मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कसरी पुगे घान्दु्रकका गुरुङहरु तकसेरा ?

कसरी पुगे घान्दु्रकका गुरुङहरु तकसेरा ?


  • दिवस गुरुङ
  • असोज ३ २०७९, सोमबार

तकसेरा गाउँ, पूर्वी रुकुम । मगर जातिको बाहुल्यता रहेको सुन्दर गाउँ । गुरिल्ला पदयात्राको बाइसौं दिनमा म यही गाउँको आँगनमा पुगेथेँ । सामाजिक सञ्चालनमा चर्चामा रहने यो गाउँको सुन्दर दृश्यहरु देख्दा मेरो मन पनि छिनभरमै तकसेरा पुगिजान्थ्यो । स्वयं आफैं तकसेरा पुग्दा अघाउन्जेल गाउँ नियालेँ । बिछट्टै सुन्दर देखिने गाउँ घुम्न थप एकदिन छुट्टयाएँ ।

मगर जातिको बाहुल्यता रहेको यस गाउँमा गुरुङहरु पनि बस्छन् नि, मैले एक जना स्थानीयबाट यो जानकारी थाहा पाएँ । गण्डकी भेगका जिल्लाहरुमा बसोबास गर्ने गुरुङहरु कसरी यहाँ आइपुगे होलान् ? मनमा कौतुहलता जाग्यो । मनको जिज्ञासाहरु मेटाउन म पुगेँ, कुलमान गुरुङलाई भेट्न ।

तका गाउँको पूर्वपट्टि उनको घर रहेछ ।उमेरले ६५ पुगेका गुरुङ माटाले बनेको घरको माथिल्लो तलमा भेटिए । मेरो गाउँ र तपाईंको पुख्र्यौली घर घान्दु्रक त एउटै गाउँपालिका हो बा, गफगाफको सुरुवात म यहीँबाट गर्छु । एउटै गाउँठाउँको मान्छे भेटिँदा उनको मुहारमा पनि उत्सुकता झल्किएको भान हुन्थ्यो । अनि हामी इतिहासतर्फ मोडिन्छौं ।

उनलाई ठ्याक्कै ज्ञान छैन, उनको कुन पुस्ता पहिलोपल्ट घान्दु्रकबाट तकसेरा कहिले आएका थिए । रुकुम र रोल्पाका बिर्गुम, जुमुलबाङ, सेरबाङलगायतका ठाउँहरुमा तामा र फलाम खानीहरु थिए । रोजगारकै शिलशिलामा उनका जिजुहजुरबाअघिका पुस्ताहरु घान्दु्रकबाट यहाँसम्म आएका थिए । उनी भन्छन्, ‘कामको खोजीमा आएका मेरा पुस्ताहरु यतै भुलेछन् । उनीहरु घर फर्केनछन् ।

यतै तकसेराका मगर्नीहरुसँग विहेवारी गरेर यतै घर बसाले । अनि यहीँ परम्परा आजको पुस्तासम्म चलिरहेको छ । घान्दु्रकमा हाम्रा पुख्र्लौलीबारे खोज्ने र बुझ्ने चासो न मेरा हजुरबाहरुले गरे न मेरा बाहरुले नै । पुख्र्यौली थलो भन्ने थाहा भएपनि ठ्याक्कै कुन गाउँ भन्ने अझै ज्ञान छैन ।’

हजुरबाले मगर्नी नै विहे गरे । बाले पनि मगर्नी आमा भित्र्याए,उनका । यहीँ क्रम उनको पुस्ता हुँदै छोरा निरन्तर चलिआएको छ । उनकी हजुरआमा, आमा, श्रीमती, बुहारी सबै मगर्नी परिवारका । परपुर्खा गुरुङ भएपनि मगर बस्तीमा घुलमिल भए । पछि उनीहरुले मगर संस्कृति र परम्पराहरु नै अंगालेका छन् । फरर मगर भाषा बोल्छन् । पुरानामगर भाकाका गीत गुनगुनाउँछन् र नाच्छन् मगर नाचहरुमा । ‘साथीहरुले जिस्क्याउँदा यिनीहरु नाम मात्रका गुरुङ हुन् । यिनीहरुलाई लखेटेर घान्दु्रक पु¥याउनुपर्छ भन्थे,’ उनी हाँस्दै सुनाउँछन् ।

