पोखरा/ नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्की जिल्ला अध्यक्षमा बलराम लाम्गादे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
१२ वर्षपछि भएको समाजको ७ औं जिल्ला सम्मेलनले ७० जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सम्मेलनले बलरामको नेतृत्वमा ७ जना पदाधिकारीसहित ७० जना निर्वाचित गरेको हो । ७५ जना समिति रहेको जिल्ला कमिटिका विभिन्न भुगोल, महिला, खुला र मनोनित सदस्य रहनेछन् । समाजको उपाध्यक्षमा सर्मिला विश्वकर्मा र सरस्वती परियार, सचिवमा रामचन्द्र नेपाली (रोहित), सह–सचिवमा निरञ्जन विक र मेलिना नेपाली तथा कोषाध्यक्षमा खड्गबहादुर सुनार सर्वसम्मत चयन भएका हुन् । यस्तै जिल्ला सम्मेलनले पोखरा महानगरपालिकाबाट १५ जना, रुपा गाउँपालिका ७,मादी गाउँपालिका ७, माछापुच्छे्र गाउँपालिका ७ र अन्नपुर्ण गाउँपालिकाबाट ७ जना सदस्य चयन गरेको छ । खुल्ला तर्फबाट १५ जना, महिला तर्फबाट १५ जना चयन गरेको नव निर्वाचित अध्यक्ष लामगादेले जानकारी दिए । उनका अनुसार ५ जना सदस्य मनोनित गरेर ल्याइने छ ।
अध्यक्षमा निर्वाचित भएका उनले दलित आन्दोलनलाइ थप सशक्त बनाएर अघि बढाउने बताए । यसअघि सह–सचिव रहेका उनले अघिल्लो कार्यसमितिमा काम गर्ने व्यक्ति नभएको र नयाँ कार्यसमितिमा जुझारु व्यक्तिहरु आएकाले संगठनलाइ बलियो बनाएर लाने प्रतिबद्धता व्यक्त गरे ।
‘१२ वर्षसम्म संगठनको नेतृत्व फेरिएन । अब नयाँ नेतृत्व आएको छ । हामी पार्टीमा हाम्रा मागलाइ बलियो रुपमा प्रस्तुत गर्नेछाँै’। उनले भने,‘ हाम्रो माग राख्ने पहिलो क्षेत्र भनेकै पार्टी हो । हामी पार्टीमै लड्नेछौँ ।’ उनले पार्टीबाट निर्वाचनको समयमा समानुपातिकतर्फ धेरैभन्दा धेरै दलित समुदायका व्यक्तिलाइ समावेश गराउनका लागि दवाव दिनेसमेत बताए । उनले पार्टीभित्रै पनि आरक्षणको अधिकार पाउँदा समेत विभिन्न कोणबाट आरोप लगाउँदै अधिकार दिनबाट बन्चित गराएको आरोपसमेत लगाए । उनले संविधानमा लेखिएका कुराहरु पानामा मात्रै सीमित नगराइ कार्यान्वयनमा ल्याउनका लािग जोड दिने सुनाए ।
जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले पार्टीका नेताले वास्ता नगरेको गुनासो पोखे । उनले पार्टीकै संगठनको कार्यक्रममा समेत नेताहरु उपस्थिति नुहुने र भएपनि भाषण गरेर जाने गरेको बताए । नेताहरुको व्यवहारबाट पार्टीमा लागेर दलितको अधिकार प्राप्त नहुने हो कि भन्ने आशंका देखिएको उनको भनाइ रहेको छ ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवम् अनुशासन विभाग अध्यक्ष गोविन्द नेपाली, कास्की इन्चार्ज कृष्ण थापा, गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी, प्रेम विक, लालबहादुर परियार, निर्मल दियालीलगायतले आफ्नो भनाइ राखेका थिए ।





