पोखरा /पोखरा रंगशालामा यतिबेला दक्षिण एशियाकै पहिलो जी–२ तथा जीसिएस अन्तराष्ट्रिय पुम्से तेक्वान्दो प्रतियोगिता आयोजना भइरहेको छ ।
प्रतियोगितामा १३ राष्ट्रका एक हजार ४ सय २५ खेलाडीको सहभागिता रहेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलको उत्तर तर्फको चौरमा विभिन्न स्टलहरु राखिएको छ ।
सोही स्टलमा रहेको छ खानाको स्टल । त्यहि खाना स्टल बाहिर खानका दररेट सहितको तालिका (मेन्यु) पनि राखिएको छ ।
त्यो मेन्यु हेर्ने हो भने खेलाडीहरु खुलेआम ठगिएको देखिन्छ । अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्दा आयोजकले खेलाडीलाइ सस्तोमा सेवा दिनुको साटो लेकसाइडको भन्दा बढी मुल्य तिर्न बाध्य भएका छन् ।
सामान्य २५ रुपैयाँ पर्ने पानीको ५० रुपैयाँ रहेको छ । ३५ देखी ४० रुपैयाँ पर्ने पेय पदार्थको एक सय रुपैयाँ तोकिएको छ । बजारमा धेरैमा ३ सय ५० सम्म पर्ने चिकेन खानाको त्यहाँ ५ सय ५० रुपैयाँ लिने गरेको छ ।
भारतबाट प्रतियोगितामा सहभागि हुन आएका एक खेलाडीले आफुले नेपाली ५० रुपैयाँ तिरेर पानी किनेको बताए । यस्तै एक नेपाली खेलाडीले त्यहाँ महँगो देखेपछि बाहिरबाट पानी किनेर खाएको सुनाए ।
यी उदाहरणका पात्रमात्रै हुन् । त्यहाँ धेरै खेलाडीले विभिन्न खाना खाएका छन् । उनीहरुले चर्को मुल्य तिरेर खाना खाएका छन् ।
आयोजकले विदेशी खेलाडीलाइ खुलेआम ठगिरहेको छ । यस विषयमा जानकारी लिन खाना व्यवस्थापक समितिका संयोजक गोपी भट्टराइसँग कुराकानी गर्न खोजेपनि उनको फोन उठेन ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले आफु व्यस्त रहेको बताए ।





