रुसी सेना युक्रेनबाट हतारहतार पछि हट्दै गरेको दृश्य असाधारण हो । तर, यसलाई आश्चर्यजनक मानिनु हुँदैन । सुरुवातदेखि नै रुसले सोचेजस्तो भएन यो युद्ध । २४ फेबु्रअरीमा आक्रमण सुरु गर्दा भ्लादिमिर पुटिनले जसरी तीव्र गतिमा विजय हात पार्ने योजना बुनेका थिए, त्यो प्राप्त गर्न उनी असफल रहे । अप्रिलसम्ममा किभवरिपरि घुसपैठ गरेका रुसी सेनाहरु अपमानजनक ढंगले पछि हट्न बाध्य भए ।
गएको ६ महिनामा रुसले प्राप्त गरेको सीमित सफलताको बदलामा पनि उसले ठूलो मूल्य चुकाएको छ । युद्धको सुरुमा आक्रमणका लागि रुसले तयार गरेको सैनिकको संख्या करिब २ लाख थियो । आक्रमण सुरु भएयता उसका ७० हजारदेखि ८० हजार सैनिक मारिएको वा घाइते भएको आकलन अमेरिकाले गरेको छ ।
आफू युद्धमा सहभागी भएको तथ्य रुसले स्वीकार गर्न चाहेको छैन । त्यसैकारण पुटिनले अनिवार्य भर्तीको आदेश दिन मानेका छैनन् । त्यसविपरीत युक्रेनले भने उमेर पुगेका सम्पूर्ण पुरुष जनसंख्यालाई युद्धमा परिचालन गरेको छ । फलस्वरुप, यतिबेला लडाइँको मैदानमा सम्भवतः रुसको भन्दा युक्रेनका सैनिक ज्यादा छन् ।
इच्छाशक्ति र गोलीगठ्ठामा पनि रुसभन्दा युक्रेनको हात माथिबाट छ । उनीहरु आफ्नो देशको रक्षाका लागि लडिरहेका छन्। त्यस्तै, उनीहरुलाई अमेरिका र युरोपले आधुनिक हतियार आपूर्ति गरिरहेका छन् । खासगरी टाढैबाट अचुक निसाना लगाउन सकिने क्षेप्यास्त्रहरु । जसका कारण अहिले युक्रेनी सैनिकको हातहतियार रुसको भन्दा राम्रो छ ।
यो युद्धमा रुस हार्ने सम्भावना वास्तविक र उत्साहजनक छ । तर, युद्धमैदानमा युक्रेनको प्रगतिले द्वन्द्वमा एउटा नयाँ र खतरनाक चरणको सुरुवात पनि गर्छ । रुसी सेनाबाट मुक्त गरेको क्षेत्रमा सर्वसाधारणले युक्रेनी सैनिकहरुलाई रुँदै अँगालेको तस्बिरले यो युद्ध केका लागि लडिँदैछ भन्ने देखाउँछ । स्थायी रुसी नियन्त्रण हुने हो भने राजनीतिक स्वतन्त्रता रहने छैन र हत्या, यातना र निर्वासन लादिनेछ ।
रुसले युक्रेनलाई सजिलै जितेको भए त्यसले युक्रेनका छिमेकीहरुमाथि रुसी आक्रमणको बाटो खोलिदिने थियो । जसमा मोल्दोभा र सायद नेटो सदस्य इस्टोनिया, लाट्भिया र लिथुवानिया समेत पर्थे । त्यही सम्भावनाका कारण फिनल्यान्ड र स्विडेनले नेटो सदस्यताका लागि आवेदन दिए ।
यदि रुस पराजित भयो भने बाँकी युरोपमाथि छाइरहेको आक्रमणको खतरा कम हुनेछ । विश्वको राजनीतिक वातावरण पनि परिवर्तन हुनेछ । रुसको पराजयले बेइजिङ र मार ए लागो (ट्रम्पको घर) मा नराम्रो असर पार्नेछ । आक्रमण सुरु हुनुभन्दा केही साताअघि चीनले रुससँग ‘सीमाहीन’ मित्रताको घोषणा गरेको थियो । डोनाल्ड ट्रम्पले खितखिताउँदै भ्लादिमिर पुटिन ‘विलक्षण’ भएको बताएका थिए । त्यो
मूल्यांकन अहिले अनैतिक मात्र होइन, सरासर मूर्खतापूर्ण पनि सुनिन्छ । तर, केही होसियारी अपनाउन आवश्यक छ । युक्रेनको झण्डै २० प्रतिशत हिस्सामा रुसको कब्जा कायम छ । रुसले पुनर्संगठित भएर आक्रमण गर्ने प्रयास गर्न सक्छ र त्यसलाई युक्रेनीहरुको क्षमताले नधान्न सक्छ । तर, खास जटिल प्रश्न हो– यदि रुस अपमानजनक ढंगले हार्न थाल्यो भने के हुन्छ ? अझ उसले २०१४ मा कब्जा गरेको क्रिमिया समेत गुमाउने अवस्था आयो भने के होला ?