कहिले पुख्र्यौली थलो पुग्ने रहर वा हुटहुटी जागेन त ? म उनलाई पुर्खा थलोप्रतिको प्रेम दर्साउँदै उनलाई प्रश्न तेस्र्याउँछु । वि.सं. २०३५ सालको त्यो पुरानो घटनालाई स्मरण गर्दै उनी विगतमा यसरी फर्कन्छन्, ‘मेरो एक जना सालो केटो थियो । इन्डिया लाहुर जान्छु भनेर तकसेराबाट हिँडेको वर्षौ दिनसम्म पनि कुनै थाहा खबर आएन । लाहुर नपसी ऊ त पोखरातिर काम गरेर बसेको खबर पाएपछि म र एक जना साथी मिलेर उनलाई खोज्न पोखरा लाग्यौं । उतिबेला हिँडेर हप्तादिनमा पोखरा पुग्यौं ।

भैरवटोलको एक पाकदारी हवलदारको होटलमा सबै जानकारी पाइन्छ भनेर पुग्दा त्यहाँ कुनै जानकारी भेटिएन । पछि मात्र बिरेठाटीमा एक होटलमा काम गर्दैछ भन्ने खबर पाएर हामी त्यतै हानियौं । बिहान पोखराबाट पैदल हिँडेको हामी साँझ ६ बजे बिरेठाटी आइपुग्यौं । सालो केटालाई त्यहीँ भेट्यौं । उसैबाट थाहा भयो, हाम्रो पुख्र्यौली घर घान्दु्रक यहाँबाट तीन चार घण्टा पुगिँदोरहेछ । पुख्र्यौली गाउँ पुग्ने रहर थियो तर खर्चपर्च र समय अभावले हामी अर्को दिन बिहानै पोखरा फक्र्यौं । अनि तानसेन हुँदै नुन र रासन बोकेर तकसेरा आइपुग्यौं ।’

पुख्र्यौली गाउँ पुग्ने उनको रहर त्यसपछि कहिल्यै पूरा भएन । दुई छोरा र छोरीहरु सबै आ–आफ्ना बाटा लागिसके । कोही दाङ त कोही काठमाडौंतिर छन्,आफन्तहरु ।उनीहरु बुढाबुढी भने तकसेरामै बस्छन् । मगर रहनसहन, भाषा र संस्कृतिमै घुलमिल भएकाउनलाई आफ्नो गुरुङ जातप्रति सम्मान छ । गुरुङ हुनुको गर्व उनमा अझै छ । उमेरले ६ दशक काटिसकेका उनमा भने अझै एउटा पिरलो छ, अब त पुख्र्यौली गाउँ पनि देख्न नपाइएला !
. . . . . . . . .
घान्दु्रकका लामिछाने, लामा र घले गुरुङहरु तकसेरामा अझै भेटिन्छन् । पहिले ठूलै गुरुङ बस्ती नैथियो, यहाँ । पछिल्लो समय बसाइँसराइ गरेर धेरै त दाङ, पोखरा र काठमाडौंमा पुगेका छन् । बाँकी करिब १२/१५ घरधुरी मात्र गुरुङका भेटिन्छन् । २०७४ सालको स्थानीय निर्वाचनमा तकसेरा वडाबाट वडाध्यक्षमा विजयी भएका ज्योतिमान गुरुङ गाउँमै छन् भन्ने खबर मैले पाए, अनि म कुदेँ, उनीसँग भलाकुसारी गर्न ।

घान्दुु्रकदेखि तकसेरासम्म उनको पुस्ता आउनु पछाडिको कारण चाँहि उनी अर्कै ठान्छन् । उनका जिजुहजुरबा लालबहादुर गुरुङ सरकारी जागिरमा आवद्द थिए । तिनताकाको सरकारले नै तिरो उठाउन उनलाई राजधानीबाट तकसेरा खटाएका थिए । जागिरको शिलशिलामा तकसेरा आइपुगेका उनी यतै रमाएछन् । अनि यतै घरजम गरेर बसेका रहेछन् । तकसेरामा रहेका लामा र घले गुरुङका पुस्ता भने उतिबेला फलाम खानीमा ठेकदार एवं कामदारका रुपमा भित्रिएको उनको बुझाइ छ ।

