्महत्या गर्न इच्छुक व्यक्तिहरुमा देखा पर्ने लक्षण, रोकथामका उपायहरु र सहयोग गर्ने तरिकाहरुका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले आत्महत्या न्यूनीकरण प्रहरी एक्लैको प्रयासमा सफल नहुने भएकोले सामाजमा रहेका विभिन्न संघ–संस्थाले सघाउनुपर्ने बताएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले गण्डकी प्रदेशमा आत्महत्या गरेको तथ्याङक विश्लेषण गर्नुका साथै आत्महत्यासम्बन्धी कास्कीमा भएका कहालीलाग्दा घटनाहरुको विवरण प्रस्तुत गरेका थिए ।