रुस पराजित नै भए पनि त्यो मुलुक नक्साबाट नामेट हुने छैन । र, सो मुलुकसँग त्यसपछि पनि ठूलो संख्यामा आणविक हतियार र गुनासोहरुको भरिभराउ भण्डार हुनेछ ।
हार स्वीकार गर्नुको सट्टा त्यस्तो अवस्थामा पुटिनले संकट चर्काउने प्रयास गर्न सक्छन् । तथापि, उनका विकल्पहरु सीमित र अनाकर्षक देखिन्छन् । युद्धका लागि आम सैन्य परिचालन गर्न अस्वीकार गर्नुले पनि पुटिनको घबराहटलाई प्रस्ट पार्छ, जसले रुसी समाजमा हलचल पैदा गर्न सक्छ । सैन्य भर्तीको आह्वान, तालिम र तिनको सशस्त्रीकरणमा हप्तौँ लाग्न सक्छ। तर, युद्ध तीव्र गतिमा परिवर्तन भइरहेको छ ।
द्वन्द्वको सुरुवातदेखि नै रुसले आणविक हतियार प्रयोग गर्नसक्ने संकेत पुटिनले दिँदै आएका छन्। यो सम्भाव्यतालाई ह्वाइट हाउसले सधैँ गम्भीरतापूर्वक लिएको छ । युद्ध लम्बिँदै जाँदा र रुसलाई क्षति पुग्दै जाँदा पुटिनले आणविक हतियार प्रयोग गर्लान् भन्ने भय अलिकति कम भएको छ । तर, त्यो भय अन्त्य भएको छैन । गत साता एक वरिष्ठ पश्चिमा नीति निर्माताले मसँग भने, ‘हामीले सम्झिनुपर्ने कुरा के छ भने हामीले नियालेका लगभग प्रत्येकजसो सैन्य अभ्यासमा रुसी सेनाले आणविक हतियार पनि समावेश गरेको छ ।’
तथापि, युक्रेनमा आणविक हतियार प्रयोग गर्दा जुन परिणाम उत्पन्न हुन्छ, त्यसबाट रुसलाई नै क्षति पुग्छ । विश्वव्यापी राजनीतिक प्रतिक्रिया रुसका लागि नकारात्मक हुनेछ र पश्चिमा सैन्य प्रतिक्रिया पनि अवश्यंभावी बन्न पुग्छ । विगतका अरु रुसी नेताहरु झैँ पुटिन पनि आउँदो हिउँदले आफ्नो उद्धार गर्ने आशामा छन् । आगामी दिनमा युरोपको सम्पूर्ण ग्यास आपूर्ति रोकिदिने रुसको हालैको घोषणा युक्रेनका पश्चिमा समर्थकहरुलाई घुँडा टेकाउने उदेश्यले गरिएको स्पष्ट छ ।
तर, ग्यास रोक्ने यो चाल सफल हुन पुटिनलाई अरु थुप्रै कुराले साथ दिनुपर्ने हुन्छ । अत्यन्त जाडो हिउँद र पश्चिमा मुलुकहरुमा राजनीतिक विरोध प्रदर्शनहरु बढे भने अलिकति सहयोग पुग्छ । तर, दुवै कुरा भर पर्न सकिने होइनन् । हालै जर्मन सरकारले रुसी ग्यास रोक्का भए त्यसका लागि पहिलेभन्दा राम्ररी तयार भएको जनाएको छ । उसको ग्यास भण्डारण ८७ प्रतिशत छ। युरोपभर उर्जाको मूल्य बढ्न नदिन अनुदान घोषणा गरिँदैछ ।
त्यसैले पुटिन अप्ठेरो र खतरनाक अवस्थामा देखिन्छन् । सुरुदेखि नै पश्चिमा नेताहरु पुटिन सत्ताच्यूत भइदिए हुन्थ्यो भन्ने कामना मनमनै गरिरहेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले त त्यसलाई अभिव्यक्त नै गरिदिए । तर, आन्तरिक कू का कारण सत्ताच्यूत नै भए भने पनि उनलाई विस्थापित गर्ने व्यक्ति उदार होइन उनीभन्दा कट्टर राष्ट्रवादी हुने सम्भावना ज्यादा छ । अहिले रुसमा सबैभन्दा चर्को असन्तुष्टिको स्वर सैन्यवादी र राष्ट्रवादीहरुले नै घन्काउँदै छन् । उनीहरु युद्धलाई थप चर्काउनुपर्ने आह्वान गरिरहेका छन् । पश्चिमा गुप्तचर निकायहरुमा अहिले के चर्चा चलिरहेको छ भने रुसकी एक राष्ट्रवादी पत्रकार दारिया दुगिनाको हत्या पुटिनका अति दक्षिणपन्थी आलोचकहरुलाई चेतावनी दिन रुसका सुरक्षा निकायले नै गरेका हुन् ।
रुस पराजित नै भए पनि त्यो मुलुक नक्साबाट नामेट हुने छैन । र, सो मुलुकसँग त्यसपछि पनि ठूलो संख्यामा आणविक हतियार र गुनासोहरुको भरिभराउ भण्डार हुनेछ । अघिल्तिर यतिधेरै खतराहरु छन् । तर, कहिलेकाहीँ शुभखबरलाई शुभ नै मान्नुपर्ने हुन्छ । यतिञ्जेलसम्म उजाड रहेको यो वर्षमा गएको साता युक्रेनी सेनाले प्राप्त गरेको विजय निश्चय नै शुभखबर हो ।
(एजेन्सीहरुको सहयोगमा)