उनका जिजुहजुरबुबा पछिका पुस्ताहरु सबै यतै अडिए । अनि उनी पनि यहीँ तकसेरामा जन्मिए ।बाल्यकाल उनको मगर रहनसहन अनि संस्कार मै बित्यो । थर गुरुङ । तैपनि मगर भाषा नै उनको मातृभाषा बन्यो । उतिबेला न पढ्नेहरु हुन्थे न पढाउने हैसियत नै परिवारको । तर,सानैदेखि उनको पढाइप्रति लगाव भने बेग्लै थियो । पढाइकै लागि उनी वि.सं. २०४२ सालमा गुल्मी पुगे । उतैबाट ०५४ सालमा एसएलसी उत्तीर्ण गरे । त्यतिबेला एसएलसी उत्तीण गर्ने नै देशभरबाट कम हुन्थे । औंलामा गन्न सकिने । विद्यालय कालदेखि नै उनी राजनीति प्रति औधो चासो राख्थे । पढाइमा त अब्बल थिए नै, राजनीतिमा पनि उनले बलियो जग बसाले । विद्यालयमा विद्यार्थी संगठन हुँदै आरआरसम्म उनको युवा संगठनमा सक्रियता रहिरह्यो ।

०५७ सालमा उनले एमाले पार्टीबाट रुकुम जिल्ला कमिति सदस्यता लिए । माओवादी द्वन्द्वकालको उत्कर्षमा ज्यान जोगाउन धेरै वर्ष राजधानीतिरै बिताए । राजनीतिमा खारिँदै गएका उनी ०६४ सालमा एमाले जिल्ला इन्चार्जसमेत भए । २०७४ सालको संघीयतापछिको पहिलो निर्वाचनमा त उनी वडा अध्यक्षमा विजयी नै भए ।

राजनीतिलाई आफ्नो धर्म ठान्ने उनी आफ्नो कार्यकालभर जनताकै सेवामा समर्पित बने । मगरहरुको बाहुल्यता रहेको भेगमा वडा अध्यक्षमा गुरुङ निर्वाचित हुनु चानचुने चुनौती थिएन । त्यो पनि माओवादीको पकड क्षेत्रमा । राजनीतिप्रतिको आस्था र उनको इमानदारिता कै कारणले उनले जनता र पार्टी दुवैको मन जित्न सके ।

शैक्षिक पृष्ठभूमि हुनु र नहुनुमा राजनीतिक जीवनमा ठूलो अन्तर राख्छ, उनको राजनीति जीवनले छर्लङ्ग पार्दछ । पाँचवर्षे कार्यकालमा उनले गाउँगाउँमा बाटो पु¥याए । विद्युतले गाउँहरु झलमल्ल बने । ढोरपाटन शिकार आरक्ष र स्थानीयबीचको सम्बन्धलाई सुमधुर बनाउने उनको प्रयास प्रशंसनीय छ ।जनताहरुले उनको कार्यकाललाई अझै पनि सम्झिरहन्छन् ।

उनै गुरुङलाई भने आफ्नो पुर्खा खोज्ने रहर जाग्यो । उनी दुईपटक घान्दु्रक मात्र पुगेनन्, आफ्ना पुर्खाहरु खोजेर आफन्तसँग चिनजानसमेत गरेर फर्के । उनकै घान्दु्रक पुख्र्यौली रहेका काकाहरु अहिले काठमाडौंमा बस्छन् । समयसमयमा उनी आफन्तसँग भेटघाटका लागि समय छुट्टयाउँछन् ।

चार–पाँच पुस्ता रुकुमको काखमा बितिसक्दा भने उनलाई यही स्वर्ग लाग्छ । उनका आफन्तहरु कोही दाङ झरे त कोही काठमाडौं पुगे तर उनलाई भने तकसेरा प्यारो लाग्छ । पछि सन्तानहरु अन्तै गए जाऊन, मेरो त यहीँ अन्तिम सास फेर्ने धोको छ, उनी सुनाउँछन् ।

साँच्चै, राम्रो खाना, लाउन र परिवार पाल्न ज्योतिमानका जिजुबा जस्ता कैयौं पुस्ताहरु थातथलो छाड्न बाध्य थिए । यो नियति आज पनि निरन्तर छ । कति विदेशिएकाहरु त देश नै फर्किएका छैनन् । कति रहरले त कति बाध्यताले । आफ्नै जन्मभूमिमा सधैं भर अडिरहनलाई सरकारले कहिले गाँस, बास र कपासको सुनिश्चितता गर्ला ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->